‘बालविवाह लज्जाको विषय’

nandabahadur punकाठमाडौं, ९ चैत । दक्षिण एसियामा अझैसम्म कुसंस्कार र कुरीतिका रूपमा रहेको बालविवाह सभ्य समाजका लागि लज्जाको विषय भएको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्चद्वारा यहाँ आयोजित ‘बालविवाह र दक्षिण एसियाली सांसदहरूको भूमिका’ विषयको विशेष भेलालाई सम्बोधन गर्दै उनले किशोर÷किशोरीले अनुकूल समयमा आफ्नो इच्छानुसारको व्यक्तिसँग विवाह गर्न पाउने आधारभूत मानवअधिकारको गम्भीर उल्लंघन भइरहेकाले त्यसलाई नियन्त्रण गर्न कानुन निर्माण गर्ने निकाय नै बढी जिम्मेवार हुनुपर्ने बताए ।

कुसंस्कार, गरिबी र अशिक्षा बालविवाहका प्रमुख कारणका रूपमा रहेको उल्लेख गर्दै उनले नेपाली बालबालिकालाई विभिन्न किसिमका शोषणबाट जोगाउँदै उनीहरूको पूर्ण व्यक्तित्वको विकास र अधिकारको संरक्षण आजको प्रमुख चुनौती रहेको स्पष्ट पारेका छन् ।

उपराष्ट्रपतिले भने, ‘नीतिगत तथा कानुनी व्यवस्थाका साथै सामाजिक तथा सांस्कृतिक मूल्यमान्यतामा समयानुकूल सुधार, किशोरीलाई शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक कुरामा सरल र सहज पहँुचको व्यवस्था गर्दै सीपमूलक कार्यक्रमको माध्यमबाट आर्थिक रूपमा समेत सबलीकरण गर्नसके बालविवाहको समस्यालाई नेपालमा देखिने गरी कम गर्न सकिन्छ ।’ नेपालका सांसदले जनसंख्या र विकासका लागि मञ्च निर्माण गरी अगाडि बढेकामा सराहना गर्दै उनले त्यसखालको सत्प्रयासलाई सामाजिक रूपान्तरण र राष्ट्र विकासमा योगदान दिन आग्रह गरे ।

सांसद एवं मञ्चका उपाध्यक्ष डिना उपाध्यायले बालविवाह रोक्न बनेका कानुन कार्यान्वयन नहुँदा समस्या भएको उल्लेख गर्दै सबैको सकारात्मक सहयोग भए सामाजिक कुरीति एवं कुसंस्कार अन्त्य हुने बताए । सांसद धनीराम पौडेल, हितराज पाण्डे र लालबहादुर गुरुङले सामाजिक परिवर्तनका लागि सबैले आआफ्नो स्थानबाट विशेष पहल गर्नुपर्ने बताए । भेलामा १६ मुलुकका सांसद सहभागी छन् ।

प्रतिक्रिया