प्रधानमन्त्रीको चीन भ्रमण तालिका : महत्वपूर्ण कार्यक्रम ८ चैतमा

oliकाठमाडौं, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तरी छिमेक चीनको भ्रमणको कार्यक्रम सार्वजनिक गरिएको छ । जनगणतन्त्र चीनको राज्यपरिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री भ्रमण ७ देखि १४ चैतसम्म चीनको औपचारिक भ्रमणमा रहनेछन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीकासाथ उनकी पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन् । चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा ८ चैतमा उनी सहभागी हुनेछन् । सोही दिन उनले आफ्ना समकक्षी लीसँग वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ । औपचारिक वार्तापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन दिवाभोज आयोजना गर्नेछन् । प्रधानमन्त्रीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वतवर्ग, प्राज्ञ र व्यापारीको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एन्ड रोड इनिसिएटिभस्’ सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनको उपस्थितिमा सांघाई सहयोग संगठन (एससीओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै उनले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषदुमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली चीनका लागि नेपाली राजदूत डा महेश मास्केले ९ चैतमो बेइिजिङस्थित नेपाली दूतावासमा आयोजना हुने स्वागत भोजमा सरिक हुनेछन् । सोही समारोहमा उनले सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सो मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य ः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई ११ चैतमा सम्बोधन गर्नेछन् । सोही दिन दिउसो उनले सान्याको नान्सान उद्यानस्थित नेपाल मण्डपको भ्रमण गर्नेछन् ।

उनले सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा प्रान्तीय एवम् नगरपालिकाका नेताहरूलाई भेट्नुका साथै व्यापारी समुदायलाई सम्बोधन गर्नेछन् । भ्रमणको सिलसिलामा सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् अयोजनाको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली र उनी नेतृत्वको प्रतिनिनिधमण्डल १४ चैतमा छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया