लघुकथा : लक्ष्य

10646683_1464784477126029_6238600289663512089_n
पछिल्लो पुस्ताका मुसाहरूले आफ्ना पूर्खाहरूको इतिहासको अध्ययन गरे । अध्ययनबाट के पत्ता लाग्यो भने उनीहरूका पूर्खाले आम भेला डाकेर बिरालाका घाँटीमा घन्टी बाँध्ने सर्वसम्मत निर्णय गरेका रहेछन् । त्यत्रो महान् र ऐतिहासिक निर्णय भइसकेर पनि कार्यान्वयन नभइदिँदा आजसम्म मुसाहरूले अकालमा ज्यान गुमाउनुपरेको तथ्य खुल्न आयो । यो तथ्यलाई सार्वजनिक गर्नुपर्छ र परिवर्तित परिप्रेक्ष्यमा घन्टी बाँध्ने निर्णयलाई नविकरण गर्नुपर्छ भन्ने सोचका साथ पुनः आम भेला डाकियो ।

सम्पूर्ण मुसाहरूको उपस्थितिमा सबैभन्दा आँटी मुसाले भाषण ग¥यो, ‘दिदीबहिनी तथा दाजुभाइहरू, इतिहासलाई साक्षी राखेर हामीले कसम खानुपरेको छ । बिरालाको भय, त्रास र आतंकबाट मुक्त भएर स्वतन्त्र एवं स्वेच्छापूर्वक बाँच्न पाउनु हाम्रो अधिकार हो भन्ने कुरा स्थापित नगरी हामी मुसाहरूको अस्तित्व संकटमा छ । हाम्रा पूर्खाहरूको जस्तो कायरतापूर्ण व्यवहारले हाम्रो भावी पुस्ता झनै संकटमा पर्नेछ । त्यसैले बिरालाका घाँटीमा घन्टी बाँध्ने क्रममा कोही पनि पछि हट्नु हुँदैन, म बाहेक ।’

‘किन कोहीबाहेक हुने ? सबैको ज्यान उस्तै होइन र ?’ भिडबाट प्रश्नहरू उठे ।

आँटी मुसाले कारण पेस ग¥यो, ‘सुन्नुहोस् न्यायप्रेमी मुसाजनहरू, हरेक प्राणीहरूको जीवन खतराले भरिएको हुन्छ । ती खतराहरूको सामना गर्न आँट र साहस चाहिन्छ । तपाईंहरूले नै मलाई आँटी मुसाको रूपमा छनोट गर्नुभएको हो ।

यदि यही एउटा खतरामा मेरो ज्यान गयो भने भोलिका दिनहरूमा आउन सक्ने अनगिन्ती खतराहरूको सामना कसको नेतृत्वमा हुन्छ ? त्यसैले तपाईंहरूको सुरक्षाकै लागि पनि मेरो सुरक्षा आवश्यक छ ।’

विद्वान मुसाको पनि यस्तै कुरा आयो, ‘मुसा समाजलाई सचेत गराउने काम उसले आगामी दिनहरूमा निरन्तर गरिरहनुपर्नेछ । त्यसैले बिरालालाई घन्टी बाँध्ने काममा ऊवाहेक अरू सबैले अघि सर्नुपर्नेछ ।’

बाठो मुसो अघि स¥यो, ‘आदरणीय मभन्दा कम बाठा मुसाज्यूहरू, यदि यो खतरामा मेरो ज्यान गयो भने बठ्याइँ गर्ने कसले ? मुसाहरूको संसारमा हलचल आउँदा टार्ने कसले ? अरूले हेपे भने बाठो चाल गरेर उम्किने जुक्ति पाइलापाइलामा आवश्यक पर्छ । त्यसैले सबैले जोखिम मोल्नुपर्छ, म बाहेक ।’

टोलटोलको अलगअलग मिटिङ बस्यो । टोल नाइकेले आफूबाहेक अरूलाई अघि बढ्न आव्हान ग¥यो ।

परिवारपरिवारका पनि आआफ्ना मिटिङ भए, बाबुुचाहिँले आफू परिवारको मूली भएको, ठूलो जिम्मेवारी बोकिरहेको र यस्ता अनुभवीहरूको खाँचो फेरिफेरि पनि परिरहने कुरा ग¥यो । आमाचाहिँले, संसारमा सबैथोक पाइन्छ, जन्मदिने आमा पाइन्न भन्ने कुरा गरी र आमाका निम्ती ज्यान दिने छोराछोरीका गाथासमेत सन्तानहरूलाई सुनाई । दाजुदिदीहरूले भाइबहिनीहरूलाई यस्तै कुरा गरेर खतराको सामना गर्न उत्प्रेरित गरे ।

‘ए, मुसाका खलक हो ।’ भन्दै ढाडे बिरालाले अचानक मञ्चको बीचैमा हाम फाल्यो ।

मुसाका खलक भागाभाग गर्दा उडेको धुलाको वास्तै नगरी कमिलाको ताँती फट्याङ्ग्रालाई पाता फर्काएर ल्याउने लक्ष्यका साथ अघि बढिरहेको थियो ।

 

प्रतिक्रिया