खोजखबर

जहाँ होली यौन पर्वकारूपमा मनाइन्छ

सौर्य अनलाइन २०७२ चैत ५ गते १४:२५ मा प्रकाशित

काठमाडौं, ४ चैत । होली पर्व बुधबारदेखि सुरु भएको छ । रंग र उल्लासको पर्व होली ठाउँ विशेष फरकफरक ढंगले मनाउने गरिएको छ । जनकपुर क्षेत्रमा माध्यमिकी परिक्रमाका यात्रुले महोत्तरीको हरिनमरी गाविसस्थित कञ्चन वनमा एकअर्कालाई फागु र रङ छ्याप्दै सुरु भएको छ । त्रेतायुगमा सोही ठाउँमा राम र सीताले होली खेलेको सम्झना गर्दै परिक्रमाका यात्रु सो ठाउँ आइपुगेपछि मिथिलामा विधिवत होली सुरु भएको मान्ने परम्परा रहँदै आएको छ । त्यस्तै काठमाडौंमा पनि बुधबार वसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको छ ।

यसैगरी यही होली भक्तपुरमा भने अलि फर ढंगले मनाउने गरिएको छ । यहाँ होलीलाई यौन पर्वकारूपमा मनाउने प्रचलन छ । फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व संगीतमा रमाउँदै यौनपर्वका रूपमा भक्तपुरका बासिन्दाले १ सातासम्म मनाउनेछन् ।

भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘भीमसेन देया लज खंगलो स्वयला ल्यासे, बिस्यूवाने म्वायेक सो झाया ला’ (भीमसेनको लिंगले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि) जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व भक्तपुरमा सुरु भएको हो ।

भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होली पर्व मनाइएको छ । भीमसेन मन्दिरमा भीमसेनको लिंग (काठबाट बनेको) र द्रौपतीको योनीको प्रतिक (कपडाबाट बनेको) लाई झुन्ड्याएर यौन समागमको रूपमा एक सातासम्म प्रदर्शनमा राखिएको छ ।

काठबाट निर्मित भीमसेनको लिंगलाई फागुन शुक्ल अष्टमीको दिन (हिजो) २ जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बह्मायणी, च्याम्हसिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याएको थियो । भक्तपुरका संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवारी परम्पराअनुसार यसलाई ‘चीर स्वायेगू’ भनिन्छ । चीर स्वायेगू अर्थात् लिंग घुमाएपछि फागु सुरु हुन्छ । घुमाएको लिंगलाई स्थानीयवासीले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ ।

बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ ।

बिहीबार बिहानदेखि यसको पूजा एवं दर्शन गर्न स्थानीय जनता मन्दिरमा आउने गर्दछन् । शनिबार र मंगलबार यसको पूजा एवं दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटक पनि यसको अवलोकनका लागि आउने गर्दछन् ।

दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतिकर्मीको भनाइ छ । चीर स्वायेगू अर्थात् लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ ।

मन्दिरबाट खोलासम्म लिंग बोकेर लैजाने व्यक्तिको छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिंग बोक्न चाहनेको प्रतिस्पर्धा नै चल्ने गर्दछ । भीमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकाले होलीको यो परम्परा पनि यही बेलादेखि सुरु भएको हुनसक्ने जनविश्वास छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय