फलाम खानीको विस्तृत अध्ययन गरिने

कावासोती, ३ चैत । नेपालमा अहिलेसम्मकै ठूलो फलाम भण्डार भएको पत्ता लागेको नवलपरासीको धौवादीमा खानी तथा भूगर्भ विभागका भूगर्भविद्(जिओलोजिस्ट) विस्तृत अध्ययनका लागि खटिएका छन् । ६ वर्षअघि यहाँ ठूलो फलाम भण्डार पत्ता लागेपछि खानी तथा भूगर्म विभागका अधिकारीसमेत आश्चर्यमा परेका थिए । कोइलालगायतका खनिज खोज्न त्यहाँ पुगेका उनीहरूले एकै ठाउँमा २० करोड टन फलामको सम्भावना भेटेका थिए । कच्चा फलामको भारतीय बजारलाई आधार मान्दा यो २३ खर्ब रुपियाँभन्दा बढीको भण्डार हो ।

विभागले यो खानीको विस्तृत अन्वेषण र उत्खननका लागि काम गरेको हो । धौवादीबाट नेपालको वर्षौंसम्मको आवश्यकता पूरा हुने खानी तथा भूगर्भ विभागले जनाएको छ । १ सय हेक्टर क्षेत्रफलभित्र चालु वर्षको अन्तिमसम्ममा विस्तृत सर्भे सक्ने गरी काम भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वोजितप्रसाद महतोले बताए ।

धौवादी र धौवादीकै पोखरीमासमेत उत्खननबारे अध्ययन भइरहेको छ । जसका लागि एकहप्ता अगाडिदेखि जियोलोजिस्टद्वय नारायण बाँस्कोटा र नरेश महर्जन काममा खटिएका छन् । उनीहरूले १ महिना लगाएर यहाँ काम गर्नेछन् । धौवादीको फलाम गुणस्तरीय रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । विस्तृत अध्ययनबाट उत्खनन् सम्भावना र लागतको हिसाब आएपछि आर्थिक लाभको दृष्टिले यो खानी कतिको लाभदायक छ भन्न सकिने महानिर्देशक महतोले बताए ।

सम्भावना देखिएका ठाउँमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर अध्ययन हुनसकेको छैन । कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टिल, छड इत्यादि बन्छ । सिमेन्टको क्लिंकर उत्पादन नेपालमै सुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ ।

धौवादीमा विभागले उत्खनन्बारे विस्तृत अध्ययन थालेपछि यस क्षेत्रका बासिन्दा हौसिएका छन् । कालो पत्थरको यो पहाडमा चुम्बकले सजिलै समात्ने ढुंगा भेटिने भएका कारण साना–साना बालबालिका समेत चुम्बक लिएर ढुंगासँग खेल्ने गरेका थिए । बोझा पोखरीका कुलबहादुर ठाडाले भने, ‘यहाँ फलाम खानीको रूपमा काम भए हाम्रो जीवननै फेरिने थियो ।’

प्रतिक्रिया