अधिकांश औषधि पसल गैह्रकानुनी

धरान, २९ फागुन । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका क्षेत्रका अधिकांश औषधि पसल र होटलहरू अनुमति नै नलिई सञ्चालनमा ल्याइएको तथ्य अनुगमनका क्रममा फेला परेपछि ती औषधि पसल तथा होटलहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । औषधि व्यवस्था विभाग पूर्वाञ्चल, जिल्ला प्रशासन कार्यालय सुनसरी, धरान उपमहानगपालिका र सुनसरी उद्योग वाणिज्य संघ धरानको टोलीले धरान उपमहानगरपालिका तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि सञ्चालित अधिकांश औषधि पसलहरू लाइसेन्स नै नभएका व्यक्तिहरूले सञ्चालनमा ल्याएको पाइएपछि ती औषधि पसलहरू सील गरी ताला लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार धरान उपमहानगरपालिका–१२ मा रहेको निधी मेडिकल हल र सतिष फार्मेसीले लाइसेन्सविना नै औषधि पसल सञ्चालनमा ल्याएका अनुगमनका क्रममा फेला परेपछि ती दुबै मेडिकल हल सील गरिएका छन् ।

यसैगरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र सञ्चालित आरती मेडिकल हल, गोपीकृष्ण फार्मेसी, शिव मेडिकल हल लाइसेन्सविहीन व्यक्तिले चलाएको पाइएपछि ती मेडिकल हल पनि बन्द गरिएको अनुगमनपछि टोलीले जानकारी दिएको छ । अनुगमन गरिएका ५० भन्दा बढी औषधि पसलहरूमध्ये आधा मेडिकल हलले लाइसेन्स नै नभएका व्यक्तिहरूले चलाइरहेका तथ्य फेला परेपछि ती औषधि पसलहरूलाई तत्काल बन्द गर्न चेतावनीसमेत दिइएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर र भित्र रहेका अधिकांश मेडिकल हलहरूमा म्याद सकिएका औषधिहरू समेत बिक्रीका लागि राखेको फेला परेको तथा त्यस क्रममा प्रतिष्ठानभित्र रहेको लाइफकेयर मेडिकल हलले बढी मूल्य लिएर औषधि बिक्री वितरण गर्ने गरेको समेत अनुगमन टोलीले फेला पारेको छ ।

अनुगमनका क्रममा मनपरी मूल्य असुल्ने तथा विनालाइसेन्स सञ्चालनमा रहेका सबै औषधि पसलहरूलाई औषधि व्यवस्था विभाग पूर्वाञ्चल कार्यालयले एकसाताभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्न चेतावनीसहित सचेत पत्र दिएको र सो अवधिमा अनुमति लिनका लागि विभागको पूर्वाञ्चल कार्यालयमा हाजिर हुन पत्र पनि थमाएको छ ।

बजार अनुगमन टोलीका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ पोख्रेलका अनुसार धरान उपमहानगरपालिका क्षेत्रका होटल र औषधि पसलहरूमा ज्यादै लापर्बाही फेला परेको तथा कतिपय औषधि पसलहरूले न्यूनतम कानुनी प्रावधान समेतको ख्याल नगरेको र होटलहरूले पनि मानव स्वास्थ्यप्रति चरम लापर्बाही गर्ने गरेका तथ्य फेला परेको छ ।

प्रतिक्रिया