कथा : एभिएसन

जति नै बुढो भए पनि मन बुढो नहुने । बल र वैँश आउँछ, जान्छ । खहरेको भेल जस्तै । जब सागरमा पुगेर थुरिन्छ । शायद जीवनको अन्त्य हुन्छ । जवानीको सबै भोगाई सम्झन्छु । देश विदेशको यात्रा सम्झनाका पानास्वरूप पल्टिन्छन् । अन्ततः बुढेसकालको बेला एकपटक बैंकक भ्रमण गर्न सोचेँ ।

हप्तादिनको भ्रमण गरेर फर्कंदै थिएँ । बेलुकी आफ्नो बिरानो नचिन्ने बेला थियो । सूर्यले डाँडा काट्दै थियो । म कसरी चाँडो घर पुगुँ भन्ने धावा थियो मलाई । बस आइपुग्ला । त्यसपछी चढ्छु । तैपनि दुईचार पाइला हिँड्दै गर्छु । यही सोच्दै टुकुटुकु पैदल हिँडिरहेको थिएँ । काठमाण्डु रिङरोडको बाटो । एयरपोर्टदेखि तिनकुनेबीचको । मैले पुग्नुपर्ने गन्तव्य ललितपुरको खरिबोटसम्म ।

पछाडिबाट सुनौलो कलरको मारुती कार मेरो छेउमा आई ठक्क अडियो । भित्रबाट एकजना युवकले भन्यो, ‘अंकल, अंकल,, हजुर आज बैंककबाट थाई एयरमा नेपाल आउँनु भा’हो ? ‘अंकल भनी सम्माननीय सम्बोधनसहितको आवाज सुन्ने बित्तिकै म टक्क अडिएँ । हेरेँ र भने, ‘हजुर, हो बाबु ! तर म त बुढो मान्छे, बाबुलाई त मैले राम्ररी चिन्न सकिन नी !’ मेरो प्रश्नको प्रतिउत्तर दिँदै त्यो युवकले भन्यो, ‘अंकल, म अहिलेको ठिट्टो । हजुर बुढो मान्छे । चिन्न पनि कसरी ! म हजुर सवार हुनु भएकै विमानको चालक हुँ । मैले त्यहीँ विमानभित्र हजुरलाई देखेको थिएँ । ल बरु रात परिसक्यो, बस्नूस् कहाँसम्म पुग्नुपर्ने हो ? म पु¥याइदिन्छु ।’

मारुतीमा चढेँ । मलाई खुल्दुली लागेर सोधे, ‘अनी बाबुको घरचाहिँ कहाँ हो ?’ यो प्रश्नले गर्दा मारुती ड्राइभर युवकको मनमा यसै भनुँ भन्ने झट्ट उत्तर आएन । एकछिन पुलुक्क हे¥यो र भन्यो, ‘मेरो घर कोटेश्वर महादेवस्थानमा पर्छ । त्यही बाटो जाऔँ न त ! हुन्छ अंकल ? मेरो घरमा पनि एकछिन बसौँ । अनि म हजुरलाई पु¥याइदिन्छु ।’

मलाई लाग्यो, ‘होइन यो कलीयुगमा पनि को’हो यस्तो सहयोगी भावनाको युवक रहेछ । नत्र अहिलेका लाठेहरूले म जस्तो बुढोलाई कहाँ गन्छन् र ! त्यहीँ पनि ठूलो विमानचालक । ठीकै छ उसको घरको बाटो जानुपर्ला । घर हेरेर पनि जान्छु भन्ने सोच आयो ।’

युवकलाई प्रतिउत्तर दिँदै भने, ‘हुन्छ, हवस् बाबु ।’ घर पुगेर, मारुती पार्किङ् ग¥यो । आउनूस् अंकल भन्दै अघिअघि हिँड्यो । म पछिपछि हिँडे । घरको दोस्रो तलामा पु¥याएर पाहुना कोठा(गेस्टरुम)मा बस्नू भनी अनुरोध ग¥यो । भित्र कोठाबाट एकजना वृद्धा महिला निस्किइन् । अहो मनकुमार दाजु ! नमस्कार भन्दै, प्रणाम गरिन् । मैले पनि झट्ट याद गरिहाले । उनी आरती पो रहेछिन् ।

आरती नजिकैको सोफामा टुसुक्क बसिन् । निकै चाख लिएर मेरो बारेमा सोधिन् । ‘अन्दाजी तीनदशक जति लामोसमय पछाडि भेट भयो । हालखबर सुनाउनूस् न त ।’

उत्तर दिँदै भनेँ, आरती बहिनी, मलेसियामा ठूलो समूहमा नेपालीको बसोबास छ । जहाँ नेपालीहरू परापूर्वकालदेखि गोर्खाली भनेर मलायाको सेनामा भर्ती हुने गर्थे । उनीहरू हामीलाई मलायाको लाहुरे भन्ने गर्छन् । मैले नेपाल छाडेको सुन्नु भएकै होला । धेरै पहिले परिवार लिएर म पनि त्यहीँ मलेसियातिर बसाइँ सरेको थिएँ । ‘जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी ।’, जहाँ गए पनि आफ्नो जन्मभूमि र जन्मदिने आमा कर्णप्रिय हुँदो रहेछ । उमेर हुञ्जेल ठीकै लाग्थ्यो । तर, जबजब उमेरले डाँडा काट्दै गयो । मन पनि फिटिक्कै अडिएन । हाल, फेरी नेपाल आएको डेढ÷दुईवर्ष जति हुँदै छ ।

‘अनि तपाईंको छोरा एभिएसन ? अहिले कता छ ऊ ? के गर्दै छ ? मैले पनि एकैपटक सोधेँ । आरतीले भनिन्, ‘अहिले तपाईंलाई ल्याउने उही त हो, अभिएसन !’

म झस्यांगै भएँ । यही युवक पो रहेछ एभिएसन । भगवान्ले पनि जो कसैलाई कुनै बेला चोटदिन्छ । कुनै बेला दया र धर्म पनि गर्दोरहेछ । आरोग्यले आफ्नो सुम्निमा जस्ती श्रीमतीलाई यो दुनियाँबाट सदाको लागि छाडेर गयो । जुनबेला खाउँखाउँ, लाउँलाउँ भन्ने उमेर थियो । त्यो बेलामा यही एभिएसन निर्दोष बालक थियो । च्याँच्याँ रोइरहेथ्यो । अहिले स्वर्गमा रहेको उसको बाबा आरोग्यको पनि सपना पूरा भएछ ।

आरतीले केही थपकुरा भनिन्, ‘एभिएसनको बाबासँग हामीले चाहना गरेको थियौँ । कल्पना गरेको थियौँ । एभिएसनलाई पाइलट बनाउनुपर्छ । त्यतिखेर एभिएसन गर्भमा मात्र थियो । आज त्यो सपना पूरा भयो । हाम्रो पवित्रप्रेम पूरा गर्नका लागि मैले छोरालाई कुनै हालतमा पाइलट बनाएरै छाड्नु थियो ।’
मेरो हर्षले सीमा नाघ्यो । मलाई सुरुदेखिको कहानी एभिएसनलाई सुनाउन मन लाग्यो । मैले एभिएसनलाई बोलाउन लगाएँ । आरतीले एभिएसनलाई त्यही पाहुना कोठामा बोलाइन् । कथा सुनाउन सुरु गरेँ ।

कुरा लगभग ३० वर्ष अगाडिको हो । साँझ पर्दै थियो । घाम अस्ताउन केहीसमय मात्रै बाँकी थियो । त्यो बेलुकी आरोग्यसँग हामीले भेट गर्ने कुरा दिउँसै पक्का गरेको थियौँ । हामी अति मिल्ने साथी साथी । म मेरो व्यक्तिगत कामहरूले भरदिन पूरै व्यस्त भएँ । बेलुकीपख भाडाको गाडी चढेर नयाँबानेश्वर चोकमा पुगे । त्यहाँ हामीले भेट गर्ने निर्णय गरेका थियौँ । आरोग्यले मलाई नै पर्खिरहेको रहेछ । मेरो उपस्थितिले ऊ साह्रै खुसी भयो र म पनि । ५÷१० मिनेटजति सँगै उभिएर गफ ग¥यौ । आरोग्य पहिल्यैदेखि अलि जंगी स्वभावको मान्छे । ज्यान पनि परेको । अभैm ऊ इराकी लाहुरे । भन्नाले, १२÷१५ दिन मात्रै भएको थियो । दुई÷अढाई वर्ष इराकमा काम गरेर नेपाल फर्केको । अफिसभित्रै इन्डोर वर्कर भएको हुनाले निकै गोरो भा’थ्यो । हाँसेर मात्रै आफ्नो कुराहरू अघि बढाउने । बेलाबेलामा दिल्लगी गर्ने उसको बानी मज्जाको । मनमा पाप हुँदैनथ्यो ऊसँग । सबै कुरा, आफ्नो सुख दुःखको भोगाइ दिल खोलेर गफ गरिरहेको थियो । हामीलाई दिनले बिदाई गर्दै रातले स्वागत गरिरहेथ्यो । समय चक्रलाई पनि ध्यान दिएर हामी बसोबास कोठातर्फ लाग्यौँ । काठमाण्डु प्रायःजसो उद्देश्य प्राप्तिको निम्ती हाम्रो कर्मथलो मात्र हो । हाम्रो स्थायी बसोबास अनि जन्मेको हुर्केको ठाउँ भनेको काठमाण्डू होइन । हाम्रो घर पूर्वी पहाडी जिल्ला खोटाङ । नेपाली भूभागको पहाडी जिल्ला मध्येको एक सुन्दर ठाउँ । ग्रामीण इलाका भए पनि तीन÷तीन वटा हवाईमार्ग (एयरपोर्ट) भएको जिल्ला हो, खोटाङ । जुन हाम्रो मातृजिल्ला । उत्तिखेर मैले पनि वैदेशिक जीवन निकै लामोसमय बिताएर नेपाल फर्केको थिएँ । आरोग्यले पनि । घर बसेको केही महिना भएको थियो । म गाउँबाट सहर काठमाण्डु पसेको ५÷६ महिना मात्र भएको थियो ।

कुरै कुरामा एकदिन आरोग्यले दिल्लगी गर्दै भन्यो, ‘मलाई घरमा पनि खुब बिहे गर भनेर कर गरिरहनु भा’छ । अब त उमेरले पनि डाँडा काट्दै छ । के गर्ने होला ? कोसँग बिहे गर्ने ? कोही व्यावहारिक र परिपक्व केटी हे¥या छैनौ ?’

मैले यसो संम्झे । जुन अफिसमा मेरो आफ्नै काम लिएर बेलाबेलामा जाने गर्थें । सोही अफिसमा कार्यरत थिइन् एक मिजासिली युवती । पढेलेखेकी पनि छन् । रूपरङ र बानी व्यवहारमा पनि उपयुक्त । उनीहरूको जोडी पक्कै पनि सुहाउँदिलो हुन्छ । यिनै कुराहरूलाई मनमा खेलाउँदै आरोग्यलाई भने, ‘आरोग्य तिमी साँची नै बिहे गर्छौ त ? साँच्चै कुरा गरेको हौ भने, मेरो चिनेको एकजना साथी छिन् । म उनीसँग आजै परिचय गराइदिन्छु । अनी आआफ्नो कुराहरू प्रत्यक्ष राखेर भविष्यको बारेमा निर्णय तिमीहरूले नै गर्नु ! हुन्छ ?’

तुरुन्तै आरोग्यले प्रश्न ग¥यो, ‘उनको घर कहाँ हो त ! अनी के हो नाम ?’

मैले भने, ‘उनको घर पल्लो किरात क्षेत्र मानिने पहाडी जिल्लामा पर्छ । नाम ‘आरती’ ।’

यति कुरा गरेपछी आरोग्यलाई कामकुरा अगाडि बढाऔँ जस्तो लाग्यो । उसको हाउभाउ र क्रियाकलापले त्यस्तै बताइरहेथ्यो । यसपछि मैले आरोग्यलाई आरतीको अफिसमा पु¥याएँ । दुवैलाई चिनजान गराएँ । मनमनै आरोग्य र आरतीको जीवन सुरुआतको कामना गरेँ । त्यसपछि दुबैसँग बिदा लिएर आफ्नो बाटो लागे ।
केही दिनपछि मेरो ज्याकेटको गोजीमा मोबाइल फोनको घन्टी बज्यो । आरोग्यले सम्पर्क गर्न खोजिरहेको थिएछ । मैले फोन उठाएँ ।

‘मनकुमार तिमी कहाँ छौ ? तिमीसँग मेरो महत्वपूर्ण कार्यमा सहयोगको आशा राखेको छु । एकछिन मेरो कोठामा आऊ न ल ?’ फोनमा यसैगरी अनुरोधपूर्ण कुरा ग¥यो । ‘जुँघा चल्यो कुरा बुझ्यो’ भनेभैmँ कुरा त उही होला भन्ने ठानेँ । म आरोग्यको कोठा पुगे । आरोग्य र आरती दुवैले आफ्नो कुराहरू आपसमा मिलाएछन् । अब के गर्ने भन्ने सोचमा दुवैजना घोरिरहेका थिए । पुरुष जातिभन्दा महिलाजाति स्वभावैले लजालु हुन्छन् यो अर्थमा । आरती निकै लजाइन् ।

‘के भयो त आरोग्य ? के छ विचार तिमीहरूको ? अनि मैले अब के सहयोग गर्नुपर्ने भयो ?’ मैले नै सोधेँ ।

आरोग्यले भन्यो, ‘मनकुमार ! हाम्रो सबै विचारमा सहमत भइसक्यो । आरतीले उनको घरमा हामी बीच भएको सबै कुरा राख्नेछिन । मेरो बारे घरमा म सबै कुराहरूको बन्दोबस्त मिलाउनेछु । तर मनकुमार, यहाँ केही अप्ठ्यारो परिस्थितिहरू खडा भए । पहिलेको युगमा बुढापाकाले हेरिदिएको केटा वा केटीसँग बिहे गर्नुपथ्र्याे । आमाबुवाकै रोजाइमा गर्नुपथ्र्याे । आरती र मैले पुरानो मान्यतालाई तोड्दै आफ्नै रोजाइमा बिहे गर्ने सोच बनायौँ । बिहे हामीले हाम्रो जीवन बिताउनको लागि गर्ने हो । बुढापाका, आमाबुबाको लागि होइन । अरू कसैका लागि होइन । हामीले वहाँहरूको करमा बिहे गर्दा हाम्रो जिन्दगी सफल नहुन पनि सक्छ । तर, घर परिवार, आमाबुबाको पनि मर्यादा राख्नु छ । गाउँ समाजको मान्यतालाई पनि कदर गर्दै औपचारिक बिहे गर्नु छ । हामी दुवैजना किराती समुदायको युवायुवती हौँ । तर, आरती लिम्बू समुदायकी चेली रहिछिन् र म राई । अहिलेसम्म राई र लिम्बूको मागी बिहेको चलन बाहिर आइसकेको छैन । तैपनि, हामी दुवैजना औपचारिक बिहे नै चाहन्छौँ । त्यसैले अब, कन्याको हात माग्न कलिया जाने, बुढापाकाको भूमिका तिमीले नै निभाइदिनु पर्छ, मनकुमार !’

यतिभन्दै भावुक भएर साथी आरोग्यले मलाई सहयोगको बिन्ती चढायो । मैले पनि हुन्न, म सक्दिनँ त कहाँ भन्न सक्थेँ र ! आरतीले पनि मधुर मुसुमुसु हाँसोको साथमा जिस्किँदै अनुरोध गरिन्, ‘मनकुमार दाजु ! यो काम गर्न सहयोग गर्नूस् न त हामीलाई । म पनि तपाईंको कुनै न कुनै शुभकार्यमा जाँड छान्न सघाउन आउछु नी !’

दुवैजनाको वचनलाई काट्न नसकेर मैले त्यो जिम्मेवारी पूरा गरेँ । विवाह हर्षोल्लासमय तरिकाले शुभसम्पन्न भयो । आरोग्य र आरतीको नयाँ जीवन सुरु भयो । दुवैको जोडीमा कसैले खोट् लगाउने ठाउँ नै थिएन । रूपरङ, पढाइलेखाइ पनि उस्तैउस्तै । दुवै शारीरिक र मानसिकरूपमा परिपक्व थियो । दुवैजनाको मायालाई कसैले सोच्नसम्म सकिँदैनथ्यो । त्यति धेरै गहिराइमा डुबेर एकअर्कालाई माया गर्थे ।

तर, जति नै मनमा मायाप्रेम भएता पनि के गर्ने ? हाम्रो मुलुकमा बेरोजगारीको समस्या सत्ययुगदेखि नै थियो होला सायद । महँगी बढेर आकासिएर गएको थियो । वैदेसिक रोजगारको सिलसिलामा आरोग्य आफ्नो केहीसमय नबित्दै फेरि युद्धग्रस्त देश अफगानिस्तान तिर हान्निएछ । पहिले पनि इराक गएर फर्केको थियो । त्यहाँ बम विष्फोटन हुनेकुरा डरलाग्दो गरी सुनाउथ्यो । फेरि त्यस्तै ठाउँ गएछ । पहिले कहीँकतै आकास तिर ठोक्किन लागेको घरहरू देखिन्थ्यो । यो कसको घर होला भनि सोध्द्धा, ‘यो बेलायती सेना (ब्रिटिसआर्मी) को घर हो ।’ भनेर भन्थे । अहिले कहीँकतै सोध्यो भने ‘यो इराकी लाहुरेको या त अफगानी लाहुरेको हो’ भन्छन् । कमाइको हिसाबले अन्य मुलुकको तुलनामा इराक र अफगानिस्तानमा राम्रै हुँदो रहेछ । बेलायती सेनाको तलबभत्ता भन्दा कम थिएन भनेर दाबी गर्थे भोग्नेहरूले । हुन त कतिपयलाई लोभले लाभ र लाभले विलाप पनि बनाएको छ । तर, जस्तो जेजे आइपरे पनि भोग्नैपर्ने हामी मान्छेले । आरोग्य यसरी रोजगारीको सिलसिलामा विदेशतिर लागेछ । यति मिलनसार मेरो साथीसँग हाम्रो भेट नभएको लगभग १८÷२० महिना जति भइसकेथ्यो ! आरोग्य कता गयो, के गर्दै होला ! घरजम गरेपछि घरायसी कामकुरामा नै व्यस्त होला भन्ने सोचेको थिएँ । अकस्मात एकदिन एउटा इमेल मेरो ‘इनबक्स’ मा आएको देखेँ । करिब डेढ महिना अगाडितिर नै पठाएको रहेछ । हतारहतार खोलेर हेरी हाल्न मन लाग्यो । सरसर्ती पढेँ ।

बाट ः आरोग्य

लाई ः मनकुमार

विषय ः धेरै–धेरै सम्झना !

मित्र मनकुमार,

गुडमर्निङ, सेवा एन्ड सेवारो ।

विशेष आराम रही सोही कामना ।

समयको गतिसँगै हामीले हाम्रो जिन्दगीको गति अगाडी बढाउनुपर्ने हुँदोरहेछ । त्यसैले होला सायद तिम्रो र मेरो भेट नभएको पनि यति लामोसमय भइसक्यो । तैपनि तिमीले मप्रति गरेको सहयोग र सद्भावलाई कहिल्यै भूल्ने छुइनँ । हाल म गिन्दगीलाई जिउने आधार तयारगर्ने क्रममा संघर्ष गर्दै अफगानिस्तानको दक्षिणी अमेरिकी बेसक्याम्पमा छु । युद्धरत देश हो । खतरनाक भने धेरै नै छ । केही दिन अघि मात्रै अफगानिस्तान र पाकिस्तानको सीमावर्ती क्षेत्रमा अपरेसनमा रहेको अमेरिकी सैनिकको हेलिकप्टरलाई तालिवानीहरूले आक्रमण गर्दा ठाउँको ठाउँ खसाइ दिए । जुन हेलिकोप्टरमा ३१ जनाको ज्यान गएको थियो । जसमध्ये ९ जना हाम्रा नेपाली साथीहरूले पनि जीवन गुमाउनुप¥यो । हिजो पनि मैले काम गर्ने अफिसभन्दा ५ सय मिटर जति टाढामा रहेको एउटा ब्लकमा लञ्चर खस्दा ४ जना नेपालीसहित सयौँको संख्यामा युरोपियन र अमेरिकन मरे । यस्तै घटनाहरू घटिरहन्छन् ।

अब, यी यस्तो दुःखको कुराहरू मात्रै कति गरिरहनु ! तिमीसँग धेरै खुसीको कुराहरू पनि गर्नु’छ । मनकुमार ! थाहा छ तिमीलाई,, मेरो छोरा पनि अब त ताते गर्ने बेला भइसक्यो रे ! हरेक बाबाआमाले आफ्नो सन्तान जन्माउनुभन्दा पूर्व योजना गर्नुपर्ने हुन्छ । आरती र मैले पनि चाहे छोरा होस्, चाहे छोरी । तर, १ जना मात्रै सन्तान जन्माउने । छोरी भए डक्टर बनाउने र छोरा भए पाइलट बनाउने । यो हाम्रो पूर्व योजनामा जन्माएको छोरा हो । उस्को नाम ‘एभिएसन’ ! आरती र मेरो मायाको चिनोस्वरूप पाएको हाम्रो मायाको उपहार हो, एभिएसन । त्यो उपहारलाई सहिरूपमा ग्रहण गर्न हामीले छोरा आरतीको गर्भमा रहनुभन्दा पहिले गरेको चाहना पूरा गर्नुछ । त्यसका लागि कुनै पनि हालतमा हामीले एभिएसनलाई पाइलट बनाउनु छ । त्यो सफलतामा तिमी पनि कति खुसी हुन्छौ होला हगी ? हामीले यो उपहार पाउनमा तिम्रो नै महत्वपूर्ण योगदान रहेको छ, मनकुमार । अहो ! म त भावनामा बहँदै निकै गहिराइमा नै पुगिसकेछु । अरू मेरो हालखबर ठीकै छ । तिम्रो हालखबर के कसो छ, सबै प्रतिउत्तरमा लेखी पठाउनू है ? तिम्रो जवाफको पर्खाइमा रहनेछु ।

उही तिम्रो परदेशी मित्र

आरोग्य, अफगानिस्तान ।

यति पढीसक्ने बित्तिकै मलाई महसुस भयो, अहा ! आरोग्य र आरतीको जीवनमा त्यति धेरै परिवर्तन आइसकेछ । सानो अनी सुखी परिवारको निर्माण भइसकेछ । एभिएसनले जन्म पाएको खबर त्यहीँ बेला थाहा पाएँ । यो खुसीमा म पनि आरती र अभिएसनलाई भेट्न आएको थिएँ । आरती सेतो कपडाको पहिरनमा थिइन् । फुस्रो अनुहार लिएर टुप्लुक्क घर भित्रबाट बाहिर निस्किइन् । गलामा केही थिएन । हातको चुरा सबै फुटाएर नारी ठुटै थियो । बिहेको समयताका गुलाब फक्रेको जस्तो लाली जोवन थियो । तर पछि बेमौसममा नै ओइलिएर खसेको पातसरी रुपरङ र लवाई देखिन्थ्यो । म झसंङ्गै भएँ । के भयो होला भनेर सोधी हाल्न पनि सकिनँ । आरतीले पनि कसरी यस्तो कुरा मसँग व्यक्त गर्न सक्थिन् र ! मात्रै यति भन्न सकिन् ‘अहो मनकुमार दाइ, कसरी लामो समयपछि तपाईं यहाँ ? हुनसक्छ सबै कुरा सुनेर नै आउनुभयो होला हैन ?’ यती भन्दै ग्वाँग्वाँ रुन लागिन् ।

‘हैन, आरती बहिनी के भयो र त्यस्तो ? अहँ मलाई त केही थाहा भएन त !’ मैले अचम्मित हुँदै सोधे । मलाई देखेर आरतीको बोल्न सक्ने स्थिति थिएन । केहीबेर पछि आफूलाई बिस्तारै सम्हाल्दै भनिन्, ‘जो कोही श्रीमतीको लागि दुनियाँको प्रिय आफ्नो पतिदेव नै हुन्छ ।’

यो धर्तीबाट सधैँका लागि आरतीले आफ्नो पतिदेवलाई बिदाई गर्नुपर्ने परिस्थिति खेप्नु परेछ । ठ्याक्कै १ महिनाअगाडि अफगानिस्तानमा अमेरिकी सैनिक बेसक्याम्पमा तालिवानीहरूले आक्रमण गरेर अनगिन्ती आणबिक बम विष्फोटन गराएका थिए’रे । त्यही काण्डमा परी आरोग्यले आफ्नो ज्यान अर्काको भूमिमा अन्त्य गर्नुपरेछ । आरतीको मुखबाट यस्तो कुराहरू सुन्दा मलाई सपना जस्तै भयो । उही पत्रमा पढेको थिएँ एभिएसन । सानो अबोध बालक च्याँच्याँ रोइरहेको देखेँ । आरतीको सिउँदोको सिन्दुर पुछिएको थियो । मेरा लागि पनि यो ठूलो शोकको दिन आइप¥यो । आरतीको जीवनमा पीडाको बज्रपात नै थुप्रिएको थियो । म केही बोल्न सकिनँ । मैले धेरै कुरा गरेर बसिरहँदा विगतको स्मरणले सताउने भयो । आरतीको निको हुँदै गरेको घाउँको खाटो झनै कोट्याई दिएजस्तो लाग्यो मलाई । केही सहानुभूति दिएर दुःखद कुरा मनभरी खेलाउँदै घर फर्के । 

एभिएसन कथा सुनेर दंग प¥यो ।

अन्ततः एभिएसनले भन्यो ‘अंकल ! बाबा र आमाको संयोग गराउने हजुर नै हुनुहुँदो रहेछ । हजुर र मेरो आजको भेट पनि संयोगवस भयो । मलाई सारा कुरा बुझ्ने मौका मिल्यो । यो धर्तीमा मैले जन्मलिन पाउने बाटो हजुरले बनाइदिनुभा’को रहेछ । हजुर मेरो निम्ति धन्यवादको पात्र हुनुहुन्छ । र, म पाइलट बन्नुमा आमाको ठूलो हात छ । मलाई जन्मदिनु भयो । दुःख गरेर हुर्काउनुभयो । धेरै पढाउनु भयो । कुकार्यभन्दा अन्य गर्ने सबै दुःख गर्नुभयो ।
यौटाकुरा, आमाले मलाई थाहा दिनुभएन । उहाँले आफ्नो मिर्गौला दान गर्नुभएछ । त्यो बाध्यता थियो । मिर्गौला पीडित बिरामी निको भएछ । दान गरेवापत् केही पैसा खुसीसाथ दिएछन् । आमाको चाहना ‘मलाई कुनै हालतमा पाइलट बनाउने !’ अन्ततः त्यहीँ पैसा मेरो अन्तिम पढाइको लागि जम्मा गरिदिनु भएछ । मैले आमाको यो ऋण लाखौँ जुनी पारगर्दा पनि चुक्ता गर्न सक्दिनँ । आमाको यो महान्कर्मले गर्दा आज मैले पाइलट एभिएसन बन्ने मौका पाएको छु । आमा भनेको आमा नै हो, धर्ती हो । सागर हो ।’

एभिएसनलाई सम्झाउँदै भने, ‘हो एभिएसन, आमाको ठाउँमा बाबा भएको भए पाइलट एभिएसन हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । आमाले बाबा आरोग्यलाई पनि ऋण लगाएकी छन् । एभिएसनलाई पनि ऋणको भारी बोकाएकी छन् । यो ऋण चुक्ता गर्नलाई कहिल्यै पछि नपर्नू है ।

प्रतिक्रिया