नेपालमा आइस रिंक बन्ने

ice hockey n keshab bista vet copyकाठमाडौं, २७ फागुन । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्टले अन्तर्राष्ट्रिय आइस हक्की फेडेरेसनका अध्यक्ष रेने फासेलसँग फेडेरेसनको हेर्डक्वार्टर स्विजरल्यान्डको जुरिचमा बुधबार भेटवार्ता गरेका छन् ।

सदस्यसचिवले सो भेटमा साहसिक खेलका रूपमा रहेको आइस हक्की खेलको विकास लागि आवश्यक पर्ने भौतिक पुर्वाधार निमार्ण गर्न आवश्यक जग्गा राखेपले उपलब्ध गराउन लागेको जानकारी गराएका थिए ।

अध्यक्ष फासेलले तत्काल महासचिवसँग सल्लाह गरेर नेपालमा आइस रिंकको निमार्णको विषयमा अध्ययन गर्नका लागि टेक्निकल कमिटी तयार गरी पठाउने निर्णय गरेको नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीले बताए । सदस्यसचिव विष्टले भेटवार्ता सकारात्मक भएको भन्दै उत्साह व्यक्त गरेका छन् । उनले भने, ‘फेडेरेसन निकै उत्साहित छ । हामीले जति छिटो काम गर्न सक्छौँ उनीहरूले त्यति नै धेरै विकासका कार्यक्रममार्फत नेपाललाई सहयोग गर्ने बताएका छन् ।’

‘विश्वको सर्वाेच्च शिखर एभरेष्ट रहेको नेपालमा आइस रिंक बनाउनु ऐतिहासिक काम भएको बताउँदै उहाँले तत्काल आइस हक्की रिंक निमार्णको अध्ययनका लागि टेक्निकल विज्ञको टिम नेपाल पठाउने बचन दिनु भएको छ,’ नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीले भने, ‘हिमाली भेग रहेको नेपालमा बहुउपयोग रिंक बनाउनका लागि टेक्निकल टिमलाई सल्लाहसमेत दिएका छन् ।’

सदस्यसचिवले अन्तर्राष्ट्रिय आइस हक्की महासंघका अध्यक्ष फासेलबोहक महासंघका महासचिव र्होस्ट लिच्टनेर, उपाध्यक्ष थोमस जे हुसँग नेपालमा आइस हक्कीको विकास र विस्तार गर्ने विषयमा छलफल गरेको थिए । उनले महासंघका अध्यक्ष फासेललाई औपचारिक रूपमा नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

सदस्यसचिवले फासेललाई मायाको चिनो स्वरूप नेपालमा बनेको कार्पेट उपहार प्रदान गरेका थिए । सदस्यसचिवको नेतृत्वमा रहेको भ्रमणमा संघका अध्यक्ष लोकबहादुर शाही र सल्लाहकार प्राडा हरि शर्मा रहेका थिए ।

नेपालले आइस हक्की खेलको विकास र विस्तार गर्ने विषयमा कार्ययोजनासेत प्रस्तुत गरेको थियो । फासेलले नेपाल आइस हक्की संघलाई मस्कोमा मे महिनामा हुने कंग्रेसमा सदस्यता प्रदान गर्ने बताएका छन् ।

नेपालसँगै इन्डिानेसिया र फिलिपिन्सलाई पनि सदस्यता दिने बताइएको छ । ‘हाम्रो विकास योजनाको महत्वपूर्ण क्षेत्र एसिया रहेको छ । हामी नयाँ सदस्यलाई स्वागत गर्न चाहान्छौँ’, उनले भने ।

प्रतिक्रिया