निगमले विवरण सार्वजनिक ग¥यो

काठमाडौंं, २१ फागुन । नेपाल आयल निगमले १ देखि १५ फागुनसम्म आयात गरेको इन्धन र वितरण गरेको इन्धनको परिमाण सार्वजनिक गरेको छ ।

कालोबजारीलाई सहयोग गरी उपभोक्तालाई वितरण नगरेको आरोप खण्डन गर्नेगरी निगमले आयात र वितरणको परिमाण सार्वजनिक गरेको हो । निगमले यस अवधिमा १ करोड २१ लाख ४३ हजार लिटर पेट्रोल आयात गरी १ करोड २६ लाख ५४ हजार लिटर उपभोक्तालाई वितरण गरेको छ । जसमा उपत्यकामा मात्रै १५ दिनको समयमा ४९ लाख २० हजार लिटर आयात गरेको छ । निगमले उपत्यकामा सार्वजनिक बिदाको दिन र सरकारी बिदाको दिनवाहेक सधैँ पेट्रोल वितरण गरेको छ । यस अवधिको बीचमा ४ दिन बिदा परे पनि ५१ लाख ६३ हजार लिटर पेट्रोल दैनिक मागअनुसार नै वितरण गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

सामान्य अवस्थामा दैनिक उपत्यकामा ३ लाख ५० हजार लिटर पेट्राल माग हुने गरेको आधारमा भन्ने हो भने बिदा बाहेक ११ दिनमा उपत्यकामा ३८ लाख ५० हजार लिटर पेट्रोल माग हुनेमा करिब १२ लाख लिटर पेट्रोल बढी वितरण भएको छ । लामो समयसम्मको अभाव र अभैm पनि पूर्णरूपमा तेल पाउन सकिन्छ भन्ने विश्वास उपभोक्तामा नहँुदा सहज रूपमा सबैले इन्धन भर्न भने पाएका छैनन् । पाएकाले स्टक राख्ने प्रवृति बढ्दो छ ।

त्यस्तै निगमले १ देखि १५ फागुनसम्म विभिन्न नाकाबाट गरी ३ करोड ९८ लाख ६२ हजार लिटर डिजल आयात गरेको र ३ करोड ९८ लाख ७९ हजार लिटर उपभोक्तालाई वितरण गरेको तथ्यांक सार्वजनिक गरेको छ । जसमा उपत्यकामा मात्रै ६० लाख ७६ हजार लिटर डिजल आयात गरी ६१ लाख २९ हजार लिटर डिजल वितरण गरेको छ ।

उपत्यकामा दैनिक अहिले सरदर ४ लाख लिटर डिजलको माग भए पनि बिदाको दिन कटाएर दैनिक मागभन्दा १२ लाख लिटर बढी डिजल वितरण भएको छ । त्यस्तै सोही अवधिमा निगमले ६ लाख ४६ हजार मट्टितेल आयात गरी उपभोक्तालाई ६ लाख ५४ हजार लिटर वितरण गरेको छ ।

त्यस्तै निगमले १० हजार ३ सय मेट्रिक टन खाना पकाउने ग्यास आयात गरी सोही परिमाणमा नै वितरण गरेको छ । निगमको यो तथ्यांकलाई हेर्दा आयातको मात्रा भन्दा वितरणको मात्रा बढी देखिएको छ । निगमले भने उपभोक्ताले सहजरूपमा नै इन्धन पाउन् भन्ने आशा र छिटोभन्दा छिटो सहज भएको महसुस गराउन भन्दै स्टक भण्डारणबाट निकाल्दै केही बढी मात्रामा इन्धन वितरण गरेको जनाएको छ ।

उपभोक्ताले भने नाकाबन्दी खुलेको महिनौ दिन हुँदा पनि सहजरूपमा इन्धन भर्न पाएका छैनन् । लामो समयमसम्म लाइनमा बसेर वा पहुँचका भरमा मात्र इन्धन लिन बाध्य भएका छन् ।

निगमले भने भारतीय आयल कर्पोरेसनले माग अनुसार इन्धन नदिँदा वितरणमा समस्या रहेको जनाएको छ । अहिले बिस्तारै आइओसीले पनि लोडको मात्र बढाउँदै कहिले ८० र कहिले मागको ९० प्रतिशत इन्धन दिएको जनाएको छ । निगमले भने अब बिस्तारै आयात बढ्ने र सहज हुँदै जाने विश्वास गरेको छ । निगमले उपभोक्तालाई पनि पेट्रोलियम पदार्थ अति संवेदनशील बस्तु भएको हुँदा आवश्यकभन्दा बढी स्टक नराख्न र सुरक्षित रहन पनि आग्रह गरेको छ ।

सामान्य अवस्थामा दैनिक ११ सय केएल पेट्रोल र २६ सय केएल डिजल माग रहे पनि निगमको तथ्यांक हेर्दा १५ दिनमा ७० प्रतिशत देखि ७५ प्रतिसम्म पेट्रोल आयात भएको देखिन्छ । त्यस्तै दैनिक नेपालभर २६ सय केएल डिजलको माग भए पनि सोही परिमाणमा आयात भएको अवस्था देखिन्न । निगमका अनुसार पेट्रोलभन्दा डिजल बढी आयात भएको छ । निगमले सातामा १ दिन मात्र शनिबार वितरण नगर्ने र आइओसीले भने शनिबार र आइतबार प्रायः दुबै दिन तेल लोड नदिने गर्दा समस्या अझै सहज हुने नसकेको जनाएको छ ।

प्रतिक्रिया