मोर्चा नेतृत्व अझै आक्रमक

लुम्बिनी, २० फागुन  । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी दलहरूले उठाएको माग सम्बोधन गर्नेतर्फ सरकार गम्भीर नभएको आरोप लगाएका छन् । पार्टीको भैरहवामा सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेसी मोर्चाले बन्द, हडताल र नाकाबन्दीलगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि आफूहरूको आन्दोलन भने नरोकिएको बताए ।

ठाकुरले सरकारसँग विभिन्न चरणमा भएका वार्ता तथा संवाद सरकारकै कारण अर्धहीन भएको उल्लेख गर्दै अबको वार्ता सार्थक र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेस त्रिपाठीले मधेस आन्दोलनमा घाइते सबैलाई सरकारले उपचारलगायतका सुविधा दिने बताए पनि पीडितले उपचार नपाएको गुनासो गरे । उनले सरकार नागरिकका समस्या समाधान गर्नतर्फ लाग्नुभन्दा पनि आफूलाई कसरी सत्तामा टिकाइराख्ने खेलमा लागेको आरोप लगाए ।

यसैबीच, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले राज्यले नसुनेपछि फेरि कडा आन्दोलन गर्ने बताएका छन् जनकपुरमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सहअध्यक्ष कर्णले अबको आन्दोलनले काठमाडौं र मधेसबीचको खाडल बढेर जाने बताएका हुन् ।

एक महिनाका लागि मोर्चा जनतामा गएर जागरण अभियान थालेकाले आन्दोलन स्थगित गरेको बताउँदै उनले यो अवधिभित्र सरकारले मधेसी मोर्चाको माग पूरा गरेन भने अबको आन्दोलन पहिलेभन्दा पनि सशक्त हुने चेतावनी दिए । कर्णले मधेस आन्दोलन समाप्त नभएको बरु बिराम मात्र लिएको बताउँदै विरामको अवधिमा सरकार सुध्रिएन भने १ महिनाभित्र कडारूपमा आन्दोलन हुने दाबी गरे । मधेसको माग पूरा नभएसम्म मधेसी मोर्चाको कुनै घटक सरकारमा नजाने स्पष्ट पारे ।

प्रतिक्रिया