सुरुभयो कांग्रेसको १३ औँ महाधिवेशन

congressकाठमाडौं, २० फागुन । कांग्रेसको १३औँ महाधिवेशन तामझामका साथ सुरू भएको छ । राजधानीको खुलामञ्चमा भव्य समारोहबीच कार्यवाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशन उद्घाटन गरे । ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा भारतीय नेताहरू सहभागी छन् । मञ्चमा भारतको बिहार प्रान्तका मुख्यमन्त्री नितिशकुमार, भारतीय राजदूत रणजीत रे, चिनियाँ राजदूत उ चुन्ताइ छन् ।

मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दा तथा गुणस्तरीय माइकको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक नवीन्द्रराज जोशीले जानकारी दिए ।

उदटनमा मञ्चमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, विदेशी पाहुनालगायत रहनेछन् । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, संसद्, सञ्चारकर्मी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्तालगायत सहभागीलाई बस्नका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।

उद्घाटनस्थल पार्टीको चारतारे झन्डा, पार्टीका ब्यानर, उम्मेदवारका प्रचारका ब्यानर तथा पोस्टरले भरिएको छ । खुलामञ्चमा आवश्यक सरसफाइ गरिएको छ । सुरक्षाकर्मीको व्यापक उपस्थिति हुनुका साथै कांग्रेसका स्वयम्सेवक उद्घाटनको तयारीमा जुटेका छन् । स्थलमा सहभागीलाई खानेपानी र प्राथमिक उपचारको प्रबन्ध गरिएको छ ।

उदटनपछि महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने तय भएको छ । चार दिनसम्म हुने महाधिवशेनको निर्वाचन कार्यक्रम भने राष्ट्रियसभा गृहमा हुनेछ । महाधिवेशनको तयारीका लागि राजधानी प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशनसम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ। बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरा, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका तस्बिर र नारा लेखिएका ब्यानर टाँसिएका छन् ।

महाधिवेशनमा भाग लिन कांग्रेसको विधानअनुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधि, भ्रातृ एवं शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ जना महाधिवेशन प्रतिनिधि राजधानी आइसकेका छन् ।

त्यस्तै वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन् । १३औँ महाधिवेशनका लागि बुधबार कार्यवाहक सभापति रामचन्द्र पौडेलले महामन्त्रीमा नेता डा शशांक कोइरालालाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि महामन्त्रीमा युवानेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवाले महामन्त्रीमा नेता अर्जुननरसिंह केसीलाई लिएर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । यसबाहेक सयौं नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया