“इन्धनमा भारतको विकल्प खोजिनुपर्छ”

oil nigam copyकाठमाडौं, १९ फागुन । नेपाल आयल निगमले इन्धन आयातमा भारतसँग मात्र भरपर्ने अवस्था नरहेको जनाएको छ । एक साता लामो भारत भम्रण गरी नेपाल फर्केका निगम प्रमुख गोपालबहादुर खड्काले तत्काल नै इन्धन सहजताको लागि भारतबाहेक अन्य देशबाट पनि इन्धन आयातको विकल्प खोज्न आवश्यक रहेको बताए ।

नाकाबन्दी खुलेको एक महिना हुन लाग्दा पनि भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपालको माग अनुसार इन्धन लोड नदिएको भन्दै आइओसीसँग छलफलका लागि खड्का भारत भम्रणमा गएका थिए । आइओसीले छलफलमा अब बिस्तारै लोड बढाउने बताए पनि कहिलेबाट माग अनुसारकै तेल लोड गरिदिने भनेबारेमा भने स्पष्ट जवाफ नदिएको खड्काले बताए । ‘सबै नाकाबाट सहज रूपमा इन्धन आउने भइसकेपछि पनि मागअनुसार आइओसीले इन्धन लोडिङमा विभिन्न बहाना झिकी आलटाल गरिरहेको छ’ उनले भने । २२ माघमा नाकाबन्दी पूर्णरूपमा खुले पनि आइओसीले रक्सौल डिपोबाट ८० प्रतिशतभन्दा इन्धन लोड नगरेको र अन्य डिपोमा भने ५० प्रतिशत मात्र इन्धन लोड भएको खड्काले जानकारी दिए ।

भारतीय डिपोहरूले भने कहिले माथिबाट माग अनुसारको इन्धन दिन निर्देशन नआएको त कहिले लामो समयसम्मको बन्दले प्राविधिक समस्या मिलाउन समय लागेको भन्दै लोड नबढाएको उनले बताए । ‘आइओसीले छलफलका क्रममा बिस्तारै इन्धन आयात बढाउने भने पनि नबढाएसम्म विश्वास गर्ने अवस्था रहन्न’ खड्काले भने ‘यो समयमा हामीले अन्य देशको विकल्प नखोज्ने हो भने हामीलाई जुनसुकै समयमा पनि आइओसीले दुःख दिन सक्छ ।’

आयात भएको इन्धन पनि सही रूपमा प्रयोग हुन नसक्दा सहजरूपमा उपभोक्ताले इन्धन भर्न नपाएको खड्काले बताए । उपभोक्ताले आवश्यकभन्दा बढी स्टकराख्दा समस्या आएको हुन सक्ने खड्काको भनाइ छ ।

निगमले अन्य ठाउँमा वितरण हुने परिमाणमा केही कटौती गरेर भए पनि उपत्यकामा दैनिक ५ लाख लिटरको हारहारीमा पेट्रोल र ५ लाख लिटरकै हाराहारीमा डिजल वितरण गरेको छ । यद्यपि, १ महिनासम्म पनि सहज हुन नसकेकोमा आफूहरू नै अन्योलमा रहेको खड्काले बताए ।

‘आइओसीको डिपोमा दैनिक माग अनुसार ट्यांकर पठाइरहेका छौँ’ उनले भने ‘तर आइओसीले भने आफ्नो उपभोक्तालाई बेचेर केही परिमाण मात्र लोड गरेको अवस्था छ ।’ आफूले बारम्बार कहिलेबाट माग अनुसार नै इन्धन दिन्छौ भन्ने प्रश्न गर्दा पनि त्यसको चित्तबुझ्दो जवाफ आइओसीले नदिएको खड्काको तर्क छ । इन्धन आयात सहजताको लागि सरकारी तवरबाट निरन्तर प्रयास भइरहेको र कुनै उपलब्धि भने हुन नसकेको खड्काले स्वीकार गरे ।

निगमका अनुसार अहिले नेपालमा दैनिक ११ लाख लिटर पेट्रोल माग रहे पनि ७ देखि ८ लाख लिटर मात्र पेट्रोल लोड भइरहेको छ । त्यस्तै दैनिक २६ लाख लिटर डिजल माग हुने गरे पनि २० लाख लिटरको हारहारीमा मात्र डिजल आयात भएको छ । दैनिक रक्सौलबाट ८ लाख लिटर पेट्रोल माग गरे पनि ४ देखि ५ लाख लिटर मात्र पेट्रोल र १६ लाख लिटर डिजल माग गर्दा १२ लाख लिटर मात्र डिजल लोड भएको निगमले जनाएको छ ।

अन्य डिपोमार्फत भने ५० प्रतिशमात्र इन्धन आयात भएको निगमले जनाएको छ । भारतले माग अनुसारकै इन्धन लोड नदिनुमा प्राविधिक कारण र नेपाल सरकारले चीनबाट पनि ३० प्रतिशत इन्धन ल्याउने भनी गरेको एमओयूको कारण पनि हुन सक्ने निगमको शंका छ ।

आइओसीले बरौनी डिपोमा प्राविधिक समस्या आएको भन्दै एक सातासम्म ग्यास लोड नगरेकोमा पुनः सोमबारबाट भने लोड सुरु गरेको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

नाकाबन्दी खुलेसँगै प्रतिदिन ५५ बुलेट ग्यास लोड हुन थालेको अवस्थामा बरौनी डिपोले भने अघिल्लो साता ग्यास लोड गरेको थिएन । बरौनीबाट सामान्य अवस्थामा १२ हजार मेट्रिक टन अर्थात ३० देखि ३५ बुलेट ग्यास लोड हुने गर्दछ । सो डिपोले लोड बन्द गर्दा केही मात्रामा सहज हुँदै गएको ग्यास आयातमा समस्या आएको घिमिरेले बताए । सोमबार र मंगलबार २ दिनमा ४२ बुलेट ग्यास सो डिपोबाट लोड भई नेपाल आएको घिमिरेले बताए ।

त्यस्तै हल्दियाबाट २५ बुलेटको हाराहारीमा र मथुराबाट १० बुलेटका दरले गरी अहिले सरदर ५० बुलेट ग्यास आयात भएको घिमिरेले बताए । सामान्य अवस्थामा नेपालको लागि ६० बुलेट ग्यास आवश्यक पर्ने गर्दछ ।

नेपाल आयल निगमको एक टोली पुनः इन्धन सम्झौताको लागि प्राविधिक समस्याको अध्ययन गर्न भन्दै चीन गएको छ । निगम प्रमुख खड्काका अनुसार टोलीमा कोको रहेको भन्ने बारेमा थाहा नभए पनि २ देशबीचमा रहेको प्राविधिक समस्याको अध्ययन गर्नेगरी समाधान खोज्न टोली चीन गएको हो ।

यसअघि ३ पटकसम्म अध्ययन भम्रण गरेको टोलीले प्राविधिक रूपमा समस्या नरहेको र उच्चस्तरीय छलफल आवश्यक रहेको भन्दै प्रतिवेदन पेस गरेपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा एक टोली चीन भ्रमण गएको थियो ।

प्रतिक्रिया