कांग्रेसमा सभापतिका तीन उम्मेदवार

3 leaderकाठमाडौं, १९ फागुन । कांग्रेसको आसन्न १३औँ महाधिवेशनमा सभापति पदका लागि ४ नेताले उम्मेदवारी भनिए पनि अन्तिम समयमा सभापतिका आकाँक्षी सुजाता कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गरेकी छन् । कांग्रेसका कावा सभापति रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाले बुधबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । वरिष्ठ नेता शेरबहादुर देउवाले बिहीबार औपचारिकरूपमा उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित घोषणासभामा हजारौँ कार्यकर्तामाझ पौडेलले सभापति र डा. शशांक कोइरालाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । पौडेलले कांग्रेसलाई नयाँ ऊर्जा दिन र पार्टीलाई शुद्धीकरण गर्न उम्मेदवारी दिनुपरेको बताएका छन् । उनले संविधानसभाबाट जारी भएको समावेशी संविधान कांग्रेसका अग्रजको सपना हो भन्दै त्यसको सफल कार्यान्वयन र आर्थिक समृद्धि अबको प्रमुख एजेन्डा भएको बताए ।

प्रजातान्त्रिक समाजवादको दर्शनले मात्र मुलुकको अहिलेको आर्थिक र सामाजिक परिवर्तनलाई उचित व्यवस्थापन गर्न सकिनेमा जोड दिँदै कावा सभापति पौडेलले भने, ‘राष्ट्रको समग्र रूपान्तरणका लागि मैले नेतृत्व गर्ने अठोट गरेको हुँ ।’ ‘बिपी पुत्र शशांक र गणेशमान पुत्र प्रकाशमान सिंहलगायतको साथ र सहयोगले मलाई ठूलो बल मिलेको छ र कांग्रेसको मूलधार पनि यही हो’ उनले भने ।

महामन्त्रीका उम्मेदवार कोइरालाले आफू हजुरबुबा कृष्णप्रसाद कोइरालाको प्रेरणा, बिपी कोइरालाको विचार र सबै कांग्रेस नेता कार्यकर्ताको मार्गदर्शनअनुसार नै अघि बढ्ने उद्घोष गरे ।

त्यस्तै सिटौला समूहले पनि पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेको हो । सिटौला सभापतिको उम्मेदवार हुने समूहबाट महामन्त्रीमा गगन थापाले र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा तीनवटै पदका उम्मेदवारहरूले पार्टीमा रहेको गुटको अन्त्य गर्न र पार्टीलाई ऊर्जाशील बनाउन आफूहरूको उम्मेदवारी भएको बताएका थिए । उनीहरूले आफूहरू कुनै गुटको नभई सबै नेता तथा कार्यकर्ताहरूको भावनाको प्रतिनिधित्व गर्न जुर्मुराएको चर्चा गरेका थिए ।

सभापतिका उम्मेदवार सिटौलाले शान्तिप्रक्रिया र संविधान निर्माणको काम सकिएकाले अब त्यसको कार्यान्वयनको जिम्मेवारी आफूहरूले पूरा गर्ने बताए । उनले पार्टीलाई गतिशील, विचारशील र अग्रगामी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्वको आवश्यकता भएकाले आपूmले नेतृत्व लिन तम्सिएको तर्क गरे ।

महामन्त्रीका उम्मेदवार थापाले आफ्नो नसामा बिपीको रगत नभई विचार बगेको बताए । उनले भने ‘पार्टी रगतले होइन विचारले चलाउने हो त्यसैले मेरो नसानसामा बिपीको विचार बगेकाले बिपीको विचारअनुसार नै पार्टीलाई चलाउने अठोट गरेको छु ।’

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पदाधिकारी टिमको टुंगो लगाएका छन् । महामन्त्रीमा अर्जुनरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव चुनावी मैदानमा जाने भएका छन् ।

महामन्त्री पदमा अघिल्लो साता केसीको टुंगो लागे पनि कोषाध्यक्ष पदमा भने देउवा र खुमबहादुर खड्काबीच कुरा मिल्न सकेको थिएन । देउवाले मनोनित महामन्त्री खड्कालाई बनाउने र खड्काले कोषाध्यक्षमा अगाडि सारेकी पुष्पा भुसालको स्थानमा चित्रलेखा यादव ल्याउने २ नेताबीच सहमति भएको स्रोतले बताएको छ ।

मनोनित महामन्त्री पाउने भएपछि खड्काले पुष्पा भुसाललाई पछाडि सारेका छन् । तर, देउवा प्यानलको टिम मिलाउने जिम्मा भने खड्काले पाएका छन् । बिहीबार देउवा टिमले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया