ट्राफिक बत्ती नबल्दा व्यवस्थापनमा समस्या

काठमाडौं, १७ फागुन । काठमाडौं उपत्यकाभित्रका चोकहरूमा रहेका ट्राफिक बत्ती नहुँदा समस्या आउने गरेको छ । धेरै जसो ट्राफिक बत्तीले काम नगर्दा उपत्यकामा गुड्ने सवारी साधनको ट्राफिक व्यवस्थापनमा समस्या पर्ने गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा काठमाडौं उपत्यकाका अधिकांश सडकको चोकमा रहेको ट्राफिक बत्ती सञ्चालनमा रहेका छैनन् । उपत्यकामा रहेका २० स्थानमध्ये १३ स्थानको बत्ती सञ्चालनमा नरहेको ट्राफिक प्रहरीको तथ्यांक उल्लेख छ । केशरमहल, दरबारमार्ग, पुतलीसडक, पद्योदय मोड, सिंहदरबार, माइतीघर, थापाथली, कालीमाटी, गौशाला, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर र कौशलटार चोकको बत्ती सञ्चालनमा छैनन् । ०६८ मा निर्माण भएको कोटेश्वर–बनेपा–धुलिखेल सडकमा रहेको मुनीभैरब, जडीबुटी, गट्ठाघर, ठिमी, चारदोबाटो, सल्लाघारी, सूर्यविनायक चोकको बत्ती भने प्रयोगमा रहेका छन् ।

यसैगरी पैदल यात्रुका लागि जडान गरिएका बत्ती भने सबै सञ्चालनमा रहेका छैनन् । पुरानो बसपार्क, त्रिचन्द्र क्याम्पस, चाइना टाउन सुन्धारा, भोटेबहाल, कालीमाटी, नयाँसडक प्युखा, शंकरदेव, सिंहदरबार चोक र अल्का अस्पताल क्षेत्रको बत्ती पनि सञ्चालनमा छैनन् । महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले उपत्यकामा रहेका अधिकांश स्थानको बत्ती नहुँदा ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको बताए । मल्लका अनुसार एकातिर सवारी साधन धेरै अर्कातिर ट्राफिक बत्तीले काम नगर्दा व्यवस्थापनमा गाह्रो भएको छ ।

विश्वमा ट्राफिक बत्ती जडान भएको ४७ वर्षपछि नेपालमा ट्राफिक बत्तीको सुरुआत भए पनि यसले प्रभावकारी ढंगले काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या परेको हो । महाशाखाले ट्राफिक व्यवस्थापनका लागि तत्काल सुधार र उपत्यकामा ट्राफिक बत्तीको अवस्था अध्ययन गर्न २ मंसिरमा प्रहरी उपरीक्षक पोषराज पोखरेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

प्रतिक्रिया