३४ लाखलाई दादुरा र रुबेला खोप

काठमाडौं, १७ फागुन । बालबालिकालाई स्वस्थ्य एवं तन्दुरुस्त राख्न सञ्चालन गर्न लागिएको दादुरा रुबेला खोप अभियान सकिन लागेको छ । दादुरा रुबेला खोप अभियानअन्तर्गत ३४ लाख बालबालिकालाई खोप दिइने कार्यक्रम अन्तिम चरणमा पुगेको हो । २९ साउनबाट प्रारम्भ भएको अभियान ६८ जिल्लामा सफलतापूवर्क सम्पन्न भएको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

देशभर ४ चरणमा ९ महिनादेखि ५ वर्ष उमेरका बालबालिकालाई खोप दिइने कार्यक्रमअन्तर्गत अब चैतको पहिलो साताबाट अन्तिम चरणको कार्यक्रमअन्तर्गत उच्च हिमाली भेगका ७ जिल्लामा खोप अभियान सुरु गरिने बाल स्वास्थ्य महाशाखाका खोप शाखाप्रमुख मुकुन्दराज गौतमले जानकारी दिए । सरकारले खोपमार्फत दादुरा, रुबेला र केन्जेनिटल रुबेला सिन्ड्रम हुने संख्या घटाउन र यसबाट हुने मृत्युदर घटाउन अभियान चलाएको हो ।

गौतमका अनुसार अन्तिम चरणमा उच्च हिमाली भेगका हुम्ला, जुम्ला, मुगु, डोल्पा, मनाङ र मुस्ताङ र सोलुखुम्बु रहेका छन् । नेपालमा ५ वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारणको रूपमा रहेको दादुरा धेरै छिटो सर्ने संक्रमण रोग भएकाले खोपलाई अभियानका रूपमा सञ्चालन गरिएको हो ।

नेपालले सन् २००४÷२००५ मा दादुरा खोप अभियान सञ्चालन गर्न थालेको हो । विश्व स्वास्थ्य संगठनले ०२० सम्ममा दादुरा रोगको निवारण र रुबेला रोगको नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरेको छ भने नेपालले भने लक्ष्य सन् ०१९ सम्म पूरा गर्ने लक्ष्य लिएको छ ।

अभियानको पहिलो चरणमा गत वैशाखको भूकम्पबाट अति प्रभावित १४ जिल्ला गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं र ओखलढुंगा जिल्लामा खोप अभियान सञ्चालन गरिएको थियो । दोस्रो चरणअन्तर्गत ३३ जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, कैलाली, डोटी, बझाङ, बाजुरा, अछाम, कालीकोट, दैलेख, सुर्खेत, बर्दिया, बाँके, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, प्युठान, दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्यादी जिल्लामा सञ्चालन गरिएको थियो ।

त्यसैगरी तेस्रो चरणमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, खोटाङ, उदयपुर, सिरहा, सप्तरी, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङ जिल्ला अभियानमा सञ्चालन गरिएको थियो । अभियानको क्रममा नियमित खोप कार्यक्रमलाई सुदृढीकरण गरी खोपको उमभोग दर वृद्धि गर्ने उद्देश्य रहेको गौतमले बताए ।

सरकारले आगामी वैशाखको पहिलो साताबाट १ वर्षदेखि १५ वर्ष उमेर समूहका ४५ लाख व्यक्तिलाई जापानिज इन्सेफ्लाइटिस् खोप पनि लगाउने अभियान सञ्चालन गर्न लागेको छ । गौतमका अनुसार हिमाली र पहाडी गरी ४७ जिल्लामा यो अभियान सुरु गर्न लागेको हो ।

बाँकी जिल्लामा नियमित खोप कार्यक्रममा नै खोप दिइने कार्यक्रम रहेको उनले जानकारी दिए । खोप दिइने झापा, मोरङ र सुनसरी जिल्लामा भने थप कार्यक्रमअन्तर्गत खोप दिइने महाशाखाले जनाएको छ ।

कार्यक्रम १ महिनासम्म सञ्चालन हुनेछ । गौतमले रोगको सम्भावनालाई रोक्न हिमाली र पहाडी जिल्लामा पनि खोप सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया