भीमार्जुनको “एउटा जीवन” सार्वजनिक

vimarjun copyकाठमाडौं, १६ फागुन । गीतकार अर्जुन मिलन उर्फ संविधान एवं कानुनविद तथा अधिवक्ता भीमार्जुन आचार्यले ‘एउटा जीवन’ नामक गीति एल्बम बजारमा ल्याएका छन् । राजधानीमा आयोजित एक समारोहबीच आचार्यको तेस्रो गीति एल्बमलाई गीतसंगीत तथा फिल्मक्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरूले लोकार्पण गरेका थिए । समारोहमा २ गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

गीत लेखनमा ‘अर्जुन मिलन’ नामले चिनिने भीमार्जुनले आफू लेखन, अध्यापन, कानुनी सेवा, पुस्तक सबै लेख्ने तर एउटै गीतले सय वटा लेख बराबरको काम गर्ने बताए । उनले भने, ‘यी सबै मेरो प्यासन हुन् । तर, म बहस गर्दा गीतलाई जोड्दिनँ, संगीत कर्म गर्दा बहसलाई बिर्सन्छु । मलाई गीतसंगीतले लोभ र पापबाट मुक्त गर्न सहयोग गरेको छ ।’

‘हिमालका कुरा ग¥यौँ’, ‘म त भाग्यको कमारो हूँ’, ‘सबैलाई त देशबाट’, ‘मौनताको सहरमा’ जस्ता गीतबाट चिनिएका आचार्यको शनिबार विमोचित एल्बममा ‘ढिँडो भए हुन्छ मलाई’, ‘जित्नेलाई मीठो जीवन’, ‘मानिसको जिन्दगी यो’, ‘कति धेरै टाढा छौ तिमी’, ‘शिशिरको बतासमा’, ‘जीवन हो लामो बाटो’ र ‘एउटा जीवन हूँ म’ बोलका ७ गीत संग्रहित छन् । एल्बममा क्षेत्रप्रताप अधिकारी, किरण खरेल, श्रीपुरुष ढकाल, रमेश क्षितिज, कालीप्रसाद रिजाल र अर्जुन मिलनको शब्द, नारायण रायमाझी, टीका भण्डारी, सन्तोष श्रेष्ठ, सागर अधिकारी, बिबी अनुरागी र अर्जुन मिलनको संगीत  रहेको छ ।

‘ढिँडो भए हुन्छ मलाई’ र ‘जित्नेलाई मीठो जीवन’ बोलका २ गीतका म्युजिक भिडियोमा हरिहर शर्मा र शकुन्तला शर्मा तथा कृष्ण मल्ल र गौरी मल्लले अभिनय गरेका छन् । भिडियोलाई प्रेम बानियाँले निर्देशन गरेका हुन् । आचार्यले यसअघि ‘मौनताको सहर’ र सजिलो हुँदैन जीवन’ नामक २ एल्बम बजारमा ल्याएका थिए ।

प्रतिक्रिया