यिनले राष्ट्रको सम्मान पाउलान् ?

Dineshneupane-and-Santosh-rana copyकाठमाडौं, १५ फागुन । बिहीबार कालिकोटमा भएको एयर काष्ठमण्डपको जहाज दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको शव शनिबार शिक्षण अस्पताल काठमाडौं ल्याइयो । हेलिकप्टरबाट त्रिभुवन विमानस्थलसम्म ल्याइएका उनीहरूको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको हो । आफ्नो ज्यान गुमाएर यात्रुको ज्यान बचाएका चालकद्वयप्रति मृत्युपर्यन्त देशविदेशका नेपालीले सम्मान व्यक्त गरिरहेका छन् ।

शिक्षण अस्पतालमा छोराको शव बोकेको एम्बुलेन्स रोकिन नपाउँदै को–पाइलट सन्तोष रानाकी आमा यमकुमारीको भक्कानो छुट्यो । एम्बुलेन्सभित्रै छिरेर छोराको शव समातेर यमकुमारी डाँको छोडेर रुँदा माहोल शोकमा डुब्यो । केहीबेरमै यमकुमारी छोराको शवको आडैमा अचेत भएर ढलिन् ।

छोरा गुमाएको पीडामाथि पूर्वमन्त्री एवं एमाले नेता दलबहादुर रानालाई अचेत पत्नी सम्हाल्ने दोहोरो भार थपियो । पूर्वमन्त्री रानाको हाउभाउले संकेत गर्दै थियो उनलाई आफैँ सम्हालिन कति हम्मे परेको होला । त्यहाँ जुटेका अफन्तले ढलेकी आमालाई छोराको शव बोकेकै एम्बुलेन्समा राखेर अस्पताल दौडाए ।

शिक्षण अस्पतालमा पाइलट दिनेश न्यौपानेका परिवारको अवस्था उस्तै थियो । न्यौपानेका परिवारजन र आफन्तको रुवाईले अस्पतालको आँगन शोकमग्न बन्यो ।

मृतक पाइलटद्वयका परिवार र आफन्तलाई सान्त्वना दिने त्यहाँ थुप्रै सर्वसाधारण थिए । उनीहरू भनिरहेका थिए, ‘आफूलाई सम्हाल्नुस्, यस्ता बहादुर सपुत सबैको भाग्यमा हुँदैन ।’ अस्पतालको आँगामा चालकद्वयप्रति सम्मानका स्वर सुनिन्थ्यो, ‘आफ्नो प्राण त्यागेर यात्रु बचाउने यस्ता पाइलटलाई सरकारले राष्ट्रिय सम्मान दिनुपर्छ ।’

प्रतिक्रिया