आर्मीलाई उपाधि

volleyball army copyकाठमाडौं, १४ फागुन । आयोजक त्रिभुवन आर्मी क्लबको ए टिमले प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

शुक्रबार भएको खेलमा अर्काे विभागीय क्लब नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । आर्मीकै बी टिमले तेस्रो स्थान हात पा¥यो । आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–१३ ले जित्यो । सेझो सेटमा जित्न निर्णायक बनेको तेस्रो सेट पनि आर्मीले २५–२१ ले आफ्नो पक्षमा पार्दै उपाधि चुम्यो ।

जितसँगै आर्मीले ३ लाख नगद प्राप्त ग¥यो । उपविजेता बनेको पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो । तेस्रो बनेको आर्मीको बी टिमले ७५ हजार पायो । आर्मीका धनबहादुर भट्ट प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यस्तै आर्मीकै मानबहादुर श्रेष्ठ उत्कृष्ट स्पाइकर, आर्मीकै ईश्वर थापा, डिफेन्डर, आर्मीकै भैरव बम ब्लकर घोषित भए । यस्तै पुलिसका एम बहादुर राना उत्कृष्ट लिफ्टर तथा आर्मीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही १०–१० हजार रुपैययाँ प्राप्त गरे । सर्वाेत्कृष्ट बनेको आर्मीका धनबहादुर भट्टले १ थान मोटरसाइकल प्राप्त गरे । विजयी खेलाडीहरूलाई प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल ओलम्पिक कमिटीका अधयक्ष जीवनराम श्रेष्ठ, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए ।

जितपछि आर्मी क्लबका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले राम्रो सुरुआत भएको प्रतिक्रिया दिए । आर्मीको ब्लक र स्पाइकमा राम्रो देखिँदा विपक्षी टिमको भने सेट नमिलेको जस्तो देखिँदा अनुभवी पुलिसविरुद्ध जित निकाल्न सकेको बताए । खेल बराबरीकै भए पनि आर्मीले फिजिकल र टेक्निकलमा राम्रो देखिएको पनि उनले बताए । पुलिसका प्रशिक्षक सरोज श्रेष्ठले ओपन स्पाइकर घाइते हुँदा टिमले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । पुलिसको अन्य ४ खेलाडीहरू घाइते हुँदा र नयाँ खेलाडीलाई मौका दिँदा खेल झनै बिग्रिएको उनले बताए । उनले आर्मीविरुद्ध पराजय भोगे पनि पुलिसको गेम खस्की नसकेको प्रतिक्रिया दिए । समापनका अवसरमा नेपाली राष्ट्रिय टिमका गोलरक्षक विकेश कुथुलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया