लघुकथा भिखारी

narayan tiwari copyमलाई इच्छा नहुँदानहुँदै पनि श्रीमतीले तानेर लगी । साँच्चै मलाई मन्दिर र भगवान कुनैप्रति पनि लगाव थिएन । मेरी श्रीमती भने धर्मप्रति सारै अनुरक्त थिई । घर परिवारको अभाव, दुःख, शोक, सन्ताप, रोगव्याध सबै भगवान्ले हरण गरिदिने हुन् र सुख, सम्पत्ति, यश, समृद्धि र परिवारको हाँसो सबै तथास्तु प्रभुले नै गरिदिने हुन् भन्ने कुरामा ऊ ढुक्क थिई ।

‘भगवान्ले केही गर्दैनन्, जम्मै गर्ने हाम्ले नै हो’ भनेर जति तर्क, प्रमाण पेस गरे पनि ऊ एउटा कानले सुन्थी, अर्को कानले उडाउँथी । र, उल्टै ‘मेरो बूढो अबुझ छ भगवान्, यिनलाई माफ गर’ भन्दै जबर्जस्ती भगवान्का मूर्तिमा ढोग्न लगाउँथी । म हारेर उसको मन राख्न ढोगिदिन्थेँ, यदाकदा मन्दिर गइदिन्थेँ । ऊ मलाई मुर्ख ठान्दथी र म उसलाई मुर्ख ठान्दथेँ । ‘मुर्खदेखि दैव डरे’ सोच्दै मैले मन्दिर हातामा प्रवेश गरेँ । उसले मेरो हात छोडेकी थिइनँ । मानौँ हात छोडिदिए म फुत्किएर कुलेलम ठोक्नेछु ।

मन्दिर हातामा लहरै माग्नेहरू बसेका थिए । मलाई यी माग्नेहरूको याचनाले द्रवित बनायो र खल्तीबाट केही पैसा झोरझार गरी उनीहरूलाई चढाइदिएँ ।

श्रीमतीले झन् मलाई घिसारूँला जत्तिकै गरी, मानौँ उसलाई लागिरहेको थियो, माग्नेहरूतिर धेरै हेमखेम गर्ने मौका यी बूढालाई प्रदान गरे, यिनले आफूसँग भएको सबै माग्नेलाई दिनेछन् । पैसा सिद्धिएपछि लगाएको स्वीटर नै पनि खोलेर दिनेछन् ।

‘ए पखन ! विचरा…!’ म भन्दैथिएँ ।

‘को विचरा ? हामी पनि विचरा ! भरे तरकारी छैन, त्यो भएको खुद्रा पैसाले त तरकारीको भरेको छाक टर्छ ! हिँड्नुस् छिटो…।’ मेरी श्रीमतीले मलाई घिस्याउँदै लगिछोडी…।

मन्दिरभित्र पुगेर देवीका मूर्तिमा ‘माथा’ टेक्न लगाई । मैले जसोजसो भन्छे, उसैउसै गरिदिँदै गएँ ।

उसलाई धेरै रिस उठाउनु पनि ठीक थिएन । किनभने खान दिने अन्नपूर्णादेवी उही थिई । अभावको तत्काल प्रभाव उसैमा पर्ने गरे पनि ऊ विचलित हुने गर्दैन थिई । यसअर्थमा म उसको प्रशंसक पनि थिएँ । यो धर्म, भगवान् केही नमाने पनि उसको चित्त नदुखाउन पनि म उसले भनेका कुरा प्रायः मानिदिने गर्दथेँ ।

मन्दिरबाट फर्किंदै गर्दा तिनै माग्नेहरूका झुण्डमा मेरा कदम फेरि मत्थर हुन थाले । श्रीमतीले मलाई नछाडी फेरि घिसारी । अचानक मेरा ओठ मुस्कुराए । श्रीमतीले घुरेर हेरी र सोधी, ‘किन पागलभैmँ हाँस्नुभएको ?’

‘भनुँ किन हाँसेको ? तिमी ऊ त्यही माग्ने भिखारी जस्तै माग्ने भएकीले हाँसेको…।’ ऊ बोलिन, ट्वाल्ल परिरही । मैले नै फेरि थपेँ, ‘ती माग्नेहरू मान्छेसित माग्दछन् र तिमी ढुंगासित माग्दछ्यौ … ! दुवै भिखारी, हा..हा..हा…!’ साँच्चै म पागललेभैmँ जोडजोडले ठहाका लगाएर हाँसेँ ।

‘कमसेकम, यी भिखारीले त मानिसबाट केही पाउँछन्, तिमीले ती मूर्तिहरूबाट के पाउँछ्यौ हँ … ? के पाउँछ्यौ … ?’ यसपल्ट मेरो स्वर गंभीर भएको थियो र काँपिरहेको थियो । अनायासै श्रीमतीको हातबाट मेरो हात छुटेको थियो । उसको अनुहार पनि एकतमासको भएको थियो । मानौँ त्यहाँ कालो मैलो भएर मेघ उठेको छ र अब केही बेरमै घनघोर वर्षा हुनेछ … !

प्रतिक्रिया