काठमाडौं, १२ फागुन । खाद्य संस्थानले उपत्यकामा विभिन्न रुटहरू तय गर्दै बेच्न थालेको सस्तो खाद्यान्नमा सर्वसाधारणको आकर्षण बढेको छ ।
संस्थानले उपत्यकामा ६ वटा रुट बनाएर बारअनुसार ती रुटनजिकका सर्वसाधारणलाई दाल र चामल बिक्री गरिरहेको छ । सर्वसाधारणले आफ्नो रुट हेरेर नजिकको चोकमा पुगेर संस्थानको दाल चामल किन्न सक्नेछन् । प्रत्येक रुटमा हप्तामा ३ दिन घुम्ती सेवा पसल सञ्चालनमा रहेको छ ।
घुम्ती सेवामा संस्थानले ३ वटा ट्रक प्रयोग गरेको छ । खुद्रा बजारमा भन्दा संस्थानको चामलमा प्रतिकेजी ८ देखि १० रूपैयाँसम्म सस्तो पाइने गर्दछ । संस्थानले घुम्ती सेवामार्फत बिक्री गरेको दाल, चामल, फापर, सिमी र गहुँको मूल्य सूचीमा मकवानपुर चामल प्रति केजी ४१, मध्यम चामल ४३, सोना मन्सुली चामल ४५, गोरखनाथ चामल ५२, जिरा मसिनो चामल ५८, बासमति चामल ९९, गहुँ ३३ र २५, उसिना सोना मन्सुली ४६, कर्णालीको सिमी गेडा १ सय ५०, कर्णालीको फापर १ सय १० रुपैयाँ रहेको छ ।
सुरुमा परीक्षणस्वरूप १ महिनासम्म अभियान चलाइएको संस्थानले जनाएको छ । १९ माघदेखि ३ वटा ट्रकमार्फत यो सेवा सञ्चालन गरिएको हो । नाकाबन्दीको अभाव देखाउँदै बजारमा दाल चामललगायत दैनिक उपभोग्य सामानमा व्यापारीले चर्को मूल्य असुलेपछि संस्थानले यस्तो सहजता प्रदान गरेको हो । खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीका अनुसार १ महिनाको परीक्षण अवधिमा सर्वसाधारणको आकर्षण उल्लेख्य रहेकाले निरन्तरता दिने सम्बन्धमा संस्थानमा छलफल हुनेछ ।
‘नाकाबन्दीको असरले सर्वसाधारणलाई चर्को मूल्य तिर्न नपरोस् र व्यापारीको मनलाग्दो मूल्य नियन्त्रण गर्नका लागि संस्थानले यो अभियान थालेको हो,’ कार्कीले भने, ‘१ महिनाको अवधिपछि समीक्षा गरी पुनः यसैगरी वा विभिन्न स्थानमा डिलर राखेर खाद्यान्न बिक्री गर्ने भन्ने सम्बन्धमा निर्णय हुन्छ ।’
सर्वसाधारणले मात्रै नभई व्यापारीहरूले पनि संस्थानको खाद्यान्न खरिद गर्ने गरेका छन् । अहिले सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको बताउँदै उनले एउटा ट्रकमार्फत दैनिक ५० देखि ८० हजार रूपैयाँको खाद्यान्न बिक्री हुने गरेको बताए ।
‘संस्थानको गोदाममा खाद्यान्न थन्किरहने र सर्वसाधारण महँगीको मारमा परिरहने अवस्था नहोस्, यसका लागि संस्थानले सर्वसाधारणको पहुँच पुग्ने स्थानमा खाद्यान्न पु¥याउनु जरुरी छ’, उनले भने । संस्थानसँग हाल १ लाख ७७ हजार क्विन्टल चामल मौज्दातमा रहेको छ ।
रुट नं. १ ः शान्तिनगर, एयरपोर्ट, गैह्रीगाउँ, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, ठिमी, सल्लाघारी, सूर्यविनायक, जगाति र आपसपासको एरियालाई राखिएको छ । यस क्षेत्रमा आइतबार, बिहीबार र शुक्रबारगरी हप्तामा ३ दिन घुम्ती पसल सञ्चालनमा छ ।
रुट नं. २ ः नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, मित्रपार्क, गुह्वेश्वरी, जोरपाटी, दक्षिणढोका, बौद्ध, महाँकाल, चाबहिल, सिफल र ज्ञानेश्वर क्षेत्रमा आइतबार, सोमबार र शुक्रबार हप्तामा ३ दिन घुम्ती सेवा पसल सञ्चालनमा रहेको छ ।
रुट नं. ३ ः कलंकी, स्युचाटार, सीतापाइला, स्वयम्भू, वनस्थली, बालाजु बाइपास, नेपालटार, बानियाँटार, ग्रिनल्यान्ड, टोखा, सामाखुसी चोक, रानीबारी चौकी, बसुन्धारा र महाराजगञ्ज क्षेत्रलाई यस रुटमा राखिएको छ । यो रुटमा आइतबार, सोमबार र मंगलबार गरी हप्तामा ३ दिन घुम्ती पसल सञ्चालनमा छ ।
रुट नं. ४ ः कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, हरिसिद्धी, ग्वार्को, बालकुमारी, इमाडोल, टिकाथली, लोकन्थली, जडिबुटी तथा पेप्सिकोला क्षेत्र यो रुटअन्तर्गत रहेका छन् । यो रुटमा सोमबार, मंगलबार र बुधबार गरी सातामा ३ दिन घुम्ती पसल सञ्चालनमा छ ।
रुट नं. ५ ः कालिमाटी, बल्खु, कीर्तिपुर र आसपासको एरियालाई लिइएको छ । यो रुटमा मंगलबार, बुधबार र बिहीबार घुम्ती पसल सञ्चालनमा रहेको छ ।
रुट नं. ६ ः लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बाँसबारी, हात्तीगौडा, गणेशचोक, चपली, खड्का भद्रकाली र बुढानीलकण्ठ एरिया रुट नं. ६ मा रहेको छ । यो रुटमा बुधबार, बिहीबार र शुक्रबार घुम्ती पसल सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया