मूल्यांकनका आधारमा बढुवा

काठमाडौं, ११ फागुन ।एमाओवादीले पार्टी कार्यकर्ताहरूको मूल्यांकनको आधार तय गर्न फागुनको अन्तिममा कार्यशाला आयोजना गर्ने भएको छ । सो पार्टीकोे सोमबार सम्पन्न स्थायी समिति बैठकले यही २५ र २६ फागुनमा काठमाडौंमा दुईदिने कार्यशाला आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यकर्ताको बढुवा गर्नुपर्दा वा कुनै जिम्मेवारी दिनुपर्दा क्षमताको भन्दा पनि नातावाद, कृपावाद र चाकरीबाज हाबी हुने गरेको भन्दै आलोचना खेप्दै आएकोे एमाओवादीले पहिलोपटक कार्यशालाबाट नीति निर्माण गर्न लागेको हो ।

सो कार्यशालाले पार्टी कार्यकर्ताहरूको मूल्यांकन, पदोन्नति, कार्यविन्यासलगायतका विषयमा ठोस नीति निर्माण गर्ने एमाओवादीले जनाएको छ । ‘अब हामीलाई पार्टी पुनर्निर्माणको निम्ति कार्यकर्ता नीति जरुरी छ, त्यो नीति सम्पूर्ण जिल्लाका गाउँ, एरियासम्मका कार्यकर्ताहरूलाई जानकारी हुनुपर्दछ,’ एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौंका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने, ‘कार्यशालाले पारदर्शी तरिकाले क्रान्तिकारी स्पिरिटमा पार्टीलाई अघि बढाउने विश्वास हामीले लिएका छौँ ।’ एमाओवादीले आफ्ना नेताहरूलाई आफूखुसी गाडी प्रयोग गर्न नदिने निर्णयसमेत गरेको छ । नेताहरू सुविधाभोगी भएको भनेर कार्यकर्ताहरूले आलोचना गरेपछि यसअघि पनि एमाओवादीले नेताहरूबाट गाडी फिर्ता गराएको थियो । तर, सो निर्णय कार्यान्वयन नभइरहेका बेला हालैको स्थायी समितिको बैठकले पुनः सोही निर्णय दोहो¥याएको छ । सोमबार सम्पन्न स्थायी समितिको बैठकले पार्टीको संस्थागत निर्णयको आधारमा मात्रै नेताहरूलाई गाडी प्रयोग गर्न दिने निर्णय गरेको छ ।

‘मन्त्री भएकाहरू पनि सबैले गाडीहरू पहिले पार्टी केन्द्रमा बुझाउनुपर्नेछ । अनि पार्टीले आवश्यकता ठानेर संस्थागत निर्णय गरेपछि मात्रै प्रयोग गर्न पाइनेछ,’ कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भने, ‘हेर्दा यो निर्णय सामान्य देखिन्छ तर पार्टी पुनर्निर्माणका निमित्त महत्वपूर्ण हो । यसले के सन्देश दिएको छ भने पार्टी हेडक्वाटर, स्थायी समिति र केन्द्रीय समिति अब पुरानो ठाउँमा छैन ।’ विगतका गल्ती कमजोरी सच्याउँदै पार्टीलाई गतिशील बनाउने, जीवन भर्ने र पार्टीमा देखापरेको वर्ग विभेद अन्त्य गर्ने दिशामा आफूहरू रहेको उनले जानकारी दिए । एमाओवादीले कार्यकर्ताहरूलाई बैचारिकरूपमा स्पष्ट पार्ने उद्देश्यले पार्टी मुखपत्र प्रकाशित गर्ने तयारी समेत गरेको छ । ‘वैज्ञानिक समाजवाद’ नामक मुखपत्र प्रकाशित गर्न लागिएको हो र यो प्रेसमा लैजाने अन्तिम तयारी भइरहेको छ ।

वैचारिक स्पष्टताका लागि र पार्टीको कार्यदिशा तथा कार्ययोजनाबारे बुझ्न कार्यकर्ताहरूलाई सजिलो होस् भन्नका लागि मुखपत्र प्रकाशन गर्न लागिएको एमाओवादीले जनाएको छ ।

विगतमा माओवादीको मुखपत्रका रूपमा प्रकाशित भएका पत्रिकाहरू बन्द भए पनि ‘वैज्ञानिक समाजवाद’लाई नियमित रूपमा प्रकाशित गर्ने एमाओवादीको योजना छ । यसअघि एमाओवादीको मुखपत्रको रूपमा जनादेश साप्ताहिक छापिन्थ्यो । तर, जनादेशको प्रकाशन बन्द भएको छ । एमाओवादी शान्ति प्रक्रियामा आइसकेपछि जनदिशा दैनिक पनि प्रकाशित भएको थियो । वैद्य माओवादीसँगको संघर्षका कारण सो पत्रिका बन्द भएपछि दाहालनिकट पत्रकारहरूले ‘समाचार दैनिक’ नामक पत्रिका प्रकाशित गरेका थिए । तर, त्यो पनि बन्द भएपछि हाल माओवादीको मुखपत्रका रूपमा कुनै पनि पत्रिका प्रकाशनमा छैनन् ।

प्रतिक्रिया