नबिना अखिलको अध्यक्ष बन्ने दोस्रो महिला

nabinaकाठमाडौं, ९ फागुन । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औँ सम्मेलनबाट अध्यक्षमा नविना लामा निर्वाचित भएकी छन् । लामाले आफ्ना प्रतिद्वन्द्वी दिपक गौतमलाई २ सय १६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । कुल मत १ हजार ५ सय ९७ मध्ये खसेको १ हजार ५ सय १९ मध्ये लामाले ८ सय ६५ प्राप्त गरिन भने गौतमले ६ सय ४९ मत प्राप्त गरेका थिए । यससँगै लामा अनेरास्ववियुको अध्यक्ष बन्ने दोस्रो महिला बनेकी छन् । यसअघि रामकुमारी झाँक्री अखिलको अध्यक्ष बनेकी थिइन् ।

यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए । उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे । महासचिवमा निर्वाचित महरले ८ सय ३१ मत प्राप्त गर्दा हुसेनले ६ सय ६० मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा महेश बर्तौला ७ सय ८६ ,रश्मि आचार्य ७ सय ४२, शैलेश लामा ६ सय ८२ र सुनिता बराल ७ सय २१ मतका साथ निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित सबै लामाकै प्यानलका हुन् ।

यसैगरी ७ सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खड्का, सुदेश पराजुली, आरती लामा, वासिम आलम र अमृत बुढा निर्वाचित भएका छन् । सचिवमा निर्वाचित आरती, आलम र पराजुलीबाहेक सबै लामा प्यानलकै हुन् । यसैगरी कोषाध्यक्षमा लामा प्यानलकै झपिन्द्र खत्री निर्वाचित भएका छन् । यस्तै अनुशासन आयोगको अध्यक्षमा नीशा अधिकारी निर्वाचित भइन् भने लेखा आयोगमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन् ।

यसैगरी उपत्यकाबाट केन्द्रीय कमिटी सदस्यहरुमा अशोक थापा, तपेन्द्र जंग शाही, उदेश राई, भुपेन्द्र शाह, दीपेस प्रसाई, ज्ञान भक्त ढंगोल, बसन्त न्यौपाने, पकंज भण्डारी, गोविन्द श्रेष्ठ, केशरा ज्ञवाली, अञ्जु गौतम, नम्रता महर्जन र विनिता काफ्ले शनिबार नै निर्वाचित भएका थिए ।

अध्यक्ष लामा २० वर्षदेखि अखिलको विद्यार्थी राजनीतिमा छिन् । अनेरास्ववियुको १४ औँ, १५ औँ र १६ औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य निर्वाचित भएकी उनले १७ औँ सम्मेलनबाट केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी थिइन् । १८ औँ सम्मेलनमा सचिवालय सदस्य निर्वाचित भएकी नविनाले महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् ।

त्यस्तै १९ औँ राष्ट्रिय सम्मेलनमा पनि सचिवालय सदस्यमै निर्वाचित भएपछि प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् । जनकपुरमा भएको २० औँ राष्ट्रिय सम्मेलनबाट उनी सचिवालय सदस्यबाट उपाध्यक्षको जिम्मेवारीमा पुगिन् । काठमाडौंमा सम्पन्न २१ औँ सम्मेलनबाट महासचिवको उम्मेदवार बनेकी थिइन् ।

प्रतिक्रिया