‘अन टेस्ट’ लेखेर यात्रु बोक्न नपाइने

काठमाडौं, ५ फागुन । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत ‘अन टेस्ट’ अर्थात ‘परीक्षणमा’ रहेका सवारी साधनले यात्रु बोकेर हिँड्ने क्रम बढेको छ । सार्वजनिक सवारी साधनमा तोकिएभन्दा बढी भाडा लिए÷नलिएको अनुगमन गर्न निस्किएको यातायात व्यवस्था विभागको अनुगमन समूहले ‘अन टेस्ट’ लेखेर चलाइएका २० वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको छ ।

गाडी आयात गर्ने कम्पनीले हरियो प्लेटमा ‘अन सेस्ट’ वा ‘परीक्षणमा’ लेखेर चलाउन पाउँछन् तर उनीहरूले भन्सारबाट सवारी भित्र्याएको १५ दिनभित्र सवारी दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । ‘महिनौँसम्म यस्ता सवारी दर्ता नभएको पाइयो, परीक्षणमा लेखिएका सवारीले यात्रु बोक्न नपाउने कानुनी व्यवस्था भए पनि योसमेत उल्लंघन भएको अनुगमनमा भेटियो’, अनुगमन शाखा प्रमुख एवं विभागका प्रवक्ता वसन्त अधिकारीले भने ।

यस्ता २० वटा चारपांग्रे सवारी नियन्त्रणमा लिई रु पाँच हजारका दरले कारबाही गरिएको विभागले जनाएको छ । भन्सारबाट नयाँ सवारी भित्र्याउँदा ‘परीक्षणमा’ लेख्ने नियम उल्लंघन गर्दै उपत्यकामा नियमित सञ्चालन भइरहने मोटरसाइकलसमेत ‘परीक्षणमा’ लेखेर कुद्न थालेका छन् ।

यस्ता सवारीले सडकमा दुर्घटना गराउँदा नम्बर प्लेटको अभावमा समात्न सकिँदैन । भैरहवा र वीरगञ्जबाट प्रवेश गर्ने नयाँ सवारीले परीक्षणमा लेखी त्यहीँदेखि यात्रु बोकेर आउने गरेकाले यस्ता सवारीलाई समात्न ट्राफिक प्रहरीलाई विभागले निर्देशन दिएको छ ।

विभागका अनुसार हालै दर्ता खोलेको एक हजार ८५० कोटामा आएका केही ट्याक्सीले समेत ‘परीक्षणमा’ लेखी यात्रु बोकिरहेका छन् । नयाँ कोटाका ट्याक्सीमध्ये ६५० व्यवसायीलाई, ७०० सर्वसाधारणलाई र ५०० स्वरोजगार मजदुरलाई दर्ता खोलिएको थियो । ‘परीक्षणमा’ लेखी यात्रु बोकी दुर्घटनामा परे यात्रुले तेस्रो समूह दुर्घटना बिमा पाउँदैनन् ।

प्रतिक्रिया