कुवेतमा नेपालीबीच झडप

काठमाडौं, ५ फागुन । खाडी मुलुक कुवेतमा अब नेपालीहरूले सार्वजनिक कार्यक्रम आयोजना गर्न नपाउने भएको छ । कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल उपस्थित कार्यक्रममा दोहोरो झडप भएपछि कुवेत सरकारले नेपाली दूतावासलाई आग्रह गर्दै यस्तो निर्णय सुनाएको हो ।

कुवेतस्थित नेपाली दुतावासले बुधबार एक विज्ञप्ती प्रकाशन गर्दै अब नेपालीहरूले सार्वजनिक स्थलमा तथा सभा समारोहको आयोजना गर्न रोक लगाएको जनाएको छ । कुवेतको फिनटास वेडिङ हलमा भएको कार्यक्रममा सहभागी दुई समूहबीच एकाएक झडप भएपछि त्यहाँ घरेलु हतियारसमेत प्रहार भएको थियो । दोहोरो भिडन्त रोक्न कुवेत सरकारका प्रहरीले बल प्रयोग गरेको थियो ।

सूचनामा कार्यक्रमस्थलमा केही उच्श्रृंखल तत्वले घरेलु हतियारसहित सांघातिक हमला गरेकाले प्रमुख अतिथिका रूपमा सहभागी भएका महामहिम राजदूतसहित सहभागीमा आतंक र असुरक्षाको वातावरण बन्न गएको उल्लेख छ । दूतावासले विज्ञप्तिमा,‘यस घटनालाई दूतावासले अत्यन्त गम्भीर रूपमा लिएको छ ।’

विगतमा पनि विभिन्न कार्यक्रममा यस्तै घटना हुने गरेको र कुवेतको शान्ति सुरक्षामा खलल पुगेको भन्दै त्यहाँको सरकारले नेपाली कार्यक्रममाथि रोक लगाउन आग्रह गरेको दूतावासले जनाएको छ । कुवेत प्रशासनको आग्रहअनुसार नै दूतावासले आगामी दिनमा नेपाली समुदायलाई कुनै पनि कार्यक्रम आयोजना गर्न रोक लगाएको बताएको छ । ‘यस अनुरोधलाई अटेर वा बेवास्ता गरी कुनै कार्यक्रम आयोजना गरेमा र कुनै अवाञ्छित घटना घटेमा कुवेतको कानुनअनुसार आयोजक नै जिम्मेवार हुनुपर्ने छ,’ दूतावासले भनेको छ ।

यस्तो अवस्था आएमा दूतावासले कुनै पनि सहयोग गर्न नसक्ने स्पष्ट पार्दै भनेको छ, ‘यस विषयमा दूतावासले सम्बद्ध अन्तर्रा्ष्ट्रिय सन्धिबमोजिम कन्सुलर कार्यबाहेक अन्य केही पनि गर्न नमिल्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

2 copy

प्रतिक्रिया