प्रथम प्रधानसेनापति राष्ट्रिय भलिबल र म्याराथन हुने

काठमाडौं । नेपाल आर्मीको आयोजनामा प्रथम प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता र म्याराथन आयोजना हुने भएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा आर्मीले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता ९ फागुनदेखि १४ फागुनसम्म हुनेछन् ।

प्रतियोगितामा नेपाली सेनाको २ टिमसहित २ विभागीय र ५ विकास क्षेत्रका भलिबल टोलीहरू गरी कुल ९ टोलीको सहभागिता रहनेछ । सैनिक तालिम तथा खेलकुद केन्द्रको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा उपाधि विजेता टोलीले ३ लाख, दोस्रो हुनेले १ लाख ५० हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । आयोजकका अनुसार उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारस्वरूप पल्सर मोटरसाइकलसमेत प्रदान गरिनेछ ।

त्यस्तै आर्मीले सोही अवसरमा प्रथम प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष म्याराथन, हाफ म्याराथन, वाकाथनलगायतका विधाहरू समावेश गरिएको छ । प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया