अलैँची व्यवसायी महासंघको दोस्रो महाधिवेशन सुरु

Khotang copyखोटाङ, ३ फागुन । ‘कृषि वस्तुको पहिचान, हाम्रो साझा अभियान’ भन्ने नारासहित अलैँची व्यवसायीहरूको छाता संस्था नेपाल अलैँची व्यवसायी महासंघको दोस्रो महाधिवेशन खोटाङको हलेसीमा सुरु भएको छ । महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सोमबारबाट सुरु भएको हो ।

हलेसीस्थित होटल हलेसी भिलेजको सभाहलमा आयोजना गरिएको महासंघको अधिवेशन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य र विशिष्ट सदस्य भाष्कर राजकर्णीकारले उद्घाटन गरेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै हरेक जिल्लामा उत्पादित अलैँचीलाई प्याकेजिङ, लेबलिङ र बजारीकरणका विषयमा रणनीति तयार गर्दै सकिने अलैँची व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार घिमिरेले बताए । निर्वाचन नभए अधिवेशन मंगलबार समापन हुने आयोजकले जनाएको छ । अधिवेशनमा १३ जिल्लाका ५÷५ जना र संस्थापक केन्द्रीय समितिका गरी १ सय ५० प्रतिनिधिको सहभागिता रहेको छ ।

अधिवेशनमा सहभागिताका लागि खोटाङबाहेक ताप्लेजुङ, पाँचथर, इलाम, झापा, ते¥हथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, दोलखा, काभ्रे, गोरखा र लमजुङका अलैँची व्यवसायी हलेसीमा आइपुगेका छन् । द्वन्द्वका कारण उत्पादन भएका कृषि उपजलाई बजार पु¥याउने माध्यमको अभाव झेलीरहेका किसानको सहयोगका लागि ०६४ सालमा अलैँची व्यवसायी महासंघ गठन गरिएको हो । मुलुकका २२ भन्दा बढी जिल्लामा अलैँची खेती हुँदै आए पनि महासंघले हालसम्म १३ जिल्लामा मात्र आफ्नो शाखा विस्तार गर्न सफल भएको छ । अधिवेशनमा सहभागी अलैँची व्यवसायीले रोगको निदानमा सहयोग गर्न, सुकाउने भट्टी र संकलन केन्द्रको व्यवस्था गर्न तथा जथाभावी चन्दामाग्नेलाई नियन्त्रण गर्न राज्यले पहल गर्नुपर्नेमा जोड दिएका छन् । मसलादार बाली मानिने अलैँची विसं १८३० को दशकमा सिक्किमबाट बिरुवा ल्याएर इलामको जोगमाईमा खेती सुरु गरिएको मानिन्छ ।

झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको महासंघका ११ सयभन्दा बढी सदस्य तथा मूलुकभर १ लाख बढी अलैँची किसान छन् । आम्दानीका हिसाबले नेपालमा सबैभन्दा बढी मूल्य पर्ने र धेरै मात्रामा निर्यात हुने बालीकारूपमा रहेको अलैँची खेतीतर्फ किसानका आकर्षण बढ्दो रहेको छ ।

कार्यक्रममा महासंघका अलैँची व्यवसायी महासंघका सल्लाहकार सन्तोष खतिवडा, उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालु, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई, अलैँची व्यवसायी सिन्धुपाल्चोकका अध्यक्ष रेमश साउद, अलैँची व्यवसायीकातर्फबाट राजकुमार कार्कीलगायतले शुभकामना मन्तव्य दिएका छन् । अधिवेशन उद्घाटनअघि महासंघका पदाधिकारी एवं प्रतिनिधिलाई उद्योग वाणिज्य संघ र अलैंची व्यवसायी संघले स्वागत गरेका थिए ।

कार्यक्रमका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्यले देशको आर्थिक उन्नतिका लागि मुलुकका साना तथा मझौला व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । उनले उद्यमीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गर्ने गरिएका कारण असल कृषक बन्न चाहनेले पनि प्रगति गर्न नसेकको उनले बताए । ‘नेताले किसानको कुरा सुन्नै चाहँदैन, नेताहरूको दूरदृष्टि नभएकै कारण कृषिलगायत निजी क्षेत्रको अपेक्षित विकास हुन नसकेको हो ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य भाष्कर राजकर्णिकारले सरकारी उदासिनताका कारण निजी क्षेत्रको प्रगति हुन नसकेको बताए । उनले कृषि क्षेत्रमा लगानी नगरेसम्म देशको आर्थिकस्तर वृद्धि नहुने भन्दै भने, ‘यसप्रति सरकार गम्भीर हुनुपर्छ ।’

प्रतिक्रिया