उद्घाटन खुलामञ्चमा

काठमाडौं, २ फागुन । कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।

दलका पदाधिकारी, काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

‘यसअघि महाधिवेशनको उद्घाटन समारोह दशरथ रंगशालामा गर्ने भनिए पनि खुलामञ्चमा गर्न उचित हुने सुझाव आएपछि आइतबार निरीक्षण गरिएको छ । खुलामञ्च नै उद्घाटन लागि उपयुक्त छ भन्ने निष्कर्षमा पदाधिकारी पुग्नुभएको छ’, निरीक्षणपछि केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने ।

सभापति सुशील कोइरालाको २६ माघमा निधन भएपछि माघ मसान्तसम्म जिल्ला अधिवेशनलगायत महाधिवेशन तयारीका काम स्थगन गरिएको थियो । कांग्रेस महाधिवेशनको तयारीका विषयमा सभापति कोइरालाको निधनपछि आइतबार पहिलोपटक औपचारिक बैठक बसेको थियो । बैठकमा महाधिवेशनको व्यवस्थापन, निर्वाचन, स्वयम्सेवकलगायत विषयमा छलफल भएको र महाधिवेशन उद्घाटनको १ साता अगावै सबै तयारी सम्पन्न गर्ने गरी काम गरिने निर्णयसमेत भएको केन्द्रीय सदस्य जोशीले जानकारी दिए । सभापति कोइरालाको आकस्मिक निधनले केही दिन महाधिवेशन तयारीका काममा बाधा पुगे पनि २० फागुनको उद्घाटन गर्न भ्याउने गरी काम अघि बढेको कांग्रेसले जनाएको छ ।

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन सबैको सहमतिमा सम्पन्न हुने विश्वास व्यक्त गरे । आइतबारको बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका विषयमा पनि सामान्य छलफल भएको छ ।

प्रतिक्रिया