मनपरी भाडा लिनेलाई कारबाही

public van copyकाठमाडौं, २ फागुन । यातायात व्यवस्था विभागले मनपरी भाडा असुल्ने सवारी साधनलाई कारबाही गर्न थालेको छ । विभागले २४ माघमा घटाएको भाडा यातायात व्यवसायीले लागू नगरपछि कारबाही अगाडि बढाएको बताइएको छ ।

नेपाल आयल निगमले ४ माघमा पेट्रोलमा ५ र डिजेल एवं मट्टितेलमा ६ रूपैयाँ घटाएकोमा विभागले भाडा समायोजन गर्न आनाकानी गर्दै आएको थियो । २१ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएपछि मात्र विभागले २३ माघमा भाडा समायोजन गरेको थियो । समायोजनको १ हप्तासम्म पनि व्यवसायीले यो भाडादर लागू नगरेपछि विभागले विशेष कार्ययोजनासहित कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

यात्रुवाहकमा २ दशमलव ५३, तराईका मालवाहकमा ३ दशमलव ७६, पहाडका मालवाहकमा ३ दशमलव २८, ट्याक्सीमा १ दशमलव ६५ प्रतिशत भाडा घटाउने निर्णय विभागले गरेको थियो । सो निर्णयपछि छोटो दुरीमा भाडाको खास असर नपरे पनि लामो दुरीमा केही भाडा घटेको छ । नयाँ भाडादरअनुसार ४ किमीसम्म १३ रूपैयाँ ०७ पैसा भए पनि १३ रूपैयाँ मात्र कायम भएको छ । तर, व्यवसायीले १५ रूपैयाँ नै उठाउने गरेका छन् ।

उपत्यकामा २५ किलोमिटरसम्मको दुरीमा २४ भदौमा घटाइएको भाडादरअनुसार २५ रूपैयाँ थियो भने अहिले १ रूपैयाँ घटेर २४ भएको छ । तर, व्यवसायीले ३५ रूपैयाँसम्म उठाइरहेको उपभोक्ता मञ्च नेपालका अध्यक्ष हरेन्द्रबहादुर श्रेष्ठ बताउँछन् । ‘अनुगमन र कारबाही नगरिँदा व्यवसायीमा स्वेच्छाचारिता बढेको छ’ उनले भने । २४ भदौमा तोकिएको भाडादर लागू गर्ने क्रममा विभाग र ट्राफिक प्रहरीले सक्रियता देखाई तोकिएभन्दा १ रूपैयाँ बढी लिने सवारीलाई ५ हजारसम्म जरिवाना गर्दा स्वेच्छाचारिता कम भएको उनले बताए । ०७१ माघ २६ र पुस ९ गते विभागले घटाएको भाडादर पनि लागू भएको थिएन । २४ भदौमा घटाएको भाडादर लागू गर्ने क्रममा ७ असोजदेखि भारतको अघोषित नाकाबन्दी सुरु भएपछि बीचमै रोकिएको थियो । नाकाबन्दीका समयमा राज्यले सार्वजनिक यातायातलाई डिजेल उपलब्ध गराए पनि यात्रु झन् बढी ठगिएका विभागका प्रवक्ता एवं अनुगमन शाखा प्रमुख निर्देशक वसन्त अधिकारी बताउँछन् ।

सवारीका चालक र परिचालकको तजबीजमा मनपरी भाडा लिने र समितिले जरिवाना तिर्दा चालक परिचालकमा स्वेच्छाचारिता बढेकाले कारबाही सुरु गर्न बाध्य हुनुपरेको विभागले जनाएको छ । २४ माघमा सरकारले घटाएको भाडाअनुसार काठमाडौँ उपत्यकामा २५ किलोमिटरसम्मको दुरीमा अधिकतम २४ भन्दा बढी भाडा लिन नपाइने भनिए पनि साँखु रुटमा चल्ने साँखु बस व्यवसायी संघका सवारीले पुरानो बसपार्कबाट साँखुसम्मको १८ किलोमिटरको दुरीमा स्थानीय यात्रुसँगै ४० रूपैयाँसम्म भाडा असुलेको पीडित यात्रु रश्मिला श्रेष्ठ बताउँछिन् ।

साँखुको सालीनदीमा लाग्ने मेलामा आउने यात्रुसँग चालक र परिचालकले डिजेल कालाबजारियासँग किनेको भन्दै सय रूपैयाँसम्म पनि भाडा असुलेका छन् । २५ भदौपछि १ हप्तासम्म विभाग र ट्राफिक प्रहरीको सक्रियताले १५ लाख बढी राजस्व जरिवानाबाट उठाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया