राउटेको मासिक भत्ता बढ्छ : दाहाल

काठमाडौं, १ फागुन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अल्पसंख्यक राउटेको मासिक भत्ता बढाउन पहल गरिने बताएका छन् । अछामबाट आएको राउटेका प्रतिनिधिमण्डलसँग शनिबार बिहान आफ्नै निवास लाजिम्पाटमा कुरा गर्दै उनले मासिक भत्ता बढाउन आपूmले पहल गर्ने बताएका छन् ।

उनले राउटे समुदायलाई खसी पाल्ने, बालबच्चालाई विद्यालय पठाउने, मासिक भत्ताको व्यवस्था गर्ने, सुरक्षा दिने, स्वास्थ्य सेवाका लागि घुम्ती स्वास्थ्य टोलीको व्यवस्था गर्नेलगायत सुधार आवश्यक रहेकाले सो विषयमा सरकारमा पहल गरिने बताएको उनका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिए ।

सरकारले अल्पसंख्यक फिरन्ते तथा जंगलमा बस्न रुचाउने राउटे जातिलाई मासिक १ हजार रूपैयाँ भत्ताको व्यवस्था गरेको छ । राउटेले मासिक भत्ता र ५ हजार पु¥याइदिन आग्रह गरेका थिए । उनीहरूले तत्कालका लागि आफ्नो समुदायको कुलपूजा भएकाले केही खर्चको व्यवस्था गरिदिन तथा दीर्घकालीन रूपमा समुदायको स्वास्थ्य, सुरक्षा र खाद्यान्नको व्यवस्थालगायत मागका बारेमा सरकारसँग कुरा गरिदिन अध्यक्ष दाहालसमक्ष अनुरोध गरेका थिए । उक्त अवसरमा एमाओवादी सचिव तथा उपप्रधानमन्त्री टोपबहादुर रायामाझीले राउटे समुदायलाई शिक्षा र स्वास्थ्यको व्यवस्था गरी आधुनिक बसाइँतिर लैजानुपर्ने विचार व्यक्त गरेका थिए ।

पार्टी स्थायी समिति सदस्य एवं वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले राउटे वन रक्षकको रोकिएको तलब भुक्तानी गराउन पहल गरिने बताए । मेचीकाली हिमाल तराई अभियानका अभियानकर्मी कृष्ण केसी र नवल खड्काले संविधानमा सम्बोधन गरी राउटे समुदायको बेग्लै संरक्षण गर्ने निकाय बनाउनुपर्ने माग गरेका छन् ।

सूर्यनारायण शाही, तितबहादुर शाही र वीरबहादुर शाहीलगायत राउटे अगुवाले आफूले भोगेका समस्या र उनीहरूमा आएको सुधारबारे जानकारी दिएका थिए । राउटेले १ फागुनदेखि यही १५ फागुनसम्म आफ्नो कुलपूजा गर्छन् ।

प्रतिक्रिया