राजधानीमा दिन दहाडै चोरी

काठमाडौं, २९ माघ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१४ स्थित दक्षिणढोकामा एकहप्तामा दिन दहाडै तीन घरमा चोरी भएको छ । स्थानीय श्यामसुन्दर रायमाझी, शेषकुमार तिवारी र शम्भु सापकोटाको घरमा गएको एक हप्तामा दिन दहाडै चोरी भएको हो ।

स्थानीय नन्दन सापकोटाको अनुसार चोरीको घटना बिहान ९ बजेदेखि ५ बजेभित्र हुने गरेको बताएका छन् । घरको छतमा घरधनी बसिरहेको अवस्थामा समेत चोरले भित्र कोठमा रहेको धनमाल चोरी गरेको सापकोटाको बताए । उनले भने, ‘चोरहरूले दिउँसो आएर कोठाभित्र भएका ल्याप टप, गरगहनालगायतको सामग्री चोरी गरेका छन् । तर, प्रहरी प्रशासनमा उजरी गरेको भए पनि पत्ता लागेको छैन ।’

यता काठमाडौं उपत्यकामा पछिल्लो समय रातीको तुलनामा दिउँसोमा बढी चोरी हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । प्रहरीले आर्थिक वर्ष ०७२÷७३ मा महाशाखामा परेको उजुरीमध्ये रातीमा ४ र दिउँसो १ सय ७ चोरीका घटना भएको देखाइएको छ । महाशाखाका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीका अनुसार दिँउसो मानिस घरमा नभएको समयमा बढी चोरी हुने गरेको छ । उनले भने, ‘रातीको समयमा प्रायः बचत तथा ऋण सहकारी संस्था र कार्यालयमा तथा दिउँसो घरमा बढी चोरी हुने गरेको छ ।’

पछिल्लो समय उपत्यकाभित्रका विभिन्न वचत तथा ऋण सहकारी संस्थामा रातको समयमा ल्यापटप, क्यामरा, सुनचाँदीका गरगहना चोरी भएको आरोपमा धादिङ सुनौलाबजारका सुवास पोखरेल, धादिङकै अर्जुन नेपाली र नुवाकोटका दीपक गजुरेललाई प्रहरीले पक्राउ गरेको थियो । तीनै जना ३ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा भए । उनले भने, ‘रिहा भएकाहरू पुनः चोरीमा संलग्न हुने गरेका पाइएको छ ।’

महाशाखामा आव ०७०÷७१ मा २ सय ८९ चोरीका घटना दर्ता भएकोमा आव ०७१÷७२ मा ३ सया ७ घटना दर्ता भएका थिए । आव ०७२÷७३ को ८ महिनामा १ सय ११ चोरीका घटना दर्ता भएका छन् । आव ०७१÷७२ मा मासिक २८ देखि ३२ चोरीका घटना हुने गरेकोमा चालु आवमा मासिक १० देखि १२ घटना भएको महाशाखाले जनाएको छ ।

उपत्यकका धेरैजसो सुनचाँदी, ल्यापटप र मोबाइल चोरी हुने गरेको छ । ‘तुरुन्त बिक्रीवितरण हुने हुँदा यस्ता सामग्री बढी मात्रामा चोरी हुने गरेका छन्’ महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । स्पष्ट कानुनको अभावमा पक्राउ परे लगत्तै चोरीमा संलग्न गिरोह अदालतबाट धरौटीमा छुट्ने र पुनः चोरी र लुटपाटमै संलग्न हुने गरेका छन् । गत पुस २२ गते नयाँबसपार्कस्थित रिद्विसिद्वि मार्बल अगाडि सडकमा म्याग्दीका दिलबहादुर पुन, म्याग्दीकै चिरञ्जीवी पुन, नुवाकोटका उमेश तामाङ, म्याग्दीका सागर वरुवाल, गंगबुका धनबहादुर विश्वकर्मालाई ७५ तोला गरगहना र विभिन्न विद्युतीय उपकरणसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

‘उपत्यकामा पट्के चोरले बढी मात्रामा चोरी गर्ने गरेका छन् केही समय अगाडि हामीले गोली प्रहारबाटै चोरलाई नियन्त्रणमा लिन सफल भयौँ’, खनालले भने । चोरीमा संलग्नलाई कारबाही गरेरै छाड्ने उनले बताए । चोरी गरिएका समानसहित चोर पक्राउ गरे पनि हिरासतमा २४ दिन भन्दा बढी राख्न नमिल्ने हुँदा अदालतमा पेस भएको २५आँैं दिनमा धरौटीमा छुट्ने र २६औँ दिनदेखि फेरि चोरीमा सक्रिय हुने गरेको महाशाखाले जनाएको छ ।

सिन्धुपालचोक जिल्ला अदालतले चोरी गरेको घटनामा एक महिना कैद र ८ लाख रुपैयाँ जरिवाना गरेका कैदी फुर्वा शेर्पा भूकम्पबाट कारागार भत्किँदा फरार भई राजधानी केन्द्रित चोरीमा संलग्न भएको पाइएको थियो । महाशाखाले शेर्पालाई पक्राउ गरेको थियो । यस्ता घटना काठमाडौं उपत्यकामा दैनिक र मासिक रूपमा थुप्रै हुने गरेका छन् । चोरीमा संलग्न रहेका र जेल गएर छुटेका ६० जनालाई महाशाखाले प्रशिक्षण समेत दिएको थियो ।

प्रतिक्रिया