संस्कृत भाषाको पुस्तक छापिँदै

काठमाडौं, २८ माघ । उपत्यकाका नीजि विद्यालयहरूमा संस्कृत विषयको अध्ययापन गर्ने गरी संस्कृत भाषाको पुस्तक छाप्ने काम सुरु भएको छ । संस्कृत भाषाको पठनपाठनका लागि पाठ्यक्रम निर्माण गरी पाठ्यपुस्तक छाप्ने अभियान सुरु गरिएको हो ।

जयतु संस्कृतम्, सत्मार्ग अभियान र जियर शैक्षिक संस्था नेपाल, विकास तरंगिणीको नेतृत्वमा उपत्यकाका निजी विद्यालयहरूमा संस्कृत भाषा अध्ययनको प्रक्रिया अगाडि बढाइएको छ । आगामी शैक्षिक सत्रबाटै संस्कृत पठन पाठनको व्यवस्था मिलाउन फागुन मसान्तमै पाठ्यपुस्तक उपलब्ध गराउने गरी तयारी गरिएको जियर संस्थाका अध्यक्ष एवं सरकारका पूर्वसचिव वामनप्रसाद न्यौपानेले बताएका छन् ।

रुपक मेमोरियल विद्यालय कुपन्डोल, बागमती बोर्डिङ स्कुल सुकेधारा, डिएभी स्कुल जावालखेल, नेवरहुड मावि मण्डिखाटार, पोलिथिम उमावि धुम्रबाराही, विज्ञान मावि मण्डिखाटार, जेम्स् विद्यालय धापाखेल, लिट्टिल एञ्जल मावि हात्तीवन, मार्वलस् इबो स्कुल मैतीदेवी, एपेक्स कलेज बानेश्वर, वृहस्पति विद्यासदन नक्साल, साकुरा मेमोरियल उमावि नवलपरासी, एप्पल इन्टरनेसनल बत्तीसपुतलीले संस्कृत पढाउने इच्छा प्रकट गरेको जियर संस्थाका उपाध्यक्ष कुमार अधिकारीले बताए ।

युरोप, अमेरिकामा ज्ञानको भण्डार र नैतिकताको आधार संस्कृत शिक्षामा रहेको भन्दै पढाउन थालिएपछि संस्कृत शिक्षाको प्रादुर्भाव भएको नेपालका विद्यालयमा पनि यसको आवश्यकता महसुस गरिएको रुपक मेमोरियल विद्यालयका प्रधानाध्यापक हेलेन शर्माले जानकारी दिए । ०५५ सम्म निमावि तहसम्म अनिवार्य विषयका रूपमा ५० पूर्णांकको संस्कृत अध्यापन हुने गरेको थियो ।

प्रतिक्रिया