निर्माण सामग्रीको मूल्य नबढ्ने

काठमाडौं, २७ माघ । सर्वसाधारणले बजारमा निर्माण सामग्रीको भाउ महँगिएको गुनासो गरेका बेला उद्योगीहरूले भने मूल्य नबढेको र तत्काल नबढाउने प्रतिबद्धता जनाएका छन् । व्यापारीले धेरै मूल्य लिएमा सरकारले नै अनुगमन गरेर कारबाही गर्नुपर्नेमा जोड दिँदै उद्योगीले भूकम्पअघिकै मूल्यमा उद्योगबाट सामग्री बिक्री भइरहेको बताए ।

भूकम्पपछि इँटा प्रतिगोटा ८ रुपैयाँदेखि १४ रुपैयाँसम्ममा बिक्री भइरहेको पाइन्छ । त्यस्तै बालुवा र रोडा ८ मिटर ट्रकको मूल्य २० हजारदेखि ३० हजार रुपैयाँसम्म रहेको छ । सिमेन्ट सामान्यतः अहिले बजारमा ५० किलो बोराको ७ सयदेखि ८ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

उद्योगीले उत्पादन कम भइरहेको र उत्पादित सामग्री पनि बजारमा लैजान ढुवानीको समस्या रहेको औँल्याएका छन् । ढुवानी गर्ने सवारी साधनलाई सरकारले तेल नदिएको उनीहरूको गुनासो छ । उत्पादन र ढुवानी प्रयाप्त हुन नसकेपछि उद्योगमा काम गर्ने लाखौँ मजदुरहरू समस्यामा परेको उद्योगीले बताए ।

पहिले भूकम्प र अहिले इन्धनअभावले गर्दा उद्योगहरू १० महिनादेखि पूर्णरूपमा सञ्चानमा आउन नसकेको र बंैकको ऋणसमेत तिर्न नसक्ने अवस्था आएको व्यवसायीले बताए । नेपाल क्रसर उद्योग व्यवसायी महासंघका उमेश शेरचनका अनुसार अहिले बालुवा तथा रोडाको प्रयाप्त उत्पादन हुन सकेको छैन ।

तत्काल आपूmहरू मूल्य बढाउने अवस्थामा नरहेको शेरचनले बताए । बजारमा निर्माण सामग्रीको अभाव भने हुनसक्ने उनको तर्क छ । मागअनुसार सामग्री सहज रूपमा उपलब्ध गराउन आफूहरूले सक्दो प्रयास गर्ने शेरचनले बताए । अहिले बजारमा बालुवा र रोडा ८ मिटर ट्रकको मूल्य गुणस्तरअनुसार २० हजारदेखि ३० हजार रुपैयाँ रहेको छ । ‘यो मूल्य पहिलेकै मूल्य हो, यसमा कुनै परिवर्तन गरेका छैनौँ, सकेसम्म भाउमा राहत दिने सोचमा छौँ तर मूल्य बढाउँदैनौँ’ उनले भने ।

हाल नेपालमा ७ सयको हाराहारीमा क्रसर र तथा खानी उद्योग सञ्चालनमा छन् । यी क्रसर तथा खानी उद्योगहरू भूकम्प र नाकाबन्दीले गर्दा अझै पूर्णरूपमा सञ्चालमा भने आउन सकेका छैनन् । शेरचनले भने, ‘कसैले बालोबजारी गरेर बढी मूल्य लिएको भए सरकारले नै अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ कसैलाई दोष दिन मिल्दैन ।’

भूकम्पले अधिकांश इँटा भट्टामा क्षति पुगेको थियो । अहिले मर्मतपछि अधिकांश सञ्चालनमा आइसकेको इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र चित्रकारले बताए । कुराकानीका क्रममा उनले इँटाको भाउ भूकम्पअघिकै मूल्यमा रहेको दावी गरे । ‘देश संकटको अवस्थामा छ, धेरै इँटा उत्पादन गर्नेगरी सबै प्रयास गर्छौं तर मूल्य बढाउँदैनौँ’, उनले भने । बजारमा एकैपटक माग बढेमा अभाव भने हुन सक्ने उनले औँल्याए ।

अहिले उपत्यकालगायत आसपासका जिल्लामा उत्पादित इँटाको मूल्य सरदर प्रतिवटा ८ रुपैयाँदेखि १५ रुपैयाँसम्म रहेको छ । तराईका जिल्लाहरूमा भने प्रति वटा १८ देखि २० रुपैयाँ रहेको छ । त्यस्तै अहिले बजारमा ५० किलो बोराको सिमेन्ट ७ सयदेखि ८ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको पाइन्छ । नेपालमा वार्षिक ४० लाख टन सिमेन्टको माग हुने गरेको छ ।

नाकाबन्दीले गर्दा ढुवानीको समस्याले प्रतिबोरा ५० रुपैयाँको हाराहारीमा मूल्य बढेको हुन सक्ने सिमेन्ट व्यवसायी संघका अध्यक्ष धु्रव थापाले बताए । अवस्था सामान्य हुँदै गए पुनः ७ सय ५० रुपैयाँको हाराहारीमा आउने थापाले बताए। तत्काल नै संघले मूल्य बढाउने तयारी नगर्ने उनले प्रतिबद्धता जनाए ।

नेपालभर वार्षिक मागको करिब ८० प्रतिशत सिमेन्ट स्वदेशी उत्पादनबाटै पूरा भइरहेको छ । थापाका अनुसार अहिले भने कुल क्षमताको २० देखि ३० प्रतिशतको हाराहारीमा मात्र सिमेन्ट उत्पादन भइरहेको छ । यस्तो अवस्थामा माग पूरा गर्न र सिमेन्टको भाउ स्थिर राख्ने कि नराख्ने भने विषयमा सरकार गम्भीर हुनुपर्नेमा उनको जोड छ ।

सरकारले २४ घन्टा नै सिमेन्ट उद्योगमा विद्युत् दिएर सिमेन्ट उत्पादनको कार्यलाई सहज रूपमा सञ्चालन हुने वातावरण सिर्जना भएमा सिमेन्टको मूल्य स्थिर रहने तर भारतीय सिमेन्टको भाउ बढेको अवस्थामा नेपालमा सिमेन्टको भाउ स्वतः बढ्ने उनको जिकिर छ ।

प्रतिक्रिया