पूर्वआइजिपी श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौँ, २४ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको सामान खरिद एवं ढुवानीमा ८० लाख बढीे भ्रष्टाचार गरेको भन्दै पूर्वआइजिपी शैलेन्द्रकुमार श्रेष्ठसहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार पूर्व आइजिपी श्रेष्ठले सामान नै ढुवानी नगरी नक्कली बिल भर्पाइ पेस गरी राज्यकोषको दुरूपयोग देखिएको छ । आयोगले श्रेष्ठसहित, लेखा प्रमुख रहेका सशस्त्रकै इन्स्पेक्टर तकमान महरा, भण्डार शाखाका प्रमुख डिएसपी रामचन्द्र श्रेष्ठ र अदिती ट्रान्सपोर्टका सञ्चालक भरतकुमार थापाविरुद्ध मुद्दा दायर गरेको हो ।

नक्कली बिल भर्पाइ बनाएर आइजिपी श्रेष्ठले ८० लाख ९३ हजार ६ सय १० भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । यस्तै भण्डारण शाखाका प्रमुख श्रेष्ठले १८ लाख ३९ हजार ५ सय १० र अदिती ट्रान्सपोर्टका सञ्चालक थापाले ५७ लाख २१ हजार ५ सय ७० बराबरको अनियमितता गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम मुद्दा दायर गरिएको हो ।

सञ्चालनमा नै नरहेको सत्यम् ट्रान्सपोर्टबाटसमेत सामान ढुवानी गराएको भनी बिल तथा भर्पाइ पेस गरेको र राज्यकोषको दोहन गरिएको अनुसन्धानबाट खुलेको आयोग प्रवक्ता पुस्करले जानकारी दिए । आयोगले यसअघि अर्का महानिरीक्षक कोषराज वन्तसहित नौजनाविरुद्ध पनि नक्कली बिल भर्पाइ पेस गरी राज्यकोषको दोहन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया