वारी नाका सामान्य

gas copyकाठमाडौं, २३ माघ । वीरगञ्ज नाका खुलेपछि पनि भारतीय आयल कर्पोरशनको रक्सौल डिपोले डिजेल र पेट्रोलको लोड दिएन । वीरगञ्ज नाकाबाट भित्रिने गरी उसले लोड दिन नमानेको बताइएको छ ।

वीरगञ्ज नाका शुक्रबार खुलेपछि तेल लिन ३५ नेपाली ट्यांकरहरू रक्सौल गए पनि भारतीय पक्षले तेल दिन नमानेको हो । उसले डिजेल र पेट्रोलको लोड दिन मानेन । आइओसीका अधिकारीले डिपोमा तेल भण्डारण कम भएको बताएको छ । माथिल्लो निकायबाट नाका खुलेको खबर नआएकाले वीरगञ्ज भएर तेल भित्रिने गरी लोड नदिएको आयल निगमका एक उच्च अधिकारीले बताए । ‘नाका खुलेकोबारे हामीले शुक्रवार नै जानकारी गराएका थियौं’ निगमका एक अधिकारीले भने, ‘तर, उनीहरू माथिको आदेश आएको छैन भनिरहेका छन् ।’

रक्सौल डिपोले १४ वटा ट्यांकरमा हवाई इन्धन भने दिएको छ । यस्तै ४ ट्यांकर मट्टितेल पनि लोड भएको छ । यी ट्यांकरहरूमा चेक पोइन्ट बिराटनगर राखेर लोड दिइएको हो । त्यसैले ति सबै लोडेड ट्यांकर वीरगञ्ज नाकाबाट आउन पाउँदैनन् । शनिबार वीरगञ्जबाट भित्रिएका ४ ग्यासका बुलेट र एउटा डिजेल ट्यांकर पहिले नै वीरगञ्ज नाकाका लागि चलान भएका हुन् ।

भारतीय आयल कर्पोरेशनले केही समय अघिदेखि नै अन्य नाकाबाट लैजान सक्ने गरी रक्सौलबाट नेपाललाई हवाइ इन्धन र मट्टितेल दिइरहेको थियो । उसले यसअघि पनि रक्सौल डिपोबाट पेट्रोल र डिजेल दिन मानेको थिएन ।

यसअघि रक्सौल नाका अवरुद्ध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीय ब्यापारीले लखटेपछि सो नाका शनिबार पनि सामान्य अवस्थामा सुचारु भइरहेको छ । पर्सा प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठका अनुसार नाका अवरुद्ध गर्न पुगेका मोर्चाका केही कार्यकतालाई स्थानीय व्यापारीहरूले शंकराचार्य गेटसम्म लखेटेका थिए ।

मोर्चा कार्यकर्ता र ब्यापारीबीच केहीबेर झडपको स्थिति भएको थियो । ढुंंगामुडा लागि दुवैतर्फ गरी आधा दर्जन भन्दा बढी घाइते भएका छन् । मोर्चाका घाइते कार्यकर्ताहरूलाई वीरगन्जको नारायणी उपक्षेत्रियमा अस्पतालमा भर्ना गरिएको छ । नाकावारी नेपाल क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । वीरगन्ज नाका भएर निर्वाधरूपमा सवारी साधनहरू ओहोर दोहोर गरी रहेका छन् । झडपपछि मोर्चाका कार्यकर्ता मितेरी पुलमा नगएकाले नाकामा सामान्य रूपमा सवारी आवात जावात भइरहेको एसपी श्रेष्ठले बताए ।

शनिवार बिहान मोर्चाका बारा र पर्साका स्थानीय नेताको बैठकले केन्द्रीय स्तरबाट निर्णय नभएकाले नाका अवरुद्ध पार्ने निर्णय गरेको थिए । सोही निर्णय अनुसार दिउँसो उनीहरू मितेरी पुल पुगेका थिए । मोर्चाका नेता कार्यकर्ता र व्यापारीवीच केहीबेर ढुंगा हानाहान समेत भएको थियो । असोज ७ गतेदेखि मधेसी मोर्चाले बन्द गरेको वीरगन्ज रक्सौल नाका शुक्रबार स्थानीयले हस्तक्षेप गरी सुचारु गराएका थिए ।

आन्दोलन स्थगितको हल्ला !

काठमाडौं । मधेसी मोर्चाले आन्दोलन स्थगित गरेको हल्ला चलेको छ । सोही हल्लाका कारण शनिवार साँझ वीरगञ्जमा मोर्चाले गर्ने भनेको मसाल जुलुस स्थगित भएको छ । शुक्रवारदेखि वीरगञ्ज– रक्सौल नाका खुलेको थियो । शनिवार बिहान बारा र पर्साका मोर्चा सम्वद्ध नेताहरूको बैठकले शनिवार दिउसो २ वजेदेखि नाकामा धर्ना कायम राख्ने र साँझ ५ वजे वीरगञ्जमा मसाल जुलुस प्रदर्शन गर्ने निर्णय गरेका थिए । दिउसो धर्ना दिन गएका मोर्चाका कार्यकर्ता मितेरी पुलबाट लखेटिएपछि साँझको मसाल जुलुस पनि नभएको बताइएको छ ।

केन्द्रको निर्देशनभन्दै मोर्चाका नेताले मसाल जुलुस स्थगित गरेका वीरगञ्जबाट सौर्य सहकर्मीले जनाएका छन् । अर्को निर्णय नभएसम्म आन्दोलनका कुने पनि कार्यक्रम नगर्न केन्द्रबाट निर्देशन भएको स्थानीय मोर्चा नेता प्रदिप यादवलाई उद्धृत गर्दै सौर्य सहकर्मीले बताए । मोर्चाको एक घटक सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले भने आफ्रलाई यस विषयमा कुनै जानकारी नभएको बताए । उनले भने ‘आन्दोलन स्थगित भएको मलाई कुनै जानकारी छैन ।’

प्रतिक्रिया