पोल्ट्री व्यावसायमा ३ अर्बको नोक्सानी

poultry copyकाठमाडौं, २१ माघ । भूकम्प र त्यसपछिको नाकाबन्दी र बन्द, हड्तालले पोल्ट्रीजन्य क्षेत्रमा रु तीन अर्ब ३१ करोड ७१ लाख बराबरको नोक्सान भएको छ । भूकम्पयता ब्रोइलर चल्ला, लेयर्स चल्ला, अण्डा, ब्रोइलर कुखुरा, दाना, सप्लायर्सका गाडी, कर्मचारी, अन्य बैंक ब्याजसमेतको नोक्सानी समावेश गरिएको छ । लागतभन्दा कम मूल्यमा बेच्नु पर्दा परेको रकमलाई मात्र समावेश गरिएको छ ।

नेपाल दाना उद्योग सङ्घका पूर्वअध्यक्ष डा तीलचन्द्र भट्टराईका अनुसार ब्रोइलर चल्ला प्रतिदिन दुई लाख ५० हजार ८१ वटा उत्पादन हुन्छ भने लागत मूल्य प्रति चल्लाको ४८ रूपैयाँ पर्छ । भूकम्पपछि प्रतिचल्ला ३० रूपैयाँमा बिक्री भएको छ । ‘ब्रोइलर चल्लामा एक अर्ब एक करोड २८ लाख नोक्सान भएको छ’, उनले भने । त्यसैगरी लेयर्स चल्ला प्रतिदिन २१ हजार ४ सय २९ वटा उत्पादन हुन्छ भने लागत मूल्य प्रतिचल्ला ७२ रूपैयाँ पर्छ ।

भूकम्पपछि सरदर ४० रूपैयाँमा चल्ला बिक्री भएको छ भने प्रतिचल्ला ३२ नोक्सान भएको छ । लेयर्स चल्लामा १५ करोड ४२ लाख रूपैयाँ नोक्सान भएको छ । अण्डा प्रतिदिन ३१ लाख ८३ हजार वटा उत्पादन हुँदै आएको छ भने लागत मूल्य आठ रूपैयाँ ५० पैसा प्रतिगोटा पर्छ । पछिल्लो समयमा प्रतिगोटा सातमा बिक्री भइरहेको छ । प्रतिअण्डा एक रूपैयाँ ५० पैसा नोक्सान भइरहेको छ । भूकम्प गएयता एक अर्ब २६ लाख नोक्सान भएको कार्यालयले जनाएको छ ।

यस्तै ब्रोइलर कुखुराको मासु प्रतिदिन चार लाख चार हजार ३ सय ७७ किलो उत्पादन हुन्छ भने यसको लागत मूल्य प्रतिकिलो १ सय ५५ रूपैयाँ पर्न आउँछ । यस अवधिको १ सय २० दिनमा मासु सरदर प्रतिकिलो १ सय ४० रूपैयाँमा बिक्री भएको छ भने प्रतिकिलो १५ रूपैयाँ नोक्सान भएको छ ।

भूकम्पपछि मासुमा ७२ करोड ७८ लाख घाटा

कुखुराका लागि दाना दैनिक दुई हजार ४ सय टन उत्पादन हुने गर्छ । दानाको लागत मूल्य प्रतिकिलो ५३ रूपैयाँ पर्छ भने अहिले प्रतिकिलो ५१ रूपैयाँमा बिक्री हुँदै आएको छ । पछिल्ला ८५ दिनमा ४० करोड ८० लाख दानाबाट नोक्सान भएको पूर्वअध्यक्ष भट्टराईको भनाइ छ । पछिल्लो समयमा सप्लायर्सका ५ सय गाडी चल्न सकेका छैनन् । ‘सप्लायर्सका गाडी, कर्मचरी, बैंक व्याजसहित एक करोड १४ लाख नोक्सान भएको छ’, उनले भने ।

औषधि, क्रेट, प्याकिङ र प्रशोधन खर्चमा भएको नोक्सानको तथ्यांक संकलन भइरहेको छ । पोल्ट्री क्षेत्रमा नेपालमा ७० अर्बको हाराहारीमा लगानी भएको व्यवसायीको भनाइ छ भने ४० अर्ब बराबर बैंकिङ लगानी छ । कृषि क्षेत्र भए पनि सुलभ ऋण पोल्ट्री व्यवसायीले पाएका छैनन् । सात दशमलव ५ देखि ११ प्रतिशत ब्याज तिर्न व्यवसायी बाध्य भएको पूर्वअध्यक्ष भट्टराईले बताए ।

आत्मनिर्भर बनेको पोल्ट्रि व्यवसाय नोक्सानका कारण धरासायी हुन सक्ने चिन्ता व्यवसायीमा छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शंकर कँडेल सरकारको पहलमा बैंकले नोक्सान अवधिको ब्याज मिनाहा दिनुपर्ने, किस्तालाई छ महिना पछाडि सार्नुपर्ने, परियोजनालाई आधार मानेर ऋण थप्नुपर्ने बताउँछन् । सरकारले समयमै सम्बोधन गर्न नसकेमा व्यवसायी मात्र नभएर लगानी गरेका बैंकसमेत समस्यामा पर्ने उनको भनाइ छ ।

यस अवधिमा भएको नोक्सानलाई परिपूर्ति गर्न व्यवसायलाई निरन्तरता दिनै पर्नेमा कँडेलले जोड दिए । बर्सेनि कच्चा पदार्थका लागि भारतमाथी निर्भर हुनुपर्ने हुँदा ठूलो रकम जाँदै आएको छ । वार्षिक १३ अर्ब बराबरको मकै, भटमास, सूर्यमुखी पिना, तीलको पिना भारतबाट आयात हुन्छ । नेपालमा यी कच्चा पदार्थ उत्पादन गर्न सके अन्यत्र निर्भर हुन नपर्ने नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष डा भट्टराई बताउँछन् । नाकाबन्दीका कारण मुख्य रूपमा इन्धन र कच्चा पदार्थमा व्यवसायीले नोक्सान व्यहोर्नु परेको छ ।

प्रतिक्रिया