रहेनन् निर्देशक रायमाझी

bashanta-jung-raimaji copyकाठमाडौं । नेपाली फिल्मका वरिष्ठ निर्देशक वसन्तजंग रायमाझीको निधन भएको छ ।

बुधबार बिहान ८१ वर्षको उमेरमा उपचारका क्रममा थापाथलीको नर्भिक अस्पतालमा निधन भएको हो । घरमा एक्कासी अचेत भएर लडेपछि रायमाझीलाई नर्भिकमा भर्ना गरिएको थियो ।

१९९० असार १८ गते नवलपरासीमा जन्मिएका निर्देशक रायमाझी लामो समयदेखि पक्षघातबाट ग्रसित थिए । नेपाली चलचित्रमा अलग प्रकारको नृत्य भित्र्याउन सफल उनले युगदेखि युगसम्म, सीमाना, अवतार, पृथ्वी, सिन्दुर, जीवनरेखालगायतका थुप्रै चलचित्रमा नृत्यनिर्देशन गरेका छन् । उनको निर्देशन रहेको मध्ये ‘कान्छी हे कान्छी’ र सिमाना चलचित्रको ‘उकाली ओराली…’ भन्ने गीत निकै चर्चितसमेत बनेका थिए । लामोसमय बलिउडमा नृत्य निर्देशकको रूपमा काम गरेका उनले नेपाल फर्किएपछि पनि बेग्लै परिचय बनाएका थिए । रायमाझीले बलिउडका चर्चित नायक अमिताभ बच्चनसँग समेत नाचेका उनले चर्चित गीत ‘मोनिका’ गीतमा हेलेनसँग पनि नाचेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गर्न सफल महानायक राजेश हमाल नातामा उनका भान्जा हुन् । हमाललाई युगदेखि युगसम्ममार्फत नेपाली चलचित्रमा ल्याउन उनको प्रमुख भूमिका थियो । यस्तै करिश्मा मानन्धर, जल शाह तथा धिरेन शाक्यसहितका कलाकारले चलचित्रमा आउनुअघि उनीसँगै नृत्य सिकेका थिए । रायमाझीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा रखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ कलाक्षेत्रका विभिन्न व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । रायमाझीका २ छोरा, १ छोरी र श्रीमती छन् । (सौस)

प्रतिक्रिया