सकसमा सुशील

suchil copyकाठमाडौं, २० माघ । पार्टीको आगामी १३औँ महाधिवेशन सामना गर्न सुशील कोइरालालाई सकस परेको छ । सभापतिमा आकांक्षा देखाउँदा लोभीपापीको आरोप, नउठौँ कोइराला विरासत सकिनेस्थितीले उनलाई सकसमा पारेको छ । यद्यपि, उनी जिल्ला अधिवेशनहरू सकिनासाथ उम्मेदवारी घोषणा गर्ने पक्षमा रहेको बताइन्छ । नतिजा आफ्नो पक्षमा पार्न उनले पदाधिकारी संख्या थपेरै छोड्ने तयारीमा जुटेका श्रोतले बताएको छ । जिल्ला र क्षेत्रको अधिवेशन सकिए लगत्तै बस्ने केन्द्रीय समितिको बैठकमा कोइरालाले बहुमतका आधारमा पदाधिकारी थप्ने निर्णय गराउने तयारी गरेका श्रोतले बताएको छ ।

अघिल्लो महाधिवेशनमा आफूलाई सघाएका उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापतिमै उम्मेदवारी दिने घोषणा गरेकाले कोइराला पौडेल र सिटौला मात्रै होइन आफू निकटका आधा दर्जनभन्दा बढी नेतालाई पदाधिकारीमा उम्मेदवार बनाउनै पर्ने दबाबमा छन् । त्यसैले उनी विधान संशोधन गरी पौडेललाई वरिष्ठ उपसभापति, सिटौला, प्रकाशमान सिंह र सुजाता कोइरालालाई उपसभापति बनाउने मनस्थितिमा छन् ।

पौडेललाई भविष्यमा बन्ने कांग्रेस नेतृत्वको सरकारमा प्रधानमन्त्री र अहिले वरिष्ठ उपसभापतिमा मनाएर अघि बढ्ने कोइरालाको तयारी छ । तर, पौडेलले आफू पछि फर्किनै नसक्नेगरी अघि बढिसकेको बताएका छन् । पौडेललगायत नेताले कोइरालालाई पुनः सभापतिमा उम्मेदवार नहुन र कांग्रेसको सर्वमान्य नेता भएर बस्न सुझाएका छन् । तर, आफू उम्मेदवार नबने कांग्रेसको संस्थापन पक्ष छिन्नभिन्न हुने तर्क दिएर कोइराला सभापतिको उम्मेदवार बन्ने निष्कर्षमा पुगेका छन् ।

हालको विधान अनुरूप अघि बढ्दा कोइरालासामु १ उपसभापति, २ महामन्त्री, १ सहमहामन्त्री र १ कोषाध्यक्ष मात्र आकांक्षीलाई बाँड्नका लागि पदहरू छन् । अहिलेको विधान अनुसार हुने ५ पदका लागि कोइरालाका कोटरीमै करिब १ दर्जन आकांक्षी छन् । सभापतिमा उम्मेदवारी नदिए रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको बलियो र लिखित सम्झौतासहित वरिष्ठ उपसभापति कोइरालाले बनाउनु पर्नेछ । त्यस्तै कोइराला सभापतिमा उम्मेदवार नबने आपैmँ उम्मेदबार बन्दै आएका सिटौला उपसभापति वा निर्वाचित महामन्त्री बन्न चाहन्छन् । यसअघि मनोनित महामन्त्री भएकाले उनको निर्वाचित महामन्त्री बन्ने धोको छ । यस्तै गणेशमान सिंहको विरासत बोकेका महामन्त्री प्रकाशमान सिंह सके उपसभापति वा नसके फेरि महामन्त्री दोहोरिन चाहन्छन् । सिंहलाई पदाधिकारीमा स्थान नदिए त्यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले पनि कोइराला उनलाई उपसभापति बनाउने पक्षमा छन् । यसअघि नै आफूले महामन्त्री नपाए देउवा पक्षबाट उम्मेदवारी दिने चेतावनी दिँदै आएका अर्जुननरसिंह केसीलाई महामन्त्रीको उम्मेदवार नबनाए उनी देउवा पक्षमा जाने निश्चित छ । यसअघि सहमहामन्त्री र पार्टीको प्रवक्ता भइसकेका केसी अघिल्लो महाधिवेशनबाट सबैभन्दा धेरै मत ल्याएर जित्ने केन्द्रीय सदस्य हुन् ।

यसअघि पदाधिकारी नभएका सुजाता कोइराला, रामशरण महत, सशांक कोइराला, गगन थापा, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना र महेश आचार्यलाई पदाधिकारी बनाउनै पर्ने कोइरालाको वाध्यता छ । सशांकलाई महामन्त्री बनाएर कोइराला परिवारको बिरासतबाट कांग्रेसलाई बाहिर जान नदिनै उनले राष्ट्रपति हुने अवसर छोडेर प्रधानमन्त्रीको गत निर्वाचनमा उम्मेदवार भएर लज्जाजनक हार बेहोरेका थिए । सशांकलाई जुनसुकै मूल्य चुकाएर भए पनि कांग्रेसको मुख्य भूमिकामा ल्याउने सुशीलको तयारी छ । गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको उत्तरार्धमा सुजातालाई अघि बढाउन भनेकाले सुजातालाई पनि पदाधिकारीमा ल्याउनै पर्ने वाध्यतामा कोइराला छन् । सुजाताले पनि सुशीलले आफूलाई पदाधिकारीमा स्थान नदिए सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेर दबाब दिइसकेकी छिन् । कोइराला वरिष्ठ उपसभापति सहित ३ उपसभापतिको व्यवस्था गरेर सुजातालाई महिला उपसभापति बनाउन चाहन्छन् । महामन्त्री र सहमहान्त्रीका आकांक्षीहरू मध्येबाटै १ जनालाई कोषाध्यक्ष बनाउने कोइरालाको योजना छ ।

विधान संशोधन गरी पदाधिकारी बढाउने निर्णय गरेपछि पदाधिकारीका आकांक्षी रामशरण महत, दिलेन्द्रप्रसाद बडू, गगन थापा र आनन्दप्रसाद ढुंगानालाई पदाधिकारी बनाउन कोइरालालाई बाटो खुल्नेछ । गगनलाई पदाधिकारीमा ल्याउने चाहना कोइरालाको नभए पनि उनले सार्वजनिक रूपमा दबाब बढाउने हैसियत राख्छन् भन्ने कोइरालाले बुझेका छन् । त्यस्तो अवस्थामा थापा, बडू, ढुंगाना र आचार्यलाई सहमहामन्त्री बनाउने आश्वासन कोइरालाले दिन सक्नेछन् । पौडेल, सिटौला, सिंह र सुजातालाई उपसभापति बनाएर महामन्त्रीको स्थान खाली गर्न सके केसी र महतलाई महामन्त्रीमा आश्वासन दिन सकिने कोइरालाको बुझाइ छ ।

पदाधिकारीमा आकांक्षी बढेकाले उनीहरूका लागि पद व्यवस्था नगरी जित्न नसकिने निष्कर्षमा पुगेका कोइरालाले बहुमत प्रयोग गरी विधान संशोधनको तयारी थालेका हुन् । कोइराला निकट रहेका नेता आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा रहेको विधान संशोधन समितिले पदाधिकारी थप्ने र सभापतिको अधिकार बढाउने गृहकार्य गरेको छ । तर, यस विषयमा समितिमा सहमति जुट्न नसकेपछि पदाधिकारी थप्न नहुने फरकमतलाई पनि समावेश गरेर बुझाइएको छ । समितिमा देउवा पक्षका प्रकाशशरण महत र वालकृष्ण खाँडले पदाधिकारी बढाउन नहुने मत राखेका थिए । अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा बहुमतले पदाधिकारी थप्ने निर्णय गराउने तयारी कोइरालाले गरेका छन् ।

देउवापक्ष भने पदाधिकारीको अहिलेकै संख्या कायम गर्न सके कोइरालालाई अप्ठेरो पर्ने र कोइराला क्याम्पबाट आएका केही नेतालाई पदाधिकारीको आश्वासन दिएर आफू जित्न सकिने विश्वासमा छन् । त्यसैले उनी विधान संशोधनमा कुनै पनि हालतमा पदाधिकारी थप्न नदिने र सभापतिको अधिकार बढाउन नदिने तयारीमा छन् ।

प्रतिक्रिया