माइभ्याली गोल्डकप

Ilam copyइलाम, १९ माघ । टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा शेर फुटबल क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले अन्तिम ४ मा स्थान सुरक्षित राखेको छ ।

खेल सुरु भएको आठौँ मिनेटमा नै आर्मीका दीप लामाले पहिलो गोलको खाता खोलेका थिए । विपक्षी टिमको मजबुत रक्षापंक्तीलाई चिर्दै लामाले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । डी–बस्क भित्रबाट प्रहार गरेको बलले जाली चुमेको दार्जिलिङका गोलकिपर स्वस्ती महतोले पत्तै पाएनन् ।

आर्मीको त्यो अग्रता भने लामो समयसम्म टिक्न सकेन । २ मिनेट पनि बित्न नपाउँदै दार्जिलिङ क्लबले गोल फर्कायो । खेलको १०औँ मिनेटमा स्ट्राइकर शैलेश शंकरले गोल गर्दैै खेललाई बराबरीमा ल्याएका थिए । जसलाई आर्मीका गोलकिपर सुशील श्रीवास्तवले बचाउ गर्ने कुनै मौका नै पाएनन् ।

मध्यान्तरसम्म बराबरीमा खेलेको दुवै टिम मध्यान्तरपछि नयाँ रणनीतिका साथ मैदान प्रवेश ग¥यो । दुवै टिमका खेलाडीले रक्षात्मकभन्दा आक्रामक शैली अपनायो । लगातार विपक्षीको पोस्टमा दुवै टिमले दर्जनौँ प्रहार गरे । खेलमा दुवै टिमका खेलाडीहरूले दर्शकको उत्तिकै समर्थन पाएका थिए ।

तर, त्यो बराबरी लामोसमय टिक्न सकेन । खेलको ६६औँ मिनेटमा आर्मीले कर्नरको अवसरलाई सदुपयोग गर्दै गोल ग¥यो । आर्मीका लागि कप्तान भरत खवासले गोल गरे । उनको गोल नै खेलमा निर्णायक बन्यो । बाँकी समयमा दुवै टिमबाट थप गोल हुन नसकेपछि आर्मीले सेमिफाइनलको यात्रा पक्का गरेको हो ।

यता दार्जिलिङका खेलाडीहरू अन्तिम समयसम्म विपक्षीको पोलमा गोल गर्न थुप्रै प्रयास गरे पनि सफल बन्न सकेनन् । अन्ततः क्वाटरफाइनलबाटै उपाधि चुम्ने सपना चकनाचुर पार्दै दार्जिलिङ स्वदेश फर्कन बाध्य बनेको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच दार्जिलिङका इसा लेप्चा घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । यसअघिका क्वाटरफाइनलबाट रुपन्देही–११, रमपम झापा–११, सशस्त्र प्रहरी क्लब काठमाडौं अन्तिम ४ मा पुगिसकेको छ । आर्मीले बिहीबार हुने अन्तिम सेमीफाइनलमा सशस्त्र प्रहरी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबारको पहिलो सेमिफाइनल खेल रुपन्देही–११ र रमपम झापा–११ बीच हुने आयोजक माइभ्याली फुटवल क्लब इलामका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए ।

प्रतिक्रिया