दिगो विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन सकियो

काठमाडौं, १९ । दिगो विकासका लागि अनुसन्धान तथा विषयगत अध्ययनलाई जोड दिने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार सकिएको छ । ‘दिगो विकासका लागि अनुसन्धानात्मक अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको सम्मेलन ३५ वटा छुट्टाछुट्टै कार्यपत्रमाथि छलफल गर्दै सकिएको हो ।

अपरेसन रिसर्च सोसाइटी अफ नेपाल र चौधरी गु्रपद्वारा सञ्चालित सिजी इन्स्टिच्युट अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको २ दिने सो सम्मेलनमा नेपाललगायत भारत, चीन, क्यानाडा, थाइल्यान्ड, फिलिपिन्स र अमेरिकाका अनुसन्धानकर्ताको उपस्थिति रहेको थियो । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले ऊर्जा विकासका लागि सरकारको नीति तथा कार्यक्रम नै मुख्य निर्धारक हुने भएकाले वर्तमान सरकारले ऊर्जा संटकालको घोषणासँगै नयाँ कार्यक्रमहरू ल्याउन लागेको जानकारी दिएका थिए ।

सम्मेलनमा भारतीय राष्ट्रिय योजना आयोगका सदस्य तथा आर्थिक सल्लाहकार प्राडा किरीतशान्ति लाल पारिखले दिगो विकासका लागि कार्यनीतिको पूर्वढाँचा तयार गर्नुपर्नेमा जोड दिएका थिए । उनले नेपाल र भारतको सहकार्यमा जलविद्युत् तथा सौर्य ऊर्जाका विभिन्न स्रोतको विकास गरेमा नेपालको भविष्य सार्थक हुने पनि बताए ।

सम्मेलनको समापन समारोहमा प्राडा गीता भक्त र मिथलेसकुमार झाले दिगो विकासका लागि संस्थागत सञ्चालनमा समेत अनुसन्धानात्मक विषयलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका व्यवस्थापन प्रमुख तुल्सीराम पाण्डे तथा सिजी इन्स्टिच्युट अफ म्यानेजमेन्टका शैक्षिक सल्लाहकार प्रमुख प्राडा महानन्द चालिसेले शैक्षिक गुणस्तरका वृद्घिका सैद्धान्तिक अध्ययनभन्दा व्यावहारिक र अनुसन्धानात्मक अध्ययनमा शैक्षिक संस्थाले जोड दिएमा दिगो शैक्षिक विकास हुने विचार व्यक्त गरेका छन् ।

प्रतिक्रिया