सहिद परिवारका ७ बुँदे माग

काठमाडौं, १६ माघ । सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रले ७ बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएको छ । केन्द्रले सहिद दिवसको अवसर पारेर शनिबार गरेको अन्तरक्रियामा त्यस्तो माग प्रस्तुत गर्दै आन्दोलनको चेतावनी दिएको हो ।

केन्द्रले विवाद नभएका राणाकालका १ सय १, पञ्चायतकालका ३ सय ८२ सहिद र ३६ जना बेपत्ता गरी ५ सय १९ जनालाई तत्काल राष्ट्रिय सहिद घोषणा गर्नु पर्ने, विभिन्न समयमा गठन गरिएका आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नु पर्ने, पञ्चायतविरुद्ध लागेको आरोपमा भएको सर्वस्वहरण फिर्ता हुनुपर्ने, विभिन्न आन्दोलनमा भएका घाईते, सहिद र बेपत्ता परिवारको उचित ब्यवस्था गर्नु पर्ने, शान्ति मन्त्रालयसँग भएको केन्द्रको चार बुँदे सहमति कार्यान्वयन गर्नु पर्ने, सहिद र घाईते परिवारलाई सेवा सुविधा दिने गरी मन्त्री परिषदले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग अगाडि सारेको छ ।

केन्द्रका अध्यक्ष जेबी धौलाकोटीले आफूहरूको माग यथासिघ्र पूरा नगरी आगामी फागुन ७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिए । अन्तरक्रियामा उद्योग राज्यमन्त्री मेघराज नेपाली निषदले वर्तमान सरकार केही समय टिके यसले सहिदको सपना पूरा गर्ने दिशामा महत्वपूर्ण काम गर्ने भन्दै अहिलेसम्म सहिदको सम्मान मुलुकले गर्न नसकेको स्विकार गरे ।

सहिदलाई सम्मान गर्न नसके र उनीहरूले देखाएको बाटोमा हिड्न नसके मुलुकमा जतिसुकै लोकतन्त्र आए पनि त्यसको औचित्य नहुने भन्दै बास्तविक लोकतन्त्रको लागि सहिदको सम्मान हुनै पर्ने जिकिर गरे ।

डा. सुरेन्द्र केसीले मल्लिक आयोगले दोषी ठहर गरेकाहरूसँग जोडिएर जनआन्दोलनका शक्तिहरू सरकारमा रहेको भन्दै मुलुकमा अहिले नेपाली जनताले सहादत दिएर गल्ती भएछ भन्ने स्थिति आएको गुनासो गरे । उनले मुलुकमा को र के कारणले सहिद भन्ने कुरा अन्यौलता रहेको देश, पार्टी, विचार, सामाजिक, धार्मिक के रूपमा सहदत भएको हो बर्गिकरण हुनु पर्ने भन्दै अहिले राजनीतिक दल चारित्रिक रूपमा रूपान्तरण हुनु पर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘मुलुक ढुंगे यूगमा प्रवेश गरेको छ, के यही हो सहिदले देखेको सपना ?’ केसीले मधेस आन्दोलनका कारण मुलुक १ सय वर्षपछि परिसकेको भन्दै अब राजनीतिक आन्दोलन मात्रै भन्दा पनि सहिदले देखेको सुन्दर मुलुक निर्माणमा सबैको प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिए ।

अधिकारकर्मी चरण प्रसाईले सहिदको सम्मान लोकतन्त्रको सम्मान हुने भन्दै नेपालमा सहिदको सम्मान नहुँदा लोकतन्त्रकै अपमान हुने गरेको धारणा राखे । उनले सहिद भएर गल्ती भएछ भन्ने सोचमा सहिद परिवार पुग्नु मुलुककोलागि विडम्बनापूर्ण अवस्था भएको भन्दै सहिदलाई साँचो रूपमा सम्मान गर्ने हो भने मुलुकलाई स्थायित्वसहित आर्थिक विकासको बाटोमा लिएर जान आवश्यक रहेको तर्क गरे ।

सहिद प्रतिष्ठानका अध्यक्ष एकराज भण्डारीले सहादतलाई मुलुकको हितमा भन्दा पनि सत्तामा पुग्ने माध्यमको रूपमा बुझिएको भन्दै अहिलेका दलहरू सहिदको सपना पुरा गर्न भन्दा त्यसबाट प्राप्त कुर्सि बचाउन लाग्नुले सहिदको अपमान भएको तर्क गरे । भण्डारीले भने,‘ नेताहरूले खोला तरे तर लौरौ विर्सिए ।’

प्रतिक्रिया