सूचना प्रविधि मेला भृकुटीमण्डपमा सुरु

can info copyकाठमाडौं, १५ माघ । क्यान इन्फोटेकको २२औँ संस्करण शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ)ले सुबिसुको मुख्य प्रायोजन र हुवावेको सहप्रायोजनमा माघ १५ गतेदेखि माघ २० सम्मका लागि क्यान इन्फोटेक आयोजना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यक्रमको उद्घाटन गरेका हुन् ।

विश्वबजारमा पछिल्लो समयमा विकास भएको सूचना प्रविधिलाई नेपालका युवापुस्तासँग जोड्ने महत्वपूर्ण माध्यम बनेको क्यान इन्फोटेकमा १ सय ५० स्टल छन् । मेलामा सूचना प्रविधका सामानहरूमा भारी छुट दिइएको छ ।

विश्वमा नै पहिलोपटक म्युजिक नेपालले गीतसंगीतको पाइरेसी नहोस् भनेर म्युजिक एटिएमको सुरुआत गरेको छ । एटिएमको मेसिनजस्तै देखिने उक्त मेसिनबाट उपभोक्ताले गीत संगीतलाई आफ्नो स्टोरेज डिभाइसमा राख्न सक्नेछन् । एमपी थ्री गीतको ५ रुपैँया र भिडियो गीतको १० रुपैयाँ मूल्य तोकिएको छ ।

एटिएम मेसिन जस्तै देखिने यो मेसिनमा डिजिटल टच डिस्प्ले रहेको हुन्छ । जहाँवाट तपार्इंले नेपाली गीत संगीतहरूको लिस्ट देख्न सक्नुहुन्छ । विभिन्न श्रष्टा र कलाकारहरूले सिर्जना गरेको एल्बमलाई क्लिक गरेपछि गीत तथा भिडियोको लिस्ट आउँछ ।

आफूलाई चाहेको गीत आएपछि त्यसलाई ओके गरेपछि सेलेक्सन हुन्छ र आफूले चाहेको गीतहरूको लिस्ट तयार हुन्छ । एटिएम कार्ड जस्तै गरी पैसा हालेपछि मेसिनको डिजिटल बारकोड रिडरले पैसा र कुन गीत, कतिवटा गीत छानेको छ त्यहिअनुसार पैसा आएको छ कि छैन भनेर एकिन गर्छ र लिन्छ । त्यसपछि मेसिनमा पेनड्राइभ वा सिडिमा राखेपछि तपाईंले चााहेको गीत डाउनलोड हुन्छ ।

‘सरकारलाई १३ प्रतिशत भ्याटसहितको उक्त मूल्यमा सबैले पैसा पाउनेछन,’ म्युजिक नेपालका मार्केटिङ अफिसर विक्की थापाले भने ‘म्युजिक क्षेत्रका श्रष्टा र कलाकारललाई बाँच्न सजिलो हुनेछ र पाइरेसि रोकिनेछ भन्ने विश्वास लिएका छौँ ।’ उक्त पैसाबाट संगीत व्यवसायी, सरकार, कलाकार, उत्पादक र बिक्री गर्ने सबैले पैसा पाउने थापाले जानकारी दिए । एटिएम मेसिनको २ लाख ५० हजार पर्ने चाँडै नै डिलरमार्फत नेपालभरी नै यसको यसको प्रर्वद्धन गर्ने लक्ष रहेको म्युजिक नेपालले जनाएको छ ।

सुबिसु केबल नेट मुख्य प्रायोजक र हुवावे मोबाइल सहप्रायोजक छन् । मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले सूचना प्रविधिलाई समाज विकास गर्नका लागि सकारात्मक रूपमा अगाडि बढ्न आग्रह गरे ।

संक्रमणकालले देश गुज्रिरहेको आस्थामा आधुनिक बनाउने आवश्यकता रहेको भन्दै ओलीले देश तीव्र विकासको प्रतिक्षामा रहेको र सूचना प्रविधि क्षेत्रले देशको विकासका सधाउ पुग्ने विश्वास लिएका छन् ।

४ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको इन्फोटेकमा हार्डवेयर सेल्स एन्ड मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज, सफट्वेयर सलुसन्स्लगायतका १ सय ५० भन्दा बढी स्टल रहेको क्यान महासंघले जनाएको छ । इन्फोटेकमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले विशेष छुटसहितको प्याकेज ल्याएका छन् । त्यस्तै इन्फोटेकमा सामान किन्दा हरेक कम्पनीले विशेष छुट तथा उपहारहरू प्रदान गरेका छन् ।

क्यान महासंघले इन्फोटेक अवलोकन गर्नेहरूका लागि टिकट दर १ सय रुपैयाँ कायम गरेको छ । सरकारी विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क तथा अन्य विद्यार्थीलाई ५० रुपैयाँको टिकटमा मेला अवलोकन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया