क्रिकेटमा नेपालको विजयी सुरुआत

main newsकाठमाडौं, १४ माघ । बंगलादेशमा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ । जितपछि नेपालले विश्वकपमा आपूmलाई स्थापित गर्ने अवसर समेत सिर्जना गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा टेस्ट मान्यता प्राप्त मुलुक न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

विश्व क्रिकेटमा न्युजिल्यान्ड धेरै विकास गरेको राष्ट्रको रूपमा चिनिँदै आएको छ । गतवर्ष मात्र अस्ट्रेलियामा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डको सिनियर राष्ट्रिय टोलीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा नै तय गरेको थियो । त्यसैले पनि न्युजिल्यान्डमा क्रिकेटमा नेपालभन्दा निकै राम्रो संरचनामा रहँदै आएको खेल हो । तथापि थोरै लगानी, कमजोर संरचना र राजनीति खिचातानीमा पिल्सिएको नेपाली युवा क्रिकेटरले नेपाललाई जितमार्फत खुसी दिएका छन् ।

नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा ४७ दशमलव १ ओभरमा २ सय ६ रनमा समेटिएको थियो । नेपालका स्पिनरहरू चम्केपछि न्युजिल्यान्ड धराशयी बनेको हो । नेपालका लागि दीपेन्द्र ऐरीले सर्वाधिक ३ विकेट लिए । उनले ५ ओभरमा २४ रन खर्चंदै ३ विकेट लिएका थिए । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर ७ विकेट गुमाउँदै २ सय ३८ रन जोडेको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बलमा ६ चौका प्रहार गरेका थिए । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।

प्रारम्भिक जोडी सन्दीप सुनार र सुनील धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सुनील १५ तथा सन्दीप ३९ रनमा आउट भए । योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोडे । पछिल्लो क्रमका राजवीर सिंह, दीपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरूले क्रमशः २४, १६ र ३५ को योगदान दिएका छन् । अन्तिम ओभरहरूमा कुशलको आक्रमक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो । न्युजिल्यान्डका लागि नाथन स्मिथले ३ विकेट लिए । यसअघि सन् २००६ मा नेपालले न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन उपाधि जितेको थियो । नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्ड र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपालसहित १६ टोली सहभागी छन् । ४ समूहमा रहेका टोली मध्ये प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनोट हुनेछन् ।

यु–१९ विश्वकप क्रिकेटको विभिन्न संस्करणमा टेस्ट मान्यता प्राप्त टोलीहरू दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेको नेपालको विहीबारको जितसँगै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनेको छ । आफ्नो दोस्रो खेलमा शनिबार आयरल्यान्डलाई पराजित गर्न सके नेपालको दोस्रो चरण प्रवेशको सम्भावना थप बलियो बन्नेछ ।

 

 

 

प्रतिक्रिया