एमाओवादी स्थायी समितिको निश्कर्ष

काठमाडौं, १४ माघ । एमाओवादीको स्थायी समितिको बैठकले सरकारको काम प्रभावकारी र जनपक्षीय हुन नसकेको निष्कर्ष निकालेको छ । यसका लागि प्रधानमन्त्रीसँग गम्भीर छलफल गर्न समितिले सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय समितिका संयोजकसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समिति सदस्य र सरकारमा सहभागी मन्त्रीको संयुक्त बैठकले सरकारको काम प्रभावकारी हुन नसक्नाको कारणबारे छलफल गर्ने निर्णय गरेको हो । भूकम्पपछिको पुनर्निर्माण, भारतको अघोषित नाकाबन्दीको मुलुकको समग्र क्षेत्रमा प्रभाव परे पनि सरकारले सोचेअनुसारको काम गर्न नसकेको, जनता र मुलुकको पक्षमा हुने जति काम हुन नसकेको भन्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग संवाद गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

तीनदेखि जारी स्थायी समिति तथा मन्त्रीको संयुक्त बैठकमा एमाओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीको कार्यशैली प्रभावकारी नभएको, जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालयको नेतृत्व गरे पनि जनताको पक्षमा काम नभएको, जनताले अनुभव गर्ने गरी काम हुनुपर्ने आवाज सर्वत्र उठे पनि मन्त्रीको कार्यशैली प्रभावकारी र वैज्ञानिक हुन नसकेको भन्दै आलोचना भएको थियो ।

उपप्रधानमन्त्रीसहित वर्तमान सरकारमा एमाओवादीका तर्फबाट ८ मन्त्री रहेका छन् । सरकार गठन भएको ४ महिना पूरा हुन लाग्दासमेत जनताले नयाँ सरकारको गति र क्रियाशीलता महसुस गर्न नपाएको भन्दै बुधबारको बैठकमा स्थायी समिति सदस्यले मन्त्रीको चर्को आलोचना गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले प्रभावकारी काम गर्न नसक्नुको कारण के हो ? जनताले अनुभव गर्ने गरी कार्यप्रगति कहिले हुन्छ ? आगामी योजना के के छन् ? भन्ने विषयमा ती सदस्यले आ–आफ्ना धारणा राखेको बताए । बैठकले तत्काल जनताले अनुभव गर्ने गरी नयाँ कार्ययोजना ल्याउन र त्यसलाई लागू गर्न निर्देशनसमेत दिएको छ । एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले एकाध दिनभित्रै जनताको पक्षमा कार्ययोजना ल्याउने र त्यसको प्रभावकारी कार्यान्वयन गरिने प्रतिवद्धता जनाएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बैठकले सरकारमा सहभागी दलको उच्चस्तरीय संयन्त्रको बैठक तत्काल बोलाउने र सरकारको काम कारबाही प्रभावकारी रूपमा अगाडि बढाउन पहल गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी दलहरूबीच समन्वय हुन नसक्दा सरकारको कामसमेत प्रभवकारी हुन सकेको छैन । ‘बुझाइमा एकमत होस्, सरकारको काम प्रभावकारी होेस् भनेर संयन्त्रका संयोजकले केही दिनभित्रै संयन्त्रको बैठक बोलाउनुहुन्छ’, श्रेष्ठले भने, ‘सरकारको समग्र काम कारबाहीका बारेमा समीक्षा गरिनेछ ।’

एमाओवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीको समन्वय गर्न गठित उच्चस्तरीय सरकार सञ्चालन तथा समन्वय समितिको संयोजक नारायणकाजी श्रेष्ठले दिएको राजीनामा स्थायी समिति बैठकले अस्वीकृत गरेको छ । सरकार सञ्चालन समितिलाई थप प्रभावकारी बनाउने निर्णय बैठकबाट भएको छ ।

प्रतिक्रिया