सर्वोच्चले दुवै पक्षलाई बोलायो

काठमाडौं, ११ माघ । सर्वोच्च अदालतले क्यानको निर्वाचित कार्यसमितिलाई काम गर्न नदिई अर्को तदर्थ समिति बनाइएको भन्दै परेको रिटमा सुनुवाई गर्दै थप छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । प्र्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदिश शर्मा पौडेलको इजलासले छलफलका लागि दुवै पक्षलाई बोलाउने निर्णय गरेको हो । त्यस्तै अदालतले नेपाल क्रिकेट संघ क्यानको तदर्थ समिति गठन गर्नुको पनि कारण माग गरेको छ ।

क्यानको एक समूहले महाधिवेशन गरी चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन गरेको थियो । तथापि, त्यो अवैध भएको भन्दै राखेपले निकै विवादित व्यक्ति रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति बनाएको थियो । सिलवालमाथि एमबिबिएसको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट गरेको आरोप लागेको थियो । त्यसैले उनीमाथि अख्तियारले समेत छानबिन गरेको थियो ।

त्यसपछि चन्दले सिलवाल नेतृत्वको तदर्थ समितिलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा पुस २८ गते रिट दायर गरेको थियो । तर, चन्दले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । चन्द पक्षको माग बमोजित तदर्थ समितिलाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी भने गरेन । त्यसैले अदालतले छलफलका लागि दुबै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । साथै राखेपलाई चन्द नेतृत्वको समितिलाई के कारणले काम गर्न रोक लगाइएको भन्ने बारे १५ दिनभित्र लिखित रूपमा पेस गर्न अदालतले आदेश गरेको छ ।

प्रतिक्रिया