परिचयपत्र खोज्दै पहिरोपीडित

ताप्लेजुङ, ११ माघ । गत जेठमा गएको पहिरो प्रभावित परिवारले ताप्लेजुङमा परिचयपत्र मागेका छन् । ताप्लेजुङका विभिन्न गाविसमा गएको बाढीपहिरोबाट प्रभावित परिवारको एक समितिले परिचयपत्रको माग गर्दै ज्ञापनपत्रसहित जिल्ला प्रशासन कार्यालयमा माग पेस गरेको छ । पहिरोपीडितहरूले आफ्नो गासवासको उचित प्रबन्ध तथा सरकारी सेवा सुविधाका लागि परिचयपत्र प्रदान गर्न सरकारसँग आग्रह गरेको हो ।

बाढीपहिरो गएको यतिका समय बिते पनि राज्यका तर्पmबाट उल्लेख्य सहयोग नभएको भन्दै केही दिनअघि गठन भएको ताप्लेजुङ जिल्लाको संयुक्त बाढीपहिरोपीडित समितिले विभिन्न संघसंस्थाबाट प्राप्त राहत गैरपीडितसम्म पुगेको गुनासो पनि गरेको छ ।

आइतबार बुझाइएको ज्ञापनपत्रमा उल्लेख भएअनुसार पहिरो प्रभावितलाई परिचयपत्र वितरण गर्नुपर्ने, भूकम्पपीडितलाई भन्दा बढी सेवासुविधा उपलब्ध गराउनुपर्ने माग गरिएको छ । यसअघि वितरण भएका विभिन्न खाद्यान्न, नगद साथै खानेपानीको पाइप वितरण समानुपातिक नभएको साथै गैरपहिरोपीडितले धेरै पाएको समितिका सहसचिव पवन पुरीले बताए ।

यस्तै, यसअघि वितरण भएका राहत सामग्री वितरणमा भएको अनियमितताबारे पनि छानबिन गर्न उनीहरूले स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । जाडोको समयमा सामान्य टहरा र आफन्तकोमा बस्दै आएका पीडित परिवारलाई अहिले समस्या भएको सो समितिले जनाएको छ । विभिन्न संघसंस्थाले उपलब्ध गराएको खाद्यान्नलगायतका सामग्री सकिँदै गएकाले थप संकट आउन लागेको उनीहरूको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले राज्यले पुनर्वासका लागि पहल गरिरहेको जानकारी दिएका छन् । उनले स्थानीय तहमा पनि गाविस सचिवको अध्यक्षतामा दैवीप्रकोप उद्धार समितिको गठन गर्न आवश्यक भएको जानकारी दिए । गत जेठ २७ र २८ गते यस जिल्लाका आधादर्जन गाविसमा गएको बाढीपहिरोमा परी ५९ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ परिवार विस्थापित भएका थिए । विस्थापित केही परिवार अहिले आफन्तकोमा बसेका छन् भने केहीले टहरा बनाएर बसेका छन् । कमाइ गर्ने खेतबारी नै पहिरोले बगाएपछि अहिले खेती गर्ने जमिन नहुँदा धेरैलाई समस्या भएको पीडितको गुनासो छ ।

प्रतिक्रिया