बायोग्यासका लागि प्रस्ताव आवस : मन्त्री पौडेल

काठमाडौं, ८ माघ । नेपालमा वायोग्यासको प्रबद्र्धनका लागि स्पष्ट योजना ल्याउन वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बायोग्यास प्रवद्र्धन संघलाई अर्थमन्त्री विष्णु पौडेले आग्रह गरेका छन् ।

नेपाल बायोग्यास प्रवद्र्धन संघको २१ औँं वार्षिक साधारण सभाको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षभित्र थप ७० हजार बायोग्यास प्लान्टका लागि आवश्यकपर्ने अनुदानको व्यवस्था गर्न सरकार तयार रहेको बताएका छन् । उनले बायोग्यास प्लान्टका विषयमा व्यवस्थित र मूर्तप्रस्ताव १५ दिनभित्र लिएर आउन आग्रह गर्दै यस विषयलाई सम्बोधन गर्नका लागि पहल गर्ने बताएका छन् ।

सपना देख्दा र योजना बनाउँदा सामथ्र्यको अधिकतम सीमासम्म ध्यान दिनुपर्नेमा जोड दिँदै उनले ग्रामीण चरित्रका नगरपालिकामा आफ्ना आयोजनालाई कार्यान्वयनमा लैजान सुझाव दिए ।

पचास वर्षको बायोग्यासको अनुभवमा हामीले तीन लाख ५० हजार घरधुरीलाई मात्रै बायोग्यास उपलब्ध गराउन सकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले नीति तथा व्यवस्थामा भूल भएको हुनसक्ने भन्दै त्यसको समाधानमा सरकारले ध्यान दिने बताए । बायोग्यासलाई प्रोत्साहित गर्नका लागि बनाउनु पर्ने नीति, लिनुपर्ने निर्णय र गर्नुपर्ने लगानीतर्फ राज्यको ध्यानाकर्षण गर्न बायोग्यास प्रवद्र्धन संघ सफल भएको बताउँदै उनले प्राप्त उपलब्धिमा सन्तोष नगरी प्रवद्र्धनका लागि थप प्रयास गर्नुपर्ने बताए ।

मुलुकले सामना गरिरहेको ऊर्जा समस्या समाधानका लागि सरकार तथा निजी क्षेत्रबाट भएका प्रयास पर्याप्त नभएको बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘ऊर्जा सङ्कट समाधानका लागि कुनै एक विधालाई मात्रै अघि बढाउनु पर्याप्त हुँदैन, यसअर्थमा यसको दीर्घकालीन समाधानका लागि जलविद्युत् आयोजनामा केन्द्रित होआँैला तर तत्कालका समस्यालाई समाधान गर्नका लागि वैकल्पिक ऊर्जामा ध्यान दिनैपर्छ । सौर्य र बायोग्यासलाई प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्छ ।’

उनले संस्थाको भविष्य निर्धारण गर्नेगरी साधारण सभाले निर्णय गर्न सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले बायोग्यास उत्पादनबाट मुलुकमा रोजगारीको विकास, आर्थिक वृद्धि एवम् स्थानीय सीप र स्रोतसाधनको प्रयोगबाट गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुगेकोे बताए ।

संघका अध्यक्ष लोकनाथ घिमिरेले संघको सक्रियतामा स्थापना भएका बायोग्यास प्लान्टमध्ये ९५ प्रतिशत पूर्ण सञ्चालनमा रहेका र यस क्षेत्रमा १० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेको जानकारी दिए । उनले यस क्षेत्रको विकासमा लागि सरकारी अनुदान बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा हालसम्म ११७ भन्दा बढी बायोग्यास निर्माण गर्न कम्पनी संलग्न रहेको र यस क्षेत्रका निजी कम्पनीमा वार्षिक ६० हजार भन्दा धेरै सङ्ख्यामा बायोग्यास निर्माण गर्ने क्षमता रहेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया