उपप्रम रायमाझी भन्छन्: एक वर्षभित्रै लोडसेडिङ अन्त्य हुन्छ

Top Db Rayamajhiपर्वत, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने बताउँदा उनको कुरालाई कसैले पत्याएका छैनन् । यही मेसोमा उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले समेत एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने ठोकुवा गरेका छन् ।

शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई द्रूतमार्गबाट सम्पन्न गरेर एक वर्षभित्र लोडसेडिङ कम गर्ने बताए । उनले एक वर्षभित्रमा झण्डै २५० मेगावाटका जलविद्युत् आयोजना सम्पन्न भई विद्युत उत्पादन थाल्ने भएकाले त्यसपछि लोडसेडिङ अन्त्य हुने दाबी गरेका हुन् ।

उनले नाकाबन्दीको प्रभावकाबीच पनि सबै आयोजनालाई आवश्यक इन्धन तथा कच्चा पदार्थ राज्यले उपलव्ध गराएको बताउँदै अन्तिमचरणमा पुगेका योजनाले विद्युत उत्पादनका लागि तीव्ररुपमा काम अघि बढाएको बताए ।

मन्त्री रायमाझीले ऊर्जा संकटकाल घोषणा गरेर मुलुकलाई तीव्रगतिमा विद्युतमा आत्मनिर्भर बनाउने पहल भइरहेको बताउँदै यसका लागि सरकारले दीर्घकालीन योजना निर्माण गरेर लागू गर्ने चरणमा रहेको बताए ।

उनले नेपालमा तेल र ग्यासको अभावका कारण विद्युतको माग बढी भएकाले लोडसेडिङ बढाउनुपर्ने बाध्यता रहेको बताए । उपप्रम रायमाझीले १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गर्नेगरी सरकारले कार्ययोजना अघि बढाइसकेको जानकारी पनि दिए । विद्युत अत्यधिक खपत हुँदा अहिलेसम्म साढे ५ सयभन्दा बढी ट्रान्समिटर पड्किएको जानकारी दिँदै उनले लोडसेडिङ बढाउनु सरकारको बाध्यता भएको बताए ।

रायमाझीले नाका सहज हुने वित्तिकै लोडसेडिङ पनि कम हुने बताए । सहजरुपमा ग्यास र इन्धन भित्रिने वित्तिकै लोडसेडिङ पनि कम हुन्छ, मन्त्री रायमाझीले भने, ‘त्यसपछि लोडसेडिङ पनि क्रमशः घट्दै जान्छ ।’ उपप्रधानमन्त्री रायमाझीले वार्ता सहमति नजिक पुगेकाले एक साताभित्रै नाका सहज हुने समेत दाबी गरे ।

रायमाझीले सबै दल र वर्गको सहभागिता गराउन मन्त्रिमण्डल जम्बो बने पनि जनभावनाअनुसार काम गर्ने दाबी गरे । एमाओवादी सरकारप्रति रुष्ट छ भन्ने हल्ला गलत भएको बताउँदै गठबन्धनको सरकार तत्काल नढल्ने उनले दाबी समेत गरे ।

ऊर्जामन्त्री रायमाझीले शुक्रबार बिहानै पर्वतको कुश्मा नगरपालिका– १२ मा निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत परियोजनाको निरीक्षणसमेत गरे । सो अवसरमा उपप्रम रायमाझीले आयोजनाको निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाउन निर्देशनसमेत दिए ।

प्रतिक्रिया