‘प्राविधिक शिक्षा अहिलेको आवश्यकता’

काठमाडौं, २५ पुस । प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको विज्ञले बताएका छन् । तिलिङ्गाटार उमाविको ५४औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा शिक्षा विभाग, शैक्षिक प्रशासन महाशाखाका निर्देशक वैकुण्ठ अर्यालले शिक्षालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको बताउँदै पछिल्लो समयमा प्राविधिक शिक्षाको माग बढ्दै गएको छ यसलाई अगाडि बढाउनु जरुरी रहेको बताएका छन् ।

उनले तिलिङ्गाटार उमाविले शिक्षा क्षेत्रमा गरेको योगदान सराहनीय भएको बताउँदै यसको बृहत्तर विकासका लागि सरकार सहयोग गर्न तयार रहेको बताए । राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र गौतले पछिल्लो समयमा देशमा व्यावसायिक र प्राविधिक शिक्षाको आवश्यकता बढ्दै गएकाले विद्यालयले यस्ता कुरामा विशेष ध्यान दिनु आवश्यक रहेको भन्दै विद्यालय स्थापनाकालदेखि नै प्रगतिको बाटामा हिँडेको उनीहरूको भनाइ थियो । शिक्षा मन्त्रालयका पूर्वसहसचिव महेश्वर पौडेल, विद्यालयका प्राचार्य सरोजकुमार पाण्डेलगायतले सबैकोे साझा थलो विद्यालय भएकाले यसको विकासका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालयमा सर्वोकृष्ट अङ्क ल्याएका विद्यार्थीलाई सम्मान गरिएको थियो भने ‘नवसन्देश’ शीर्षक स्मारिका विमोचन गरिएको थियो । विंस २०१९ मा स्थापित सो उमाविमा हाल एक हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा रक्तदान समेत गरिएको थियो ।

 

प्रतिक्रिया