पाइपबाट घर–घरमा ग्यास : प्रधानमन्त्री

KP_Oli copyग्यासका सिलिन्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिन्डरको फेज समाप्त गरिदिन्छु । घरघरमा चुलाचुलामा पाइप पु-याइदिन्छु । पिटिक्क खोल्दा ग्यास सिलिन्डरबाट होइन, पाइपबाट आउँछ । प्रधानमन्त्रीले यसो भनिरहँदा कार्यकर्ताको हासोले हल गुञ्जियो । झन हौसिँदै प्रधानमन्त्रीले थपे, ‘ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिन्डर कता ? यो सब झमेला नैै भएन । एउटा मिटर टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।’

 

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रचारवाजीमा नलागि खुसुखुसु काम गर्नतिर लागेको बताइरहँदा केही अपत्यारिता योजना सार्वजनिक गरेका छन् । उनले अब सिलिण्डर युगको समाप्ति गर्दै घर–घरमा पाइपलाइनमार्फत ग्यास पु¥याइने बताएका छन् ।

नाकाबन्दीका कारण ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरघरमा ग्यासको पाइप जोडिने दाबी गरेका हुन् । संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण सम्बन्धी पार्टीको तीन महिने अभियानअन्तर्गत उपत्यकास्तरीय कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गर्न लागेका विशेष कामबारे अहिले प्रचारबाजी नगर्ने पनि बताए ।

सोही क्रममा प्रधानमन्त्री ओलीले भने, ‘ग्यासका सिलिन्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिन्डरको फेज समाप्त गरिदिन्छु ।’ उनले थपे, ‘घरघरमा चुलाचुलामा पाइप पु¥याइदिन्छु । पिटिक्क खोल्दा ग्यास सिलिन्डरबाट होइन, पाइपबाट आउँछ ।’ प्रम ओलीले यसो भनिरहँदा कार्यकर्ताको हासोले हल गुञ्जिएको थियो ।

ओलीले झन हौसिएर भने, ‘ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर कता ? यो सब झमेला नैै भएन । एउटा मिटर टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।’ उनले यो कुरा सुनेर केहीलाई पिर पर्ने बताए । प्रधानमन्त्री ओलीले भुरुरु धुँवा छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउने कुरा पनि सुनाए । उनले फोहोरबाट ग्यास निकाल्ने, हावाबाट विजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्य गरेरै छाड्ने समेत बताए ।

त्यसपछि सम्हालिएका प्रधानमन्त्री ओलीले भने ‘परिणाममा देखिनेगरी सरकारले केही विशेष काम गर्दैछ ।’ काम गर्नुअघि प्रचार गर्दा अवरोध हुँने बताउँदै उनले भने , ‘अहिले म केही भन्दिनँ केही समयपछि परिणाममै देख्नुहुनेछ ।’ प्रधानमन्त्रीले जनताका लागि सरकारले गर्न लागेका काममा पनि अवरोध गर्ने अनौठो संस्कृति राजनीतिमा रहेको वताए । ‘काम गर्ने योजना सँगसँगै असफल पार्ने योजना पनि आउँछन’ ओलीले भने, ‘त्यसैले हल्ला र प्रचार नगरी खुसुखुसु काम गर्नतिर सरकार लागेको छ ।’

प्रधानमन्त्री ओलीले संविधान प्रगतिशील भएको बताउँदै जायज असन्तुष्टि सम्बोधन गर्ने बाटो संविधानमै रहेको पनि जनाए । ‘संविधान गतिशील छ, केही कमजोरी भए सच्याउने बाटो संविधानले नै दिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, यस्तो प्रगतिशील संविधानका सकारात्मक कुराहरुलाई बाहिर ल्याउन मिडियाले पनि सहयोग गरेन र नकारात्मक कुराहरुको मात्रै चर्चा भयो ।’ ओलीले संविधान ल्याउँनै नदिने र मुलुकलाई संकटमा पारेर फेरि संविधानसभा असफल पार्ने खास उद्देश्यसाथ केही दिन संविधान निर्माण रोक्ने प्रस्ताव आएको खुलासा गर्दैै आफूहरुले त्यसलाई अस्वीकार गरेको बताए । ‘दुईचार दिन पर्खेको भए के बिग्रन्थ्यो भन्ने टिप्पणीहरु नै मिडियाहरुबाट आइरहे तर, दुईचार दिन पर्खेको भए संविधानबिना नै फेरि संविधानसभा असफल पार्ने खास उद्देश्य निहीत थियो,’ ओलीले भने, ‘सिंगो देशलाई असफल हुनबाट जोगाउन एमालेको अगुवाई र विशेष पहलमा संविधान ल्याइएको हो ।’

कार्यक्रममा एमाले स्थायी समितिका सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानका अन्तरवस्तुबारे पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । नेम्वाङले सबै पक्षका हक अधिकार संविधानले सुनिश्चित गरेको जनाउँदै उन्नत लोकतान्त्रिक विधिबाट लोकतान्त्रिक संविधान बनाएको बताए ।

प्रतिक्रिया