मुनकादूतले मधेसी नेतालाई सुझाए– ‘वार्ताबाट समाधान’

jafery__doot copyकाठमाडौं, २४ पुस । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनका विशेष दूत जेफ्रे फेल्टम्यानले मधेसी मोर्चाका शीर्ष नेताहरुसँग शुक्रवार भेटवार्ता गरेका छन् ।

द्वारिका होटलमा मोर्चाका अध्यक्षहरुलाई भेटेर राष्ट्रसंघका राजनीतिक मामिलाका प्रमुखसमेत रहेका फेल्टम्यानले आन्दोलनबारे चासो राखेका छन् । उनले सीमा क्षेत्रको गरेको धर्नाका कारण इन्धन, औषधी र अन्य उपभोग्य वस्तुको अभावमा मानवीय संकट उत्पन्न भएको बताए । उनले वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न पनि सुझाएका छन् ।

जवाफमा मधेसी मोर्चाका नेताहरुले सीमा क्षेत्रमा धर्ना आफूहरुको बाध्यता भएको बताएका छन् । सरकारले जिल्ला सदरमुकामहरुमा निषेधाज्ञा जारी गर्ने र कर्फु लगाउने काम गरेकोले विरोध प्रदर्शनका लागि आफूहरु वाध्य भएर सीमा क्षेत्रमा गएको बताएको मतलोपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

राष्ट्रसंघका विशेष प्रतिनिधि फेल्टम्यानले मोर्चाका नेताहरुसँग आन्दोलनका अबका कार्यक्रमबारे पनि चासो राखेका छन् । संसद्मा विधाराधीन रहेको संविधान संशोधन विधेयक र त्यसमा परेको संशोधनले सीमा क्षेत्रको विरोध फिर्ता हुन्छ कि हुँदैन भनेर प्रश्न गरे । जवाफमा मोर्चाका नेताहरुले विधेयकउपर धेरै संशोधन प्रस्ताव दर्ता भएकाले आफूहरु संविधान कुन रुपमा संशोधन हुन्छ भनेर पर्खिरहेको बताए ।

नेपालको पछिल्लो अवस्थाबारे बुझ्न महासचिव वानले फेल्टम्यानलाई विशेष दूतका रुपमा नेपाल पठाएका हुन् । उनले राष्ट्रपति, प्रधानमन्त्रीलगयतसँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया